कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐन अभावले स्थानीय तहमा काम गर्न कठिन’

देवनारायण साह

(मोरङ) — स्थानीय तहका जनप्रतिनिधिले ऐन, नियम, निर्देशिका नहुँदा काम गर्न कठिनाइ भएको गुनासो गरेका छन् । प्रदेश समन्वय परिषद्को तेस्रो बैठकमा उनीहरूले ऐन अभावमा भइरहेका विकास–निर्माणका कामले बेथिति बढाएको बताए । 

सुन्दरहरैंचा नगरप्रमुख शिवप्रसाद ढकालले बैठकमा प्रदेश सरकारले ऐन, नियम, निर्देशिका समयमा नबनाउँदा निम्तिएका समस्या उठाएको उठाएको बताए । ‘प्रदेश सरकारले ल्याएको वितरणमुखी बजेटले समृद्धि र विकास हुन नसक्ने विषय उठायौं,’ उनले भने, ‘कनिका छरेजस्तो योजनामा बजेट छरेर कुनै काम समयमा पूरा नहुने अर्को विषय पनि उठाएका थियौं ।’


सुनसरीको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाँले कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रका प्राविधिक स्थानीय तहमा खटाएर उक्त कार्यालय खारेज गर्नुपर्ने बताए । धनकुटाको पाख्रिवास नगरपालिकाकी उपप्रमुख देवकला पौडेलले कानुनसम्बन्धी कर्मचारीको अभावमा न्यायिक समितिको कामकाज प्रभावकारी नभएको जनाइन् । ‘न्यायिक समितिमा कानुनका सुब्बा स्तरका कर्मचारी माग गर्‍यौं,’ उनले भनिन्, ‘कर्मचारी अभावमा एउटा निर्णय गर्न धेरै समय खर्च हुने गरेको छ ।’


भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी राईले बजेट विनियोजनमा समस्या परेको बताइन् । ‘तीन तहको सरकारले बजेट ल्याउने समयान्तर छोटो भएकाले एउटै योजनामा तीनै तहको बजेट पर्ने गरेको छ,’ उनले भने, ‘छुट्टाछुट्टै योजनामा बजेट व्यवस्थापन गर्न सहज हुने अवस्था बनाउन माग गरेका छौं ।’ प्रदेश सरकारले स्थानीय तहहरूमा योजना दिने तर त्यसको अनुगमन भगवान भरोसामा छाड्ने गरेकोले बेथिति बढेको उनले बताइन् ।


दुई दिन चलेको बैठक मंगलबार २० वटा निर्णय गरेर सकिएको छ । बैठकले स्थानीय तहले आ–आफ्नो जिम्मेवारीलाई योजना, नीति, नियम, कार्यक्रम तथा संस्थागत सुदृढीकरणका माध्यमबाट पूरा गरी प्रदेशको विकास र समृद्धिमा योगदान गर्ने निर्णय गरेको छ । प्राकृतिक स्रोत, नदीजन्य र खनिजजन्य पदार्थको उपयोग गर्दा दिगोपनमा ध्यान दिँदै त्यसको उपयोग र कर संकलनमा स्थानीय तहबीच एकरुपता कायम गर्न कानून निर्माण गर्ने निर्णय भएको छ । मितव्ययिता, बेरुजु फर्छ्योट, खर्चको पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्दै आर्थिक अनुशासन कायम गर्ने र अनियमितता तथा भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्ध रहने परिषदको निर्णय छ ।


प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून, निर्माण गरी कार्यान्वयनमा ल्याउने र त्यही अनुसार स्थानीय कानुनको निर्माण गर्ने अर्को निर्णय भएको बताए । ‘स्थानीय तह र प्रदेशबीच साझेदारी, सहकार्य र सम्बन्ध बलियो बनाउन समन्वय तथा सहकार्यसम्बन्धी कानून निर्माण गर्ने परिषदले निर्णय गर्‍यो,’ उनले भने, ‘स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य र समन्वयका लागि नियमित सूचना आदानप्रदान गर्न मुख्यमन्त्री कार्यालयमा फोकल डेस्कलाई थप सुदृढ बनाउने निर्णय गरियो ।’


प्रदेश र स्थानीय तहबीचको समन्वय र साझेदारीलाई थप प्रभावकारी बनाउन प्रदेश समन्वय परिषदन्तर्गत सातवटा विषयगत समिति बनाउने निर्णय गरिएको छ । पूर्वाधार विकास, सामाजिक विकास, उद्योग, पर्यटन, वन समिति, योजना, राजस्व तथा लगानी, कानुन तर्जुमा कार्यान्वयन, कृषि, भूमि तथा सहकारी र सुशासन प्रवर्द्धन समिति गठन गर्ने निर्णय गरिएको हो । उक्त समितिहरूमा सम्बन्धित मन्त्रालयका मन्त्रीको संयोजकत्वमा जिल्ला समन्वय समिति र स्थानीय तहका जनप्रतिनिधि रहनेछन् । प्रदेश र स्थानीय तहले बजेट तथा कार्यक्रम छनोट गर्दा मध्यकालिन खर्च संरचना पद्धति अवलम्बन गर्दै प्रदेशबाट स्थानीय तहमा जाने अनुदानलाई थप व्यवहारिक र बस्तुनिष्ठ बनाउँदै लैजाने परिषदले निर्णय गरेको छ ।


स्थानीय तहमा सञ्चालन हुने ठूला परियोजना प्रदेश परियोजना बैंकमा समावेश गर्न माघ मसान्तभित्र प्रदेश योजना आयोगमा पठाउने निर्णय भएको अधिकारीले बताए । स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको विवरण तयार गरी प्रदेश सरकारमा पठाउने र तिनलाई संघीय सरकारको अनुमति लिई संस्थागत संरचना, विकास आयोजना तथा औद्योगिकीकरणमा उपयोग गरिने निर्णय भएको छ ।


मुख्यमन्त्री तथा प्रदेश समन्वय परिषद्का अध्यक्ष शेरधन राईले बजेट वितरणमुखी भएको स्विकारे । ‘यसअघि आवधिक योजनाको अभावमा वितरणमुखी बजेट निर्माण हुने गर्थ्यो, अब ठोस योजनामा मात्रै बजेट विनियोजन हुन्छ,’ उनले भने, ‘परिषद्को निर्णय कार्यान्वयन गर्दै स्थानीय तहसँग सम्बन्ध मजबुत बनाएर समृद्ध प्रदेश निर्माण गर्छौं ।’ प्रकाशित : माघ १, २०७६ ०९:४९

प्रतिक्रिया
पठाउनुहोस्

माघे संक्रान्तिमा मेलैमेला

‘यो माघी मेला, के चिनु साटौं नि लैलै भेट भाको बेला’
सशस्त्र द्वन्द्वमा केही वर्ष रोकिएको मेला भर्न सदरमुकाम फुङलिङदेखिका मानिस लिंखिम पुग्छन्
कान्तिपुर संवाददाता

(ताप्लेजुङ र इलाम) — प्रत्येक वर्ष माघ १ गते फक्ताङलुङ गाउँपालिका–३ लिंखिमको सिंवा बजारमा घन्किने भाका हो यो । सावादिन, खेजेनिम, लिंखिमको सिमाना छुट्याएर बग्ने तमोर नदी किनारमा लाग्ने मेलामा यस्तै भाका घन्काइन्छ ।

हिँडेर तीन र गाडीमा डेढ घण्टामै पुगिने भएकाले सदरमुकाम फुङलिङदेखिका मानिस मेला भर्न पुग्छन् । सशस्त्र द्वन्द्वमा केही वर्ष रोकिएको मेला शान्ति प्रक्रियापछि पुन: सुरु भएको हो । मानिसहरूको आकर्षणका लागि खेलकुद, सांगीतक तथा सांस्कृतिकलगायतका कार्यक्रम आयोजना गरिँदै आएको छ ।

माघे संक्रान्तिकै अवसरमा सिरिजंघा गाउँपालिका ६ मामांखेमा मामांखे महोत्सव आयोजना गरिएको छ । पुस २९ बाट सुरु भएर माघ २ गते सकिने महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलगायत अतिथि आउने भएका छन । लिम्बू समुदायको मात्रै बसोबास रहेको यहाँ लिम्बू संस्कृतिका हरेक विधालाई समेट्ने योजना रहेको महोत्सवका सल्लाहकार चित्र मावो बताउँछन् । लिम्बू समूदायको परिचय र पहिचान झल्कने एक मात्र लिम्बू संग्रहालय यहाँ भएकाले पनि यसको विशेष महत्त्व छ । ताप्लेजुङ र पाँचथरको सीमावर्ती क्षेत्र कावेलीमा माघे संक्रान्तिको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बू र ताप्लेजुङ ढुवानी सेवाको आयोजनामा हुने कार्यक्रममा पाँचथरबाट ताप्लेजुङ भित्रिने हरेक यात्रुलाई खादा पहिर्‍याएर सम्मान गरिनेछ ।

ताप्लेजुङबाट पाँचथरको काबेली बजारसम्म दौड गराउने कार्यक्रम पनि छ । यहाँ माघ १ गते मकर नुहाउन जानेको पनि भिड लाग्छ । कावेली नदीमा नुहाएर तरुल उसिनेर खानेहरू प्रशस्तै भेटिन्छन् । सिदिङवाको सुरुमखिम, मेरिङदेनको थुकिम्बालगायत स्थानमा पनि मेला लाग्ने गरेको छ । माघे र साउने संक्रान्तिलाई पहिला आदिवासि–जनजाति समुदायले विशेष चाडका रुपमा मनाउँथे । यसका लागि मासु, तरुललगायत खाद्य सामग्री अग्रिम रुपमा ब्यवस्था गरिन्थ्यो । पछिल्ला वर्ष पहिलाको जस्तो पूर्वतयारी कम हुन्छ । तर मेला, महोत्सवमा सहभागी हुने, मिठा परिकार बनाएर खाने प्रचलन उस्तै छ । सञ्चारको विकास नहुँदासम्म भेटवार्ता गर्ने माध्यम रहेको मेलामा अहिले आफ्नो उत्पादन बिक्रीमा लैजाने, आवश्यक पर्नेले खरिद गर्ने र संगीत तथा खेलकुदमा रमाउने प्रचलन बढेको छ । चाँगेका विष्णु लिम्बूका अनुसार माघे संक्रान्तिको अघिल्लो दिन नै प्रत्येकजसो घरले तरुलको ब्यवस्था गरेका हुन्छन् । घर तरुल, वन तरुल, इस्कुस जरा जोहो गरेकाहरूले संक्रान्तिका दिन बिहानै भाँडामा उसिन्छन् । गाइभैंसी दुहुने, पशु चौपायालाई बिहानको घाँस हालेपछि परिवारका सदस्य भेला भएर तरुलको टीका लगाउँछन् ।

विशेष गरी वन तरुलको टीका लगाउने प्रचलन छ । वनको देवता खुसी बनाउनका टीका लगाइएको विष्णुको बुझाइ छ । तरुल खाएपछि परिवारका सदस्य मेला, महोत्सवतिर लाग्छन् । संक्रान्तिको बेलुका भने हरेकजसो घरमा मासु खाने प्रचलन रहेको उनले सुनाइन् । ‘धेरैले त बिहान–बेलुका पनि खान्छन्,’ विष्णुले भनिन्, ‘बेलुका नखाने त सायदै हुँदैनन् होला ।’ संक्रान्तिपछि मकै छर्न खेत जोत्नेलगायतका काम हुने भएकाले यो दिनलाई विशेष मनाइन्छ । माघे संक्रान्तिमा रोटी पनि पकाउने गरिएको छ ।

माघे संक्रान्तिमा धेरै बिक्री हुने बन तरुल १ सय ५०, घरतरुल १ सय र इस्कुस तरुल ८० रुपैयाँ किलो छ । तरुलसँगै ताप्लेजुङमा राँगाको मासुको खपत बढी हुने गरेको छ ।

खेलको प्रवर्द्धन
माघे संक्रान्तिमा खेलको प्रवर्द्धनपनि अधिक हुने गरेको छ । मेला र महोत्सवमा खेलकुदका कार्यक्रम आयोजना गरिन्छन् । अधिकांश स्थानमा भलिबल प्रतियोगिता गरिन्छ । मामांखे महोत्सवमा वडास्तरीय र कावेलीमा पालिकास्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

माइबेनी मेलाको रन्को
माघे संक्रान्तिका अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा लाग्दै आएको माइबेनी मेला यस वर्ष पनि उत्साहसाथ मनाइँदै छ । विभिन्न जातीय संस्कृतिसहित यस क्षेत्रमा उत्पादन हुने रैथाने खेतीबालीको बजार प्रवर्द्धनका लागि पनि यो मेला इतिहासदेखि चर्चामा छ । मकर नुहाउनेसँगै भाकल गर्नेहरूको पनि मेलामा बाक्लो भिड हुने गरेको छ । माघ १ मा विशेष लाग्ने मेला पुस २८ गते नै सुरु भएको हो । मेला माघ २ सम्म चल्नेछ । यहाँको मेलामा पूर्वका विभिन्न जिल्ला र भारतको दार्जिलिङ, सिक्किमबाट पनि बाक्लो उपस्थिति हुने गरेको छ । विभिन्न प्रकारका तरुल, सगरखण्ड, पिँडालु, ग्यामरे, उखुजस्ता उत्पादन बिक्री र खरिद गर्न यहाँ भिड लाग्छ ।

मेला व्यवस्थित बनाउन विद्युत, खानेपानी, शौचालयजस्ता अत्यावश्यक विषयको राम्रो व्यवस्था गरिएको आयोजक कमिटीले जनाएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष तथा माइजोगमाई गाउँपालिका–४ का वडाध्यक्ष गणेशकुमार राईका अनुसार मेलामा आउने पर्यटक तथा धर्मावलम्बीको सुविधा मध्यनजर गर्दै जोगमाई खोलामा अस्थायी पुल, फड्के र ३ स्थानमा सवारी पार्किङ व्यवस्थापन गरिएको छ । मेलामा प्राथमिक स्वास्थ्य शिविरसमेत रहनेछ ।

इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको संगमस्थल माइबेनी इलामकै महत्वपूर्ण धार्मिक स्थल हो । हरेक वर्ष माघे संक्रान्तिमा यस ठाउँमा मेला लाग्ने गरेको छ । स्थानीय कृषि–उपज तथा कलासंस्कृतिको प्रचारप्रसार्र साथै धार्मिक आस्था बचाइराख्न मेला गरिदै आएको छ । फराकिलो खेत र खोला बगरमा लाग्ने मेला पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै छ । धर्मावलम्बीहरूले जोगमाई र माइ खोलामा स्नान गरी त्यसै स्थानमा रहेको माई भगवती मन्दिरमा पूजाआजा गर्ने गरेका छन् ।

मेलामा कृषि–प्रदर्शनीसमेत आयोजना गरिएको छ । प्रदर्शनीमा जिल्लाभरिका किसानहरूलाई सहभागी गराई उत्कृष्टलाई पुरस्कृतसमेत गरिने आयोजकको भनाइ छ । प्रदर्शनीमा खाद्यान्न, दलहन, फलफूल र तरकारी बाली समावेश गरिनेछ । मेलालाई मध्यनजर गर्दै माघे संक्रान्तिका दिन माइजोगमाई गाउँपालिकाले बिदा दिँदै आएको छ । मकर संक्रान्तिका अवसरमा माङ्सेवुङ गाउँपालिकाले पनि बिदा दिएको छ । फाकफोकथुम गाउँपालिकाको दोकानडाँडामा पनि मेला लागेको छ ।

प्रकाशित : माघ १, २०७६ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×