१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सगरमाथा विमानस्थल बन्दै

विमानस्थल निर्माणका लागि करिब ३५ हजार ५ सय ४१ रुख कटान हुने प्रारम्भिक अनुमान गरिएको भए पनि त्योभन्दा ५ हजार कम रुख काटिने

उदयपुर — दुई वर्षअघि रोकिएको सगरमाथा विमानस्थल निर्माण पुनः सुरु भएको छ । त्रियुगा नगरपालिका २ जोगिदहस्थित कंग र मोथिहयी सामुदायिक वन क्षेत्रमा निर्माण हुने आन्तरिक विमानस्थल निर्माणका लागि काटिने रुखको लगत संकलनसँगै काम सुरु भएको छ ।

सगरमाथा विमानस्थल बन्दै

विमानस्थल निर्माणका लागि करिब ३५ हजार ५ सय ४१ रुखहरू कटान हुने प्रारम्भिक अनुमान गरिएको थियो । तर त्यो भन्दा ५ हजार कम रुख काटिने देखिन्छ । विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेपछि काम रोकिएको थियो । ३ वर्ष पहिले नै सार्वजनिक सुनुवाई गरी नेपाल नागरिक उड्ययन प्राधिकरण बबरमहल काठमाडौको तर्फबाट परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्राईभेटले तयार पारेको करिब ८ सय पृष्ठ लामो अध्ययन प्रतिवेदनमा स्थानीयले राय सुझाब दिएका थिए ।


तर सम्बन्धित मन्त्रालय र सरोकारवाला गहन अध्ययन र विश्लेषण गरी निर्णय गर्ने भनी आनाकानी गरिरहेका थिए । सरकारको पहिलो प्रथामिकता आयोजनामा जनसंख्या तथा वातावरण मन्त्रालयको ०७४ माघ ७ को प्रधानमन्त्री स्तरीय निर्णयबाट वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई स्वीकृति प्रदान गरेको थियो । सरकारले प्रतिवेदन स्विकत गरेसगै उदपुरबासीको चार दशक लामो विमानस्थल बन्ने सपना पुरा हुने विश्वास लिएका छन ।


विमानस्थल निर्माणको परामर्श दाता प्याक्ट नेपालका महेन्द्रनाथ स्वुेदीले प्याक्ट कन्सल्ट्यान्टले २ बर्ष समय खर्चेर सर्बेक्षण एवम् स्थलगत अध्ययन गरी त्यसबाट हुने राम्रो र नराम्रो दुवै पक्षको मूल्याङ्कन सहितको प्रतिवेदन तयार गरीएको जनाइएको छ ।


सुबेदीका अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्नुको औचित्य, प्रस्तावित आयोजना, वर्तमानको वातावरणीय अवस्था, भौतिक वातावरण, जैविक वातावरण, सामाजिक, आर्थिक, साास्कृतिक वातावरण, वातावरणीय प्रभावको बैकल्पिक विश्लेषण, वातावरणीय न्यूनीकरणका उपाय र प्रचलित ऐन नियमहरू समेतको सुष्म अध्ययन गरी प्रतिवेदन तयार पारिएको हो ।


प्राधिकरणका ईन्जिनियर सत्यनारायण दुलालले ‘एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड’ निर्माण गर्ने नेपाल सरकारको घोषित नीति अनुसार नैत्रियुगा नगरपालिका– २ जोगिदहमा एटिआर ७२ डिजाइनको जेटस्टिम एभ्रो बिमान उडान र अबतरण गर्न सक्ने विमानस्थल बनाउन लागिएको वताएका थिए । दुलालका अनुसार १ हजार ७ सय ५० मिटर लामो र ३० मिटर चौडाई भएको धावन मार्ग, २ सय मिटर लामो र ६० मिटर चौडाईको एप्रोन सहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी वे २ वटा समेतको लागि १ हजार ५६ दशमलव ११ हेक्टर वन क्षेत्रको जग्गा अधिकरण गरिने छ ।


वर्षातको समयमा कुहिरो नलाग्ने तथा हिउँदको समयमा हुस्सु पनि नलाग्ने यहाँको प्राकृतिक वातावरण अत्यन्त राम्रो भएकोले बाह्रै महिना बिमान उडान र अबतरणमा मौसमको कुनै प्रतिकुलता नहुने हुदा यो बिमानस्थल निर्माण भएपछि काठमाडौबाट पूर्वी नेपालको जनकपुर, बिरटनगर, भद्रपुर, खोटाङ्ग, भोजपुर र सोलुखुम्बु लगायतका पहाडी जिल्लामा रहेका बिमानस्थलको हबको रुपमा बिकास गर्न ‘टच फ्लाइट’ को समेत अध्ययन गरिएको प्रधिकरणले जनाएको छ ।


तत्कालिन गृह सहायक मन्त्री नरसिंहभक्त तुलाचनले ०३१ मा पहिलो पटक गाईघाटको विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । तर, त्यसपछि कुनै काम हुनसकेन । त्यसैले लामो समयदेखि उदयपुर जिल्लामा विमानस्थल निर्माण हुन सकेको थिएन ।


सदरमुकाम गाईघाटदेखि १० किलोमिटरको दुरीमा रहेको त्रियुगा नगरपालिका–२ जोगिदहस्थित सिमलटार क्षेत्रमा मोथियाही र कंग वन उपभोक्ता समुहले संयुक्त रुपमा १ सय ५ बिगाहा जमिन बिमानस्थल निर्माण गर्ने प्रयोजनका लागि नागरिक उड्यन प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ ।


‘विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणले २०७१ साल कात्तिक १९ गते परिपत्र गरी आवश्यक जग्गाको ब्यवस्था गर्न भनेको थियो’ सगरमाथा बिमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष बिरेन्द्रकुमार बस्नेतले भने, ‘वन क्षेत्रको सहमति लिन, कुल लागतको तीन प्रतिशत खर्च जुटाउन र सुरक्षाको ब्यवस्था मिलाउन निर्देशन समेत दिएको थियो ।’ प्राधिकरणले भने वमोजीमै निर्माणका लागि सबै काम पुरा गरी सकेको उनले बताए ।


तर, झन्झटिलो कानुनी प्रावधान र काठमाडौका सुविधा सम्पन्न उच्च तहका कर्मचारीहरूबाट बारम्वार एकपछि अर्को कुरा मिलेन भन्दै झमेला झिकि रहने गरेपछि निर्माणको काम शुरु गर्न ढिलो भएको अध्यक्ष बस्नेतले बताए । ‘प्रस्तावित बिमानस्थल नजिकै नेपाली सेनाको १८ नं बाहिनी अड्डा रहेकोले सुरक्षाको कुनै चिन्ता छैन’ अध्यक्ष वस्नेतले भने,‘ यो ठाउँ सगरमाथाको फेदीमा रहेकोले दोलाल घाटदेखि चतराघाटसम्म सुनकोशीमा र्‍याफ्टिङ गर्न आउने देखि लिएर कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्ना हेर्न आउने पर्यटकहरूका लागि निकै सहज हुने छ ।’

‘पर्वतीय उडानको समेत प्रचुर सम्भावना छ’ उपभोक्ता समिति सचिव प्रमेश्वर घिमिरेले भने, ‘विमानस्थल निर्माणका लागि एक करोड रुपियाको बजेट समेत यस अघिकै सरकारले बिनियोजन गरेको थियो ।’ विनियोजित रकमबाटै वातावरणीय प्रभाव मूल्याकन गरिएको उनल बताए ।


कंग र मोतियाही वन समुहको क्षेत्रमा विमानस्थल निर्माण हुन लागेको हो । विमान स्थलको स्क्याच भित्र अहिले १ सय ५६.११ हेक्टर क्षेत्रफल पर्ने बताईएको छ । त्यसमा पनि विमान स्थल निर्माणका लागि १ सय ५ हेक्टर र ५१ हेक्टर बगैचा लगायत निर्माणका लागि प्रस्ताव गरिएको छ । प्रतिवेदनमा विमान स्थल समुद्री तहबाट १ सय २५ देखि १४८ मिटरको उचाईमा रहेको सबै मौसमा विमान सञ्चालन हुने सक्ने उपयुक्त मौसम रहेको उल्लेख गरिएको छ । प्रस्तावित विमान स्थल क्षेत्रमा ८४ प्रजातिका जंगली जनावर पाइन्छ ।


विमानस्थल जैविक तथा वातावरणीय हिसाबले पनि उपयुक्त रहेको नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणका अनुसार बिराटनगरको क्षेत्रीय विमानस्थलको भन्दा धावन मार्ग (रन–वे) लामो भएकाले पनि यसलाई पुर्वकै विमानस्थलमध्ये क्षेत्रिय विमानस्थल हबका रुपमा विकास गरी प्रयोग गर्न सकिने छ ।

पूर्व पश्चिमको धावन मार्ग भएको तथा उडान र अवतरणका बेला कुनै पहाडले छेक्न नसक्ने भू–बनोट रहेकोले आकस्मिक अवतरण गर्न समेत सक्ने प्रदेश १ का खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका बिमानस्थलमा मौसमी समस्या आउँदा यहाँ अबतरण गर्न सक्ने हबको रुपमा बिकास गर्न सकिने डिजाइनमा संलग्न इन्जिनियर राजीब बरालले बताए ।


विमानस्थल निर्माणका लागि प्राधिकरणले सर्भेको काम सकेर वातावरणीय प्रभाव अध्ययन मुल्याङ्गकनको प्रतिवेदन सार्वजनिक गरी स्विकृतिसमेत भइसकेको छ । तर निर्माणस्थलमा रुख कटानले रोकिएको निर्माणको कामलाई अघि बढाउन त्रियुगा नगरपालिका १०, चौदण्डीगढी नगर १० र प्रदेश सांसद हिमाल कार्कीको संसदीय कोषबाट ५ लाख गरी २५ लाख बजेटको ब्यवस्था गरिको छ ।


प्रारम्भिक रुपमा ३५ हजार ५ सय ४१ रुख कटान गर्नुपर्ने देखिए पनि अहिले करिब ३० हजार रुखमात्र रहेको लगत संकलनमा सलग्न वन प्राबिधिक नेत्र रेग्मीले बताए । ‘आइतबारसम्म २४ हजार रुखको लगत संकलन गरिएको छ’ रेग्मीले भने, ‘बाँकी ५/६ हजार रुखको लगत संकलन चाँडै सकिन्छ ।’

प्रकाशित : पुस २७, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?