१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पर्यटक टिकाउनै कठिन

बर्जु तालमा भारत, विहारसम्मका पर्यटक आउँछन् तर छेउछाउ होटल र होमस्टे नहुँदा चाहेर पनि यहाँ बस्न पाउँदैनन्
जितेन्द्र साह

(बर्जु, सुनसरी) — विराटनगरको बरगाछी चोकदेखि करिब ९ किमी पश्चिममा छ, चिमडी बर्जु ताल । सुनसरीको बर्जु गाउँपालिका–६, चिमडी बस्तीमा १ सय ५२ बिघामा फैलिएको यो ताल क्षेत्र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । तर धुलाम्य/हिलाम्य हुलाकी मार्ग र व्यवस्थापन अभावमा यसले पर्यटक तान्न सकिरहेको छैन ।

पर्यटक टिकाउनै कठिन

नजिकै भए पनि मोरङ, सुनसरी र झापाबासी यहाँ आउन हिचकिचाउँछन् । तर, विराटनगर–६ की ६० वर्षीया उर्मिला थापा तीन नातिनातिना च्यापेर आएकी भेटिइन् । उनी पहिलोचोटि आएकी रहिछन् । ‘थाहा त थियो, ठाउँ पनि राम्रो छ तर आइजाई गर्नै कठिन छ, आउँदै धुलाम्य भयौं,’ उनले भनिन्, ‘पानी परिहाले हिलाम्य भएर यहाँबाट निस्कन पनि सकिन्न, कम्तीमा ताल क्षेत्रमा ग्राभेल मार्ग बनाउनुपर्छ ।’ नानीबाबुलाई खेलाउन र घुमाउन यहाँ ताल, नौका विहार एवं बालबगैंचाबाहेक केही नरहेको थापाले बताइन् । मोरङको कटहरीस्थित राधाकृष्ण आधारभूत विद्यालयबाट वनभोजका लागि आएका शिक्षकशिक्षिकाले पनि यति सुन्दर थलोमा प्रचुर विकास नभएकोमा असन्तुष्टि प्रकट गरे ।


‘यतिको विशाल ठाउँमा पूर्वाधार छैन, वृक्षरोपणसमेत गरिएको छैन,’ शिक्षक वसन्तराम चौधरीले भने, ‘वनभोजका लागि पर्याप्त टहरा निर्माण गरिएको छैन ।’ बनाइएका तीन टहरा भरिभराउ हुन्छन् । पछि आउनेहरू ठाउँ नपाएर अन्यत्र लाग्छन् ।


ठूलो पानी परे वा हावाहुरी आए यहाँ घुम्न आएका सयौं नागरिकका लागि ओत लाग्ने थलो नभएको सुनसरी दुहबी–११ तमुनाकी अञ्जुली चौधरीले बताइन् । ‘आफ्नै गाउँठाउँ घुम्न मन त लाग्छ तर पैसा खर्चेर पनि सुविधा नपाउँदा मन खिन्न हुन्छ,’ उनले भनिन्, ‘केही पनि व्यवस्थित देख्दिनँ । बढी महिला र बालबालिका आउने भए पनि यहाँ सुरक्षा–व्यवस्था छैन ।’


भारत, बिहारको पुर्णिया जिल्लाबाट पहिलो पटक आएका रामेश्वर जयसवाल ठाउँ सुन्दर भए पनि होटेल, लज र खाजा पसल नदेखेर चकित परे । ‘नेपाल भ्रमणवर्षबारे थाहा पाएर श्रीमती र दुई बच्चासहित घुम्न आएको हुँ,’ उनले भने, ‘पहिले बर्जु आएँ, यहाँ बस्नेखाने ठाउँ वा होमस्टे पनि छैन, राति इटहरी बसेर पूर्वी पहाडी भेगतिर लाग्छु ।’


महाभारतको कथासँग बर्जु तालको सन्दर्भ जोडिएकाले पनि यो ठाउँ हेर्न र घुम्न चाहेको जयसवालले बताए । बाल–बगैंचामा जाँदा र नाउ चढ्दा छुट्टाछुट्टै टिकट काट्नुपरेकोमा उनले गुनासो गरे ।

बर्जु सामुदायिक केन्द्रले १८ पुसदेखि १ माघसम्म बर्जु महोत्सव मनाइरहेको छ । महोत्सवभरि ताल क्षेत्रमा प्रवेश निःशुल्क छ । तर शनिबारबाहेक अन्य दिन यहाँ उति सारो भिड देखिन्न ।


दशकअघिको बाढीले क्षति पुगेको यो तालमा पुनर्निर्माणपछि २०६६ मा चहलपहल सुरु भएको चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समितिले जनाएको छ । २०७३ देखि यहाँ आउनेको संख्या बढ्न थालेको हो । समितिका अनुसार दिनहुँ औसत १ सय ५० जना टिकट काटेर घुम्छन् । पास, छुट र खुला ठाउँबाट दिनहुँ औसत ७/८ सय जनाको हाराहारीमा स्थानीय प्रवेश गर्छन् ।


समितिका अनुसार सिजनमा शनिबार घुम्न आउनेको संख्या दुई हजारसम्म पुग्छ । तर गर्मीमा चैत र वैशाख तथा वर्षायाममा साउनदेखि असोजसम्म पर्यटकको आगमन ७५ प्रतिशतले कम हुन्छ । घुम्न आउनेमा स्थानीयबाहेक झापा, पर्सा र विहारछेउछाउका हुने गरेको समितिका कार्यकारी सचिव विलटसिंह श्रेष्ठले बताए । ‘वरिपरि बसोबासको प्रबन्ध नभएकाले उनीहरू फर्कन्छन्,’ उनले भने, ‘धर्मशालालगायत पूर्वाधार अभावमा पर्यटकलाई टिकाउनै कठिन छ ।’ बाल–बगैंचा, गोरेटो निर्माण र बाढीले क्षतिग्रस्त तालको संरचना बनाउन गाउँपालिका कार्यालयले पनि गत वर्ष ३० लाख रुपैयाँ खर्च्यो । २०७४ को साउनको बाढीले तालको पूर्वपट्टिको डिल र नर्सरी पोखरीको डिलमा क्षति पुर्‍याएको थियो ।


राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकासको ३ करोड ६६ लाख रुपैयाँ बजेटमा सेनाले दुई वर्षअघि यो ताल पुनर्निर्माण गरेको थियो । बाढीले तालको संरचनामा व्यापक क्षति पुगेकाले सानोतिनो बजेटले नपुगेको समितिले जनाउँदै आएको छ ।


६९.४३ वर्ग किमी क्षेत्रफल र ३१ हजार १ सय ७८ जनसंख्या भएको बर्जु थारु, मधेसी, जनजाति र दलित–बहुल गाउँ हो । यो तालको स्वामित्वमा पहिला १४७ विघा १० कट्ठा ११ धुर जग्गा थियो । वस्ती विकासकै कारण ताल नमासियोस् भनेर दशकअघि थप जग्गा किनिएको समितिले जनायो । ६२ विघामा जलाशय छ ।

प्रकाशित : पुस २९, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?