कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गलत डिजाइनले आयुर्वेद भवन अलपत्र

(संखुवासभा) — अरुणपारिको सिलिचोङमा निर्माणाधीन आयुर्वेद कार्यालयको भवन अलपत्र छ । गलत डिजाइनका कारण काम रोकिएपछि भत्किएकै भवनबाट सेवा दिइँदै आएको छ । 

सिलिचोङको १, २ र ३ नम्बरको संगम सिसुवाटार–बुधबारेमा निर्माणाधिन भवन अलपत्र भएको हो । वर्षौंदेखि जीर्ण भवनबाट स्वास्थ्य सेवा लिनुपरेको स्थानीयले बताए । औषधालयको पुरानो भवनछेवैमा नयाँ बनाउन सुरु गरिएको ६ वर्ष बितिसक्यो । तर पिलर उठाउनेबाहेक थप प्रगति हुन सकेको छैन ।


एक कविराजसहित ३ जनाको दरबन्दी रहेको आयुर्वेद औषधालयको पुरानो भवन कत्तिखेर भत्किने हो, कुनै टुंगो छैन । भवनको ठाउँठाउँमा भत्किएको भित्तालाई कार्टुनले टालेर स्वास्थ्यकर्मी बस्दै आएका छन् । जीर्ण भवन मर्मतसमेत भएको छैन । हावा छेक्न औषधि ल्याइएको कार्टुनले पर्खाल टालिएको छ । ‘भवन भत्किएर किच्छ कि भन्ने डर बोकेर काम गर्नुपर्छ,’ गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले भने, ‘स्वास्थ्यकर्मीको मनोबल कमजोर बन्दै गएको छ ।’ २०७१ सालमा तत्कालीन आयुर्वेद विभागबाट जिल्ला विकास समिति हुँदै ४० लाखमा केही पिलर मात्र ठड्याइएको हो । ‘पिलर उठाएपछि न थप बजेट प्राप्त भयो, न स्थानीय सरकारले पूर्णता दियो’, कुलुङले भने, ‘अहिले आएर पिलरसहितको संरचना काम नलाग्ने अवस्थामा पुगेको छ ।’ प्राथमिकतामा रहे पनि प्राविधिक कारणले भवन निर्माणले पूर्णता नपाएको उनको भनाइ छ । निर्माणका क्रममा उपयुक्त रड नराखिएकाले अहिलेको संरचनामा भवन बनाउन नसकिएको उनले बताए । ‘निर्माणाधीन संरचना अध्ययनका लागि इन्जिनियर लगेर स्थलगत अध्ययन गरेका थियौं’, कुलुङले भने, ‘थप निर्माण गर्न नसक्ने भनी प्राविधिकहरूले प्रतिवेदन दिएपछि काम रोक्यौं, भवनको बीचतिर कुनै पिलर छैन, छेउछेउमा मात्र छ, त्यसले एक तला ढलानसमेत थाम्दैन ।’


त्यसलाई भत्काएर नयाँ संरचना निर्माण गर्न पनि नमिलेको सिलिचोङ–२ का वडाध्यक्ष मोहनशम्शेर कुलुङले बताए । अर्को जग्गा नभएकाले नयाँ भवन बनाउन समस्या परेको उनको भनाइ छ । ‘भवन बनाउन ४० लाख प्राप्त भएको थियो । प्राविधिक र ठेकेदारको लापरबाहीले काम हुन नसकेको हो,’ उनले भने, ‘अर्को वर्ष त्यही ठाउँमा ट्रस्ट हालेर भए पनि प्रयोगमा ल्याउने योजना छ ।’


प्रकाशित : पुस २९, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?