कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

माघे संक्रान्तिमा मेलैमेला

‘यो माघी मेला, के चिनु साटौं नि लैलै भेट भाको बेला’
सशस्त्र द्वन्द्वमा केही वर्ष रोकिएको मेला भर्न सदरमुकाम फुङलिङदेखिका मानिस लिंखिम पुग्छन्

(ताप्लेजुङ र इलाम) — प्रत्येक वर्ष माघ १ गते फक्ताङलुङ गाउँपालिका–३ लिंखिमको सिंवा बजारमा घन्किने भाका हो यो । सावादिन, खेजेनिम, लिंखिमको सिमाना छुट्याएर बग्ने तमोर नदी किनारमा लाग्ने मेलामा यस्तै भाका घन्काइन्छ ।

माघे संक्रान्तिमा मेलैमेला

हिँडेर तीन र गाडीमा डेढ घण्टामै पुगिने भएकाले सदरमुकाम फुङलिङदेखिका मानिस मेला भर्न पुग्छन् । सशस्त्र द्वन्द्वमा केही वर्ष रोकिएको मेला शान्ति प्रक्रियापछि पुन: सुरु भएको हो । मानिसहरूको आकर्षणका लागि खेलकुद, सांगीतक तथा सांस्कृतिकलगायतका कार्यक्रम आयोजना गरिँदै आएको छ ।


माघे संक्रान्तिकै अवसरमा सिरिजंघा गाउँपालिका ६ मामांखेमा मामांखे महोत्सव आयोजना गरिएको छ । पुस २९ बाट सुरु भएर माघ २ गते सकिने महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलगायत अतिथि आउने भएका छन । लिम्बू समुदायको मात्रै बसोबास रहेको यहाँ लिम्बू संस्कृतिका हरेक विधालाई समेट्ने योजना रहेको महोत्सवका सल्लाहकार चित्र मावो बताउँछन् । लिम्बू समूदायको परिचय र पहिचान झल्कने एक मात्र लिम्बू संग्रहालय यहाँ भएकाले पनि यसको विशेष महत्त्व छ । ताप्लेजुङ र पाँचथरको सीमावर्ती क्षेत्र कावेलीमा माघे संक्रान्तिको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बू र ताप्लेजुङ ढुवानी सेवाको आयोजनामा हुने कार्यक्रममा पाँचथरबाट ताप्लेजुङ भित्रिने हरेक यात्रुलाई खादा पहिर्‍याएर सम्मान गरिनेछ ।


ताप्लेजुङबाट पाँचथरको काबेली बजारसम्म दौड गराउने कार्यक्रम पनि छ । यहाँ माघ १ गते मकर नुहाउन जानेको पनि भिड लाग्छ । कावेली नदीमा नुहाएर तरुल उसिनेर खानेहरू प्रशस्तै भेटिन्छन् । सिदिङवाको सुरुमखिम, मेरिङदेनको थुकिम्बालगायत स्थानमा पनि मेला लाग्ने गरेको छ । माघे र साउने संक्रान्तिलाई पहिला आदिवासि–जनजाति समुदायले विशेष चाडका रुपमा मनाउँथे । यसका लागि मासु, तरुललगायत खाद्य सामग्री अग्रिम रुपमा ब्यवस्था गरिन्थ्यो । पछिल्ला वर्ष पहिलाको जस्तो पूर्वतयारी कम हुन्छ । तर मेला, महोत्सवमा सहभागी हुने, मिठा परिकार बनाएर खाने प्रचलन उस्तै छ । सञ्चारको विकास नहुँदासम्म भेटवार्ता गर्ने माध्यम रहेको मेलामा अहिले आफ्नो उत्पादन बिक्रीमा लैजाने, आवश्यक पर्नेले खरिद गर्ने र संगीत तथा खेलकुदमा रमाउने प्रचलन बढेको छ । चाँगेका विष्णु लिम्बूका अनुसार माघे संक्रान्तिको अघिल्लो दिन नै प्रत्येकजसो घरले तरुलको ब्यवस्था गरेका हुन्छन् । घर तरुल, वन तरुल, इस्कुस जरा जोहो गरेकाहरूले संक्रान्तिका दिन बिहानै भाँडामा उसिन्छन् । गाइभैंसी दुहुने, पशु चौपायालाई बिहानको घाँस हालेपछि परिवारका सदस्य भेला भएर तरुलको टीका लगाउँछन् ।


विशेष गरी वन तरुलको टीका लगाउने प्रचलन छ । वनको देवता खुसी बनाउनका टीका लगाइएको विष्णुको बुझाइ छ । तरुल खाएपछि परिवारका सदस्य मेला, महोत्सवतिर लाग्छन् । संक्रान्तिको बेलुका भने हरेकजसो घरमा मासु खाने प्रचलन रहेको उनले सुनाइन् । ‘धेरैले त बिहान–बेलुका पनि खान्छन्,’ विष्णुले भनिन्, ‘बेलुका नखाने त सायदै हुँदैनन् होला ।’ संक्रान्तिपछि मकै छर्न खेत जोत्नेलगायतका काम हुने भएकाले यो दिनलाई विशेष मनाइन्छ । माघे संक्रान्तिमा रोटी पनि पकाउने गरिएको छ ।


माघे संक्रान्तिमा धेरै बिक्री हुने बन तरुल १ सय ५०, घरतरुल १ सय र इस्कुस तरुल ८० रुपैयाँ किलो छ । तरुलसँगै ताप्लेजुङमा राँगाको मासुको खपत बढी हुने गरेको छ ।


खेलको प्रवर्द्धन

माघे संक्रान्तिमा खेलको प्रवर्द्धनपनि अधिक हुने गरेको छ । मेला र महोत्सवमा खेलकुदका कार्यक्रम आयोजना गरिन्छन् । अधिकांश स्थानमा भलिबल प्रतियोगिता गरिन्छ । मामांखे महोत्सवमा वडास्तरीय र कावेलीमा पालिकास्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।


माइबेनी मेलाको रन्को

माघे संक्रान्तिका अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा लाग्दै आएको माइबेनी मेला यस वर्ष पनि उत्साहसाथ मनाइँदै छ । विभिन्न जातीय संस्कृतिसहित यस क्षेत्रमा उत्पादन हुने रैथाने खेतीबालीको बजार प्रवर्द्धनका लागि पनि यो मेला इतिहासदेखि चर्चामा छ । मकर नुहाउनेसँगै भाकल गर्नेहरूको पनि मेलामा बाक्लो भिड हुने गरेको छ । माघ १ मा विशेष लाग्ने मेला पुस २८ गते नै सुरु भएको हो । मेला माघ २ सम्म चल्नेछ । यहाँको मेलामा पूर्वका विभिन्न जिल्ला र भारतको दार्जिलिङ, सिक्किमबाट पनि बाक्लो उपस्थिति हुने गरेको छ । विभिन्न प्रकारका तरुल, सगरखण्ड, पिँडालु, ग्यामरे, उखुजस्ता उत्पादन बिक्री र खरिद गर्न यहाँ भिड लाग्छ ।


मेला व्यवस्थित बनाउन विद्युत, खानेपानी, शौचालयजस्ता अत्यावश्यक विषयको राम्रो व्यवस्था गरिएको आयोजक कमिटीले जनाएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष तथा माइजोगमाई गाउँपालिका–४ का वडाध्यक्ष गणेशकुमार राईका अनुसार मेलामा आउने पर्यटक तथा धर्मावलम्बीको सुविधा मध्यनजर गर्दै जोगमाई खोलामा अस्थायी पुल, फड्के र ३ स्थानमा सवारी पार्किङ व्यवस्थापन गरिएको छ । मेलामा प्राथमिक स्वास्थ्य शिविरसमेत रहनेछ ।


इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको संगमस्थल माइबेनी इलामकै महत्वपूर्ण धार्मिक स्थल हो । हरेक वर्ष माघे संक्रान्तिमा यस ठाउँमा मेला लाग्ने गरेको छ । स्थानीय कृषि–उपज तथा कलासंस्कृतिको प्रचारप्रसार्र साथै धार्मिक आस्था बचाइराख्न मेला गरिदै आएको छ । फराकिलो खेत र खोला बगरमा लाग्ने मेला पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै छ । धर्मावलम्बीहरूले जोगमाई र माइ खोलामा स्नान गरी त्यसै स्थानमा रहेको माई भगवती मन्दिरमा पूजाआजा गर्ने गरेका छन् ।


मेलामा कृषि–प्रदर्शनीसमेत आयोजना गरिएको छ । प्रदर्शनीमा जिल्लाभरिका किसानहरूलाई सहभागी गराई उत्कृष्टलाई पुरस्कृतसमेत गरिने आयोजकको भनाइ छ । प्रदर्शनीमा खाद्यान्न, दलहन, फलफूल र तरकारी बाली समावेश गरिनेछ । मेलालाई मध्यनजर गर्दै माघे संक्रान्तिका दिन माइजोगमाई गाउँपालिकाले बिदा दिँदै आएको छ । मकर संक्रान्तिका अवसरमा माङ्सेवुङ गाउँपालिकाले पनि बिदा दिएको छ । फाकफोकथुम गाउँपालिकाको दोकानडाँडामा पनि मेला लागेको छ ।

प्रकाशित : माघ १, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?