१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संस्कृत पढ्ने बढे

ओखलढुंगा — मोलुङ गाउँपालिका–४ मा सञ्चालित जलजलेश्वर गुरुकूल वेद विद्याश्रम जिल्लाकै एकमात्र संस्कृत विद्यालय हो । २०६८ मा कक्षा ४ सम्म अध्यापन अनुमति लिई सुरु भएको विद्यालयमा १७ विद्यार्थी थिए । ८ वर्षयता अध्यापन अनुमति १० कक्षासम्मको लिइसकिएको छ । सोसँगै विद्यार्थी संख्या पनि बढेको छ ।

संस्कृत पढ्ने बढे

कक्षा १० सम्म पढ्ने विद्यार्थी अहिले १ सय ७५ जना छन् । गत वर्ष १७ जना एसइईमा सहभागी भएकोमा ‘ए प्लस’ सम्म ग्रेड ल्याएर उत्तिर्ण भए । गाउँकै बालबालिका जम्मा गरी सुरु भएको विद्याश्रममा अहिले विभिन्न १४ जिल्लाका छात्रछात्रा अध्ययनरत छन् । निःशुल्क आवासीय सुविधासहित संस्कृत पढ्न पाइने भएकोले पनि बाहिरी जिल्लाका विद्यार्थीहरू यहाँ आउन थालेका हुन् । हाल सोलुखुम्बु, खोटाङ, स्याङ्जा, बर्दिया, दैलेख, कालीकोटसम्मका ८५ विद्यार्थी आवासीय सुविधा लिई संस्कृत अध्ययन गरिरहेका छन् । ‘जलजलेश्वरमै पढ्न आउनेको आकर्षण बढ्नुको मूल कारण निःशुल्क आवासीय सुविधा सहितको शिक्षा र गुणस्तरीय पढाइ नै हो,’ प्रधानाध्यापक दिनेशकुमार खतिवडाले भने, ‘त्यसैले वर्षेनी विद्यार्थी थपिने क्रम बढेको छ ।’


मुठ्ठी दान संकलन गरेर व्यक्तिको घरमा विद्यालय सुरु गरिएको थियो । अहिले आफ्नै दुईवटा पक्की भवन छन् । प्राथमिक तहका ४ शिक्षकको दरबन्दी छ । निजी स्रोतसहित १३ शिक्षकशिक्षिकाले अध्यापन गराइरहेका छन् । गाउँपालिकाले गतवर्ष धार्मिक अनुदानवापत १० लाख रुपैयाँ दिएको थियो । २ शिक्षकको तलबका लागि गाउँपालिकाले नै ४ लाख रुपैयाँ छुट्टै बजेटको व्यवस्था गरेको खतिवडाले जानकारी दिए ।


‘मलाई सानैदेखि संस्कृत पढ्ने रहर थियो र यहाँ पढाइ हुन्छ भन्ने सुनेर गुरुहरूसँग सम्पर्क भयो र यहाँ आइपुगेँ,’ राजापुर बर्दियाबाट पढ्न आएका कक्षा ७ का छात्र वीरेन्द्र चौलागाईंले भने, ‘पहाडको ठाउँ भए पनि यहाँको सुविधा र पढाइ दुवैबाट म सन्तुष्ट छु ।’ कालीकोट पुष्कर अधिकारीले पनि अन्य जिल्लाका संस्कृत विद्यालयको तुलनामा यहाँ राम्रो पढाइ हुने गरेको दाबी गरे ।


संस्कृत शिक्षाले हिन्दु धर्म, संस्कृतिको माध्यमबाट जीवन बाँच्ने पद्धति सिकाउने भएकोले आफ्नो छोरालाई पढाएको स्थानीय अभिभावक चन्द्रप्रसाद खतिवडाले बताए । संस्कृत शिक्षा लोप हुने अवस्थामा रहेको र यसको जगेर्नाका लागि सबैले यस विद्यालय चलाउन सहयोग गरेको उनको भनाइ छ । विद्यालय सञ्चालनका लागि बेलाबेलामा पुराण लगाएर त्यसबाट संकलित रकम अक्षयकोषको रुपमा स्थापना गरिएको छ । हाल विद्यालयसँग २० रोपनी जग्गा र ७ वटा गाई छन् ।

प्रकाशित : पुस २८, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?