गणितका सूत्र सिकाउँदै

सुम्निमा चाम्लिङ

इटहरी — इटहरीको मुख्य चोकदेखि केही मिटर दक्षिण पश्चिम पुगेपछि सरस्वती सदन माध्यमिक विद्यालय पुगिन्छ । गैसारमा रहेको यो २००७ मा स्थापना भएको नगरकै जेठो स्कुल हो । चार वर्षअघिसम्म अन्य सामान्य शैक्षिक गुणस्तर भएका सामुदायिक विद्यालयभन्दा यो फरक थिएन । शिक्षकहरू नियमित पढाउन आउँथे । विद्यार्थी संख्याअनुसार उपस्थिति उति हुँदैनथ्यो ।

ZenTravel

Meroghar

शिक्षक दरबन्दी र स्रोत साधन अभाव उत्तिकै थियो । भएका विद्यार्थी घट्दो क्रममा थियो । २०६५ सालमा राहत कोटामा शिक्षक वासुदेव कर्ण यहाँ आए । विषयगत शिक्षकको अभावमा निजी स्रोतले शिक्षक राख्नुपर्ने अवस्थामा उनी जागिर खान सेवामा प्रवेश गरेका थिए ।

विद्यार्थीको सख्या घटेर २ सय ७० जना भएको थियो । २०७३ सालमा विद्यालयका निमित प्रधानाध्यापक भएपछि कर्णले विस्तारै शैक्षिक गुणस्तर सुधारको चरण अघि बढाए । १२ कक्षासम्म पढाइ हुने विद्यालयमा विद्यार्थी ७ सय ८२ पुगेका छन् । विद्यार्थीको संख्या बढ्यो, पढाउने तरिकाहरूमा सुधार ल्याइयो । सबैभन्दा महत्वपुर्ण कुरा कर्णले विद्यार्थी र अभिभावकको मन जित्न सके । यसैको कारण सबैको प्रिय ‘वासु सर’ भए ।

गणितका सुत्रदेखि विज्ञानका जस्ता अप्ठ्यारा विषयलाई समेत सरल भाषामा बुझाउन सक्ने उनको क्षमता छ । गत मंसिर ३ देखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका उनी शैक्षिक गुणस्तरबारे चिन्तनशील छन् । विद्यालयमा कम्प्युटर र विज्ञान प्रयोगशाला सुरु भएको छ ।

विद्यार्थीले विज्ञान विषयमा सैद्धान्तिकसँगै प्रयोगशालामा अभ्यास पनि गर्न पाएका छन् । कक्षा १२ सम्मलाई माध्यमिक तह बनाइएपछि विद्यालयले कक्षा थप्ने वा ८ मा झार्ने भन्ने अन्योलबीच शिक्षक र अभिभावकले वासु सरलाई थप्नेमा साथ दिएका हुन् ।
एकातिर २०७० सालमा सुनसरी जिल्लाभरीका विद्यालयहरू मध्ये एसईईमा कमजोर नतिजा आएको थियो । तर उनैको पहलमा कक्षा १२ समेत दुई वर्षअघिबाट सुरु भएको छ । विज्ञान र प्राविधिक विषय पढ्ने विद्यार्थी बाहेक सबै विद्यार्थी यही विषयमा हाल अध्ययन गरिरहेका छन् । आगामी सत्रमा नयाँ कोर्षहरू थप्ने योजना छ ।

शिक्षण पेशा जागिर मात्र नभएर समर्पण जरुरी हुने उनको भनाइ छ । त्यसैले त आज विद्यार्थीले अप्ठ्यारो मान्ने गणितलाई समेत सरल तरिकाबाट सुत्र प्रयोग गर्न सिकाउन सक्ने भएका छन् । हुन त उनको पारिवारिक पृष्ठभुमी समेत शिक्षण पेशासँग जोडिएको छ । उनका बुवा गणित विषयका शिक्षक थिए । मोरङको सुन्दर हरैंचामा हुर्केका वासुलाई पनि सानैदेखि गणित विषयमा झुकाव थियो । त्यसैले उनले गणित लिएर स्नातक गरेपछि शिक्षकको जागिर सुरु गरेका हुन् । विद्यार्थी पढाउँदा पढाउँदै समाजशास्त्र र गणित विषयमा स्नातकोत्तर गरिसकेका छन् । गैसारको विद्यालयमा पढ्ने अधिकांश मजदुर परिवारका बालबालिका छन् । विद्यालयको बिदाको समयमा वबसु सर लगायत अन्य शिक्षकहरू विद्यार्थीको घर जान्छन् । अभिभावकलाई भेट्छन् । विद्यार्थीको आनीबानी र पढाइका विषयमा छलफल गर्छन् ।

अभिभावकको पारिवारिक समस्यामा समेत सकेको सहयोग गर्ने गर्छन् । कतिपय विद्यार्थीहरू आफ्नो अभिभावकलाई बताउन नसकेका कुरा समेत उनै बासु सरलाई भने बताउने गरेका छन् । प्रत्येक अभिभाकवले विद्यार्थीको बारेमा निर्णय लिनुपूर्व उनै बासु सरलाई सोध्ने गर्छन् ।
‘विषय रोचक बनाउन सक्नुपर्छ । नत्र यसै पनि विद्यार्थी गणितदेखि टाढा भाग्ने गर्छन्,’ प्रधानाध्यापक कर्ण भन्छन्, ‘गणितलाई बुझाउन सके यो भन्दा सजिलो विषय अरु छैन ।’ विद्यार्थीको समस्या झर्को नमानी हल गरिदिने शिक्षकको बानी हुनुपर्ने उनी बताउँछन् । ‘विद्यार्थीको रुचिलाई नबुझी पढाएमा अर्थ हुँदैन,’ उनी भन्छन् । उनले पढाएका विद्यार्थी विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।

प्रकाशित : माघ १, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्

त्रिवेणीधाममा घुइँचो

नारायण शर्मा

नवलपरासी — माघे संक्रान्तिका अवसरमा यहाँको पवित्र तीर्थस्थल त्रिवेणीधाममा भक्तजनहरुको घुइँचो लागेको छ । सिमावर्ती क्षेत्रमा त्रिवेणी रहेका कारण नेपाल-भारतका हजारौं भक्तजन मंगलबार रातिदेखि नै यहाँ भेला भएका हुन् । 


स्वर्णभद्रा , पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीमा माघे संक्रान्तिमा नुहाएर पूजा गर्नाले मोक्ष प्राप्ति हुने भक्तजनहरु विश्वास गर्छन्। त्रिवेणीधाममा पौराणीककालका तथ्य जोडिएका एक सयभन्दा बढी मठमन्दिर, पाटीपौवा सत्तल र स्थानघाट छन्।

नारायणी नदीपारि रहेको वाल्मीकि आश्रममा पनि बुधबार बिहानैदेखि भक्तजनहरुको चाप उत्तिकै रहेको स्थानीय प्रेमचन्द्र रौनियारले जानकारी दिए। त्रिवेणीधामको उत्तरमा रहेको गजेन्द्रमोक्ष दिव्यधाममा हजारौं भक्तजनहरुले धुनी जगाएर रात बिताए। भारतीय सीमाबाट उत्तर २ किलोमिटर दूरीमा त्रिवेणीधाम रहेकाले भारतीय तीीर्थालुहरुको हरेक वर्ष भीड लाग्ने गर्छ।

जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले मेला अवधिमा त्रिवेणीधाममा मदिराजन्य वस्तुको बिक्री वितरणमा रोक लगाएको छ। तिर्थालुहरु व्यवस्थित गराउन विनयी त्रिवेणी गाउँपालिका स्थानीय प्रशासन र मठमन्दिरहरुले स्वयंसेवक परिचालन गरेको गाउँपालिका अध्यक्ष डम्बर जिसीले जानकारी दिए।

सोमबार सुरु भएको त्रिवेणीमेला बुधबार राति सकिन्छ। माघे संक्रान्तिभन्दा ३ दिन अगावैदेखि टाढाटाढाका भक्तजनहरु त्रिवेणीधाममा आएर स्नान गर्ने र पूजाआजा गर्ने चलन छ।

प्रकाशित : माघ १, २०७६ १०:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×