कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रगत जुटाउँदै रतन

विप्लव भट्टराई

(इलाम) — उपचारका लागि रगत नभई नहुने भएपछि धेरैले सम्झने एउटै नाम हो रतन चौधरी । समस्या परेका बेला तत्कालै रगत जुटाइदिने भएकाले उनैलाई धेरैले सम्झन्छन् । कसैले आग्रह गरे मध्यराति उठेर पनि रगतको जोहो गराउने उनी बिरामीका लागि ठूलो भरथेग बनेका छन् ।

रगत जुटाउँदै रतन

इलाम सदरमुकामस्थित चोक बजारमा घर भएका चौधरी नेपाल रेडक्रस सोसाइटीका उपसभापति तथा आकस्मिक रक्तसञ्चार सेवाका संयोजक भएकाले पनि उनले धेरैलाई रगतको जोहो गर्न सघाएका हुन् ।


तर उनलाई पद र प्रतिष्ठाले मात्र यो काम गर्न प्रेरित गर्दैन । मध्यरातमा पनि कसैलाई रगत चाहियो भने ब्लड ग्रुप मिल्ने दाताको फोनमा घण्टी बजाउन उनी पछि पर्दैनन् । अहिले रेडक्रसले इलाम अस्पतालमै ब्लड बैंक स्थापना गरिसकेको छ ।


यसो भए धेरैलाई लाग्ला रतन चौधरीको धपेडी कम भयो तर उनले ब्लड बैंक उद्घाटनसँगै रगतका लागि लाग्ने आवश्यक रकम ४ वर्षका लागि जोहो गर्ने प्रतिबद्धता जनाइसकेका छन् । लामो समयसम्म आकस्मिक रक्तसञ्चार सेवाको जिम्मा लिएर धेरै बिरामीलाई सेवा पुर्‍याएका चौधरीले बाँकी दिनमा पनि रगतमार्फत बिरामीको सेवा गर्ने निश्चित गरेका हुन् ।


पेसाले उनी कपडा व्यवसायी हुन् तर उनको अधिकांश समय पसलमा नभएर अस्पतालमै बितेको भेटिन्छ । यसअघि ब्लड बैंक नभएको अवस्थामा आकस्मिक रक्त सञ्चार सेवा सञ्चालन भएको हो । रेडक्रसले रगत दिन चाहने व्यक्ति फोन नम्बरसहितको जानकारी राखेको हुन्थ्यो । कसलाई कुन ग्रुपको रगत आवश्यक हुन्छ अस्पतालले समितिमा जानकारी गराउँथ्यो । संयोजक आफैं भएकाले उनी रगतका लागि रेकर्ड पल्टाएर प्रयास थालिहाल्थे । ‘ब्लड बैंक नभए पनि रगत अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने मेरो चाहना हुन्थ्यो,’ चौधरी भन्छन्, ‘त्यही भएर जिम्मेवारी भन्दा पनि उपकार सम्झेर काम गरेको हुँ ।’ जति बेला उनी दिनरात नभनी रगतका लागि मरिहत्ते गर्थे अहिले त्यो अवस्था टारेको छ ।


नेपाल रेडक्रम सोसाइटी इलामले स्थापना गरेको रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) मार्फत निःशुल्क रगत उपलब्ध गराउने कार्य सुरु भइसकेको छ । यसअघि बिरामीले एक प्रिन्ट रगतको ७ सय रुपैयाँ तिर्दै आएका थिए । रेडक्रसले ब्लड ब्याग, आइबीसेट, रक्त परीक्षण लगायतमा लाग्ने खर्चबापतको ७ सय रुपैयाँ लिदैं आएको थियो । चौधरीले निःशुल्क रगत वितरणका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार उपलब्ध गराउने भएका छन् ।


चौधरीले ०८० असार मसान्तसम्मका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार चौधरीले रेडक्रस सोसाइटीलाई अबको ४ वर्षसम्म बर्सेनी डेढ लाखका दरले रकम उपलब्ध गराउनेछन् । सोही रकमबाट रेडक्रसले खर्च व्यवस्थापन गरी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने मन्त्री विजय कार्कीले जनाए । गरिब बिरामीसँग एक प्रिन्ट रगत किन्ने रकमसमेत नभएको देखेकाले त्यस्ता बिरामीका लागि निःशुल्क रगत दिनका लागि रेडक्रसलाई रकम उपलब्ध गराएको चौधरीले बताए । ‘रगत किन्ने पैसा नभएर छटपटाएका कति निम्नस्तरका बिरामीको पीडा देख्दै आएको छु,’ उनले थपे, ‘मेरो सहयोगले धेरैको उपकार हुन्छ भन्ने लागेर नै यो निर्णय गरेको हुँ ।’ रक्तसञ्चार सेवा सञ्चालन भएपछि करिब १० हजारले रगत पाएको उनको दाबी छ ।


प्रकाशित : माघ ४, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?