कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

जाँच बर्थिङ सेन्टरमा, सुत्केरी अस्पतालमा

सरकारले प्रोत्साहनबापत नगदसहित निःशुल्क सेवा दिए पनि बिरामीले बर्थिङ सेन्टरलाई विश्वास गर्न सकिरहेका छैनन्
अर्जुन राजवंशी

बिर्तामोड — हेमा राईको घर पृथ्वीनगर स्वास्थ्य चौकी नजिकै छ । स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालित छ । दोस्रो छोरी गर्भमा हुँदा उनले सोही स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइन् । बर्थिङ सेन्टरमै नियमित ४ पटक गर्भवती जाँच गराएकी उनी सुत्केरी हुन भने मेची अञ्चल अस्पताल पुगिन् ।

जाँच बर्थिङ सेन्टरमा, सुत्केरी अस्पतालमा

भद्रपुर नगरपालिका–१ की उनी सुत्केरी हुन ८ किलोमिटर टाढाको अस्पताल गएकी थिइन् । हिमा सुवेदीको घर बिर्तामोड नगरपालिका–३ स्थित अनारमनी स्वास्थ्य चौकी नजिकै छ । त्यहाँ बर्थिङ सेन्टर पनि छ । तर, सुवेदीले पनि हेमाले जस्तै बर्थिङ सेन्टरमा बच्चा जन्माउन उचित ठानिनन् । ‘घर स्वास्थ्य चौकी नजिकै भए पनि सुत्केरी गराउन विराटनगर गयौं । यहाँ केही सुविधा छैन । गाह्रो–साह्रो हुँदा के गर्नु ? त्यसैले विराटनगर नै गयौं,’ उनले भनिन् । झापामा ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र र १२ वटा स्वास्थ्य चौकीमा ‘बर्थिक सेन्टर’ सञ्चालित छ । तर, स्थानीय महिला बर्थिङ सेन्टर पुगेर सुत्केरी गराउन ढुक्क छैनन् । बरु खर्च गरेर टाढाको निजी अस्पताल धाइरहेका छन् । यसैकारण कतिपय बर्थिङ सेन्टर शून्य बनेका छन् ।


बिर्तामोडस्थित अनारमनी स्वास्थ्य चौकीमा ३ वर्षदेखि बर्थिङ सेन्टर चलाइएको छ । तर, अहिलेसम्म कोही महिलाले पनि सुत्केरी गराएका छैनन् । स्वास्थ्य चौकीमा दैनिक ७/८ जना गर्भवती महिला जाँच गराउन आउँछन् । निःशुल्क पाइने क्याल्सियम र आइरन चक्की लिन आउने गर्भवतीको संख्या पनि धेरै छ । सुत्केरी गराउनेको संख्या भने शून्य छ ।


०७३ कार्तिकमा स्थापना भए पनि यस अवधिमा एक महिला पनि सुत्केरी गराउन नआएपछि बिर्तामोड क्षेत्रको एक मात्र सरकारी बर्थिङ सेन्टर अहिले बन्द अवस्थामा छ । ‘बर्थिङ सेन्टर स्थापना गर्दा राम्रो चल्छ जस्तो लागेको थियो । तर, सोचेजस्तो भएन,’ स्वास्थ्य चौकीमा कर्मचारी रहेकी अनमी रमला बरालले भनिन्, ‘एक वर्षसम्म त हामीले बर्थिङ सेन्टरकै लागि भनेर दैनिक १२ घण्टासम्म ड्युटी पनि गर्‍यौं । र पनि सेवा लिन कोही आएनन् ।’ स्वास्थ्य चौकी आसपास ठूलो संख्यामा विपन्न समुदायको बसोबास छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने, माझी, दास, राजवंशी, सन्थाललगायत जातिको बसोबास रहे पनि सुत्केरी सेवा लिन उनीहरू बर्थिङ सेन्टरमा नगई बिर्तामोडका निजी अस्पताल नै जाने गरेका छन् ।


कचनकवल गाउँपालिका–४ स्थित केचना स्वास्थ्य चौकीमा पनि बर्थिङ सेन्टरको व्यवस्था छ । जिल्लाको ग्रामीण सीमावर्ती क्षेत्रका बासिन्दाको सुविधाको लागि उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो । तर, जिल्ला स्वास्थ्य कार्यालय, भद्रपुरको तथ्यांकअनुसार आव ०७५/७६ मा उक्त सेन्टरबाट वर्षभरीमा ५ जना महिलाले मात्र सुत्केरी सेवा लिएका छन् । स्वास्थ्य चौकी आसपास मुस्लिम र आदिवासी समुदायको बाक्लो बस्ती छ । बर्थिङ सेन्टरमा गर्भ जाँच गराउन आउनेको संख्या धरै भए पनि सुत्केरी गराउनेको संख्या न्यून रहेको अनमी हेमा सुब्बाले जानकारी दिइन् ।


अस्पतालमा सुत्केरी गराउने धेरै


आमा सुरक्षा कार्यक्रमसहितको बर्थिङ सेवा जिल्लामा ६ वटा प्राथमिक स्वास्थ्य केन्द्रहरू खजुरगाछी, शिवगञ्ज, बनियानी, धुलाबारी, सुरुङ्गा र शनिश्चरेमा उपलब्ध छ । जलथल, केचना, तोपगाछी, चन्द्रगढी, शान्तिनगर, खुदुनाबारी, पृथ्वीनगर, टाघनडुब्बा, राजगढ, पथरिया, पाँचगाछी र अनारमनी स्वास्थ्य चौकीमा पनि बर्थिङ सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालयको आमा सुरक्षा कार्यक्रमका फोकल पर्सन शशीकुमार भट्टराईले जानकारी दिए । अस्पतालमध्ये बिर्तामोडको बिर्तासिटी, बीएण्डसी, मनमोहन मेमोरियल सामुदायिक अस्पताल, दमकको लाइफलाइन, सामुदायिक अस्पताल, आम्दा र दमक अस्पताल, भद्रपुरस्थित ओमसाई पाथीभरा र मेची अञ्चल अस्पतालमा समेत आमा सुरक्षासहितको सुत्केरी सेवा उपलब्ध रहेको भट्टराइले जानकारी दिए ।


गत आवमा जिल्लामा १६ हजार ६ सय २ महिलाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी सेवा लिएका छन् । उक्त कार्यक्रम लागू भएका अस्पताल तथा बर्थिङ सेन्टरमा सुत्केरी गराए निःशुल्क सेवा पाउनुका साथै सुत्केरीले घर फर्किने बेला १ हजार रुपैयाँ गाडीभाडा समेत पाउने सरकारी व्यवस्था छ । बर्थिङ सेन्टरमा नियमानुसार नियमित ४ पटक गर्भ जाँच गरे ८ सय र सुत्केरी गराए गाडीभाडा बापत थप १ हजार रुपैयाँ पाउने व्यवस्था छ ।


सरकारले गाउँ–गाउँमै नगदसहित निःशुल्क सेवा दिने व्यवस्था गरे पनि गर्भवती महिलाले भने बर्थिङ सेन्टरभन्दा अन्य अस्पतालबाटै अधिक सेवा लिइरहेका छन् । बर्थिङ सेन्टर सञ्चालित जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरूमा सेवा लिने सुत्केरी महिलाको संख्या अत्यन्त न्यून छ । गत वर्षको तथ्यांकअनुसार स्वास्थ्य चौकीअन्तर्गत जलथल र केचनाबाट समान ५/५ जना, तोपगाछीबाट ८, चन्द्रगढी र शान्तिनगरबाट १३/१३, खुदुनाबारीबाट १४, पृथ्वीनगरबाट १६, पथरियाबाट १८ र टाघनडुब्बाबाट २४ महिलाले सुत्केरी सेवा लिएका छन् ।


त्यस्तै, शिवगन्जबाट ३०, खजुरगाछीबाट ३३, शनिश्चरे र बनियानीबाट ३८/३८, सुरुङ्गाबाट ५२ र धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रबाट ३ सय ८३ जनाले सुत्केरी सेवा लिएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । निजी अस्पतालहरू ओमसाई पाथीभरामा १ सय ४४, बीएण्डसीमा १ सय ५५ र लाइफलाइनमा ५ हजार ४ सय ९ जनाले सुत्केरी गराएका छन् ।


सरकारीतर्फ सबैभन्दा कम दमक अस्पतालमा ११ महिला सुत्केरी भए । मेची अस्पतालमा १ हजार ८ सय ७८, मनमोहन मेमोरियलमा १ हजार ३ सय ६३ र सामुदायिकतर्फ आम्दा अस्पतालमा सबैभन्दा बढी ६ हजार ८ सय ५३ महिला सुत्केरी भएका छन् ।


अभावसँग जुझ्दै बर्थिङ सेन्टर


अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी स्वास्थ्य चौकीमा ८ वर्षदेखि बर्थिङ सेन्टर सञ्चालित छ । तर, सेन्टरमा आवश्यक सामग्रीको अभाव पूर्ति हुनसकेको छैन । सुत्केरी गराउने कोठाका झ्यालमा पर्दा छैनन् । कोठाभित्रको गतिविधि बाहिरबाट प्रष्ट देखिन्छ । सुत्केरी गराउँदा चाहिने सामग्री पनि पर्याप्त छैनन् । सुत्ने मेट्रेस, डस्टबीन तथा रबर सिट समेत पर्याप्त छैनन् । सुत्केरीलाई संक्रमण भए रोकथाम गर्ने उपाय छैन । सुत्केरी गराउने कोठामा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता समेत देखिँदैन । स्वास्थ्य चौकीमा लामो समयदेखि एसबीए तालिम लिएका स्वास्थ्यकर्मी थिएनन् । जसका कारण ०७४ असारदेखि माघ महिनासम्म सेन्टरमा कोही पनि सुत्केरी भएनन् ।


भद्रपुर नगरपालिका–९, पुहातुबारीस्थित चन्द्रगढी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरको अवस्था पनि उस्तै छ । सेन्टरको छुट्टै भवन छैन । एउटा सानो कोठामा सेन्टर चलाइएको छ । सुत्केरी गराउने बेला बाल्नुपर्ने पेरी लाइट समेत नभएको स्वास्थ्यकर्मी बताउँछन् । मोबाइल र टर्च लाइट बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको अनमी रेणुका भट्टराईले गुनासो गरिन् । उनका अनुसार एकै दिन दुईजना आए, सुत्केरी सुताउने थप बेड छैन । शौचालयको उचित प्रबन्ध छैन । वर्षातका बेला पानीमा भिजाउँदै सुत्केरीलाई बाहिरको शौचालय लानुपर्ने बाध्यता रहेको भट्टराईले दुःखेसो पोखिन् । पृथ्वीनगर स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा पनि समस्या छ । स्वास्थ्य चौकीमा २ जनामात्र तालिम प्राप्त अनमी छन् । दुवैजना दिउँसो ड्युटीमा आउनुपर्छ । थप अनमी नभएकाले बर्थिङ सेन्टरका लागि राति ड्युटीमा बस्ने स्वास्थ्यकर्मी छैनन् । झ्यालमा पर्दा र पेरी लाइटको समस्या यहाँ पनि उस्तै छ । ‘राति कोही बिरामी आए हामी पनि आउछौं,’ अनमी चन्द्रकला कार्कीले भनिन्, ‘लाइट बिग्रिएकाले सुत्केरी गराउँदा मोबाइल र अन्य लाइट बाल्नुपर्छ ।’


नियमानुसार गर्भावस्थामा ४ पटक अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्छ । बर्थिङ सेन्टरमा गर्भ जाँच गराउन आउने महिलाको संख्या भने राम्रो छ । पृथ्वीनगर स्वास्थ्य चौकीमा गत मंसिरमा पहिलोपटक र चौथोंपटक गर्भ जाँच गराउने महिलाको संख्या १९ थियो । उनीहरूमध्ये प्रोटोकलअनुसार १८ जनाले नियमित ४ पटक गर्भ जाँच गराएका थिए । तर, सुत्केरी सेवा एकजनाले मात्र लिएको अनमी कार्कीले सुनाइन् ।


खुदुनाबारी स्वास्थ्य चौकीमा भदौमा २१ महिलाले पहिलोपटक गर्भ जाँच गराए । १४ जनाले चौथोंपटक । प्रोटोकलअनुसार सो महिना २३ महिलाले गर्भ जाँच गराएको तथ्यांक छ । तर, स्वास्थ्य चौकीमै सुत्केरी भने एक जनाले पनि नगराएको अनमी बन्दना भट्टराईले जानकारी दिइन् ।

केचना स्वास्थ्य चौकीमा मंसिरमा ९ जनाले पहिलोपटक तथा ७ जनाले चौथोंपटक गर्भ जाँच गराएका थिए । तर, प्रोटोकलअनुसार गर्भ जाँच गराउने कोही भएनन् । उक्त महिना सुत्केरी गराउनेको संख्या पनि शून्य भएको अनमी सुब्बाको भनाइ छ ।


चन्द्रगढीको बर्थिङ सेन्टर पनि सोही समस्याबाट ग्रस्त छ । स्वास्थ्य चौकीमा चालु वर्षको ५ महिनामा ४ जनाले मात्र सुत्केरी गराएको तथ्यांक छ । तर, स्वास्थ्य परीक्षण गराउने गर्भवती महिलाको संख्या भने राम्रो रहेको चौकीका प्रमुख हेल्थ असिस्टेन्ट (एचए) लालबहादुर पन्तले जानकारी दिए । यस अवधिमा पहिलोपटक १ सय ४ र चौथोपटक १ सय १९ महिलाले गर्भ जाँच गराएका छन् । प्रोटोकलअनुसार नियमित चारपटक गर्भ जाँच गराउने १ सय ५ जना थिए ।


बिरामी नै बस्न मान्दैनन्


सामान्य सेवा मात्रै दिइने भएकोले बर्थिङ सेन्टरमा बिरामी नै आउन नमान्ने पृथ्वीनगर स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक नेत्र दाहालको भनाइ छ । ‘हामीले दिनसक्ने सेवा दिने हो । तर, बिरामीनै बस्न नमानेपछि कसरी सेवा दिनु ?,’ उनले भने ।


सरकारले बर्थिङ सेन्टर सञ्चालनमा ल्याए पनि पर्याप्त स्रोतसाधन नहुँदा बिरामीका परिवारले सुत्केरी सेवा लिन डराउने गरेको एचए पन्तको बुझाइ छ । ‘सरकारले अब बर्थिङ सेन्टरलाई थप भरपर्दो बनाउन जरुरी छ,’ उनले सुझाए ।


‘बिरामी बर्थिङ सेन्टरमा सुत्केरी गराउन विश्वस्त देखिदैनन् । सुत्केरी गराउनुअघि नै उनीहरूले केही नहुने ग्यारेन्टी खोज्छन्,’ बनियानी प्राथमिक स्वास्थ्य केन्द्रका डा विशुद्ध भट्टराईले भने, ‘नर्मल सुत्केरी मात्रै हुनसक्ने स्थानमा बिरामीलाई कसरी ग्यारेन्टी दिन सकिन्छ ?’ उनले आर्थिक हैसियत राम्रो हुने परिवारले सेन्टरमा बिरामी नै लिएर नआउने गरेको बताए । ‘जसको आर्थिक अवस्था कमजोर छ, उनीहरू मात्र हाम्रोमा सुत्केरी गराउन आउँछन् । उनीहरूलाई पनि साह्रो–गाह्रो भयो भने रेफर गर्नुपर्छ भनियो भने बर्थिङ सेन्टरमा नराखी सिधै ठूलो अस्पतालमा लान्छन् ।’ उनले सरकारले प्रोत्साहनवापत नगदसहित निःशुल्क सेवा दिए पनि बिरामीले अझै बर्थिङ सेन्टरलाई विश्वास गर्न नसकिरहेको टिप्पणी गरे ।

प्रकाशित : पुस २८, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?