कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘वैज्ञानिक’ बाट ठगिएको गुनासो

विनु तिम्सिना

(विराटनगर) — एभरेस्ट साइन्स सेन्टर शान्ति वनका सञ्चालक तथा वैज्ञानिक दिलिप अधिकारीले धितोमा प्रयोग गरेको सम्पत्ति फिर्ता नगर्दा विराटनगरका अग्रज पत्रकार शिवबहादुर कार्की ठगिएका छन् । अधिकारीले २०६१ कात्तिकमा कार्कीसँग २७ लाख १५ हजार रुपैयाँ लिएका थिए ।

एभरेस्ट साइन्स सेन्टर स्थापना गर्न अधिकारीले आफूसँग सहयोगको आचना गरेपछि चिनजानको सज्जन मान्छे भनेर आफूले पैसा सापटी दिएको कार्कीले बताए । अधिकारीले आफू अमेरिकाको नासामा काम गरेर आएको र आफ्नै ठाउँमा केही गर्ने चाहना रहेको बताएपछि आफूले आफ्नो घर धितो राखेर उनलाई ऋण दिएको कार्कीको भनाइ छ ।


कार्कीले ३१ धुर जग्गामा बनेको आफ्नो १६ कोठे घर तत्कालीन सीएसआईटी (हाल महालक्ष्मी विकास बैंक) मा धितो राखेर अधिकारीलाई २७ लाख १५ हजार दिएका थिए । यसबीचमा आफूले पटक पटक उक्त रकम माग्दा ‘दिन्छु, दिइहाल्छु’ भनेर नदिएको कार्कीले गुनासो गरे ।


अधिकारीले बैंकको उक्त ऋण नतिरेपछि आफ्नो घर लिलाम हुने चरणमा पुगेपछि आफैंले एक करोड तीन लाख रुपैयाँ तिरेर घरजग्गा उकासेको पीडित कार्कीका छोरा सुभाष कार्कीले बताए । आफ्ना भएका केही घडेरी र विभिन्न बैंक तथा साथीभाइसँग ऋण लिएर आफूले उक्त घरजग्गा लिलाम हुनबाट बचाएको उनले गुनासो गरे ।


१७ वर्ष लागिसक्दा समेत अधिकारीले उक्त रकम फिर्ता नगरेको र सम्पर्कविहीन भएकाले पत्रकार महासंघ मोरङले विभिन्न अगुवाको सहयोगमा उक्त समस्या समाधानका लागि पहलसमेत गरेको थियो । ब्याजसहित अधिकारीले एक करोड बढी रकम तिर्नुपर्ने भए पनि महासंघको पहलमा भएको विभिन्न चरणको छलफलमा उनले ९१ लाख रुपैयाँ तिर्ने सहमतिसहितको कागज गरेको सुभाष कार्कीले बताए ।


पत्रकार महासंघको पहलमा वैशाखमा बसेको छलफलमा उनले ९१ लाख रुपैयाँ तिर्ने सहमति गरेका थिए । जेठ चार गतेको अर्को छलफलमा उनले असोज ३० गतेको मिति राखेर ४४ लाख ९० हजार र मंसिर ३० गतेको मिति राखेर ४१ लाख १० हजारको चेक कार्कीलाई दिएका थिए । एभरेस्ट बैंक लिमिटेडमा रहेको उनको खातामा रकम नै नभएपछि उक्त चेक बाउन्स भएको कार्कीले बताए ।


चेक बाउन्स भए पनि अधिकारीले पुस मसान्तसम्ममा रकम फिर्ता गर्ने आश्वासन दिएको भए पनि नदिएको उनले गुनासो गरे । आफूले पनि विभिन्न व्यक्ति र बैंकबाट ऋण लिएर आफ्नो घरजग्गा उकासेको र उक्त ऋणबापतको ब्याजको मात्रै भए पनि रकम तत्कालका लागि दिन आफूले पटक पटक अनुरोध गरेको उनले गुनासो गरे ।


‘विभिन्न चरणको वार्तापछि त्यो चेक हात लागेको थियो,’ कार्कीले भने, ‘चेक पाएपछि बल्ल आफू ऋणमुक्त हुने आशा पलाएको थियो तर उनले दिएको चेक नै बाउन्स भयो ।’ यसबीचमा अधिकारीले विभिन्न चरणमा गरेर पाँच लाख रुपैयाँ तिरेको भए पनि अझै ८६ लाख रुपैयाँ तिर्न बाँकी रहेको कार्कीले बताए । उनले दिएको चेकसमेत बाउन्स भएको र राखेको भाकामा रकम फिर्ता नगरेकाले अब कानुनी उपचारमा जाने उनले बताए ।

प्रकाशित : माघ २, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?