कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतपट्टिको सडक पर्खंदै चिवाभञ्ज्याङ

नेपालले सिमानासम्म सडक पुर्‍याइसक्दा भारततर्फको सडक जोडिने अत्तोपत्तो छैन । चीनको सिमाना छिचोल्न ७ किलोमिटर मात्रै बाँकी छ ।
आनन्द गौतम

(चिवाभञ्ज्याङ, पाँचथर) — सदरमुकाम फिदिमबाट तीन दिन हिँडेपछि पुगिने पाँचथर फलैंचाका रामचन्द्र खनाललाई मध्यपहाडी लोकमार्ग बन्छ भन्दा पत्यार लाग्दैनथियो । त्यतिबेला रेडियो, एफएममा समाचार सुन्दा उनलाई अनौठो लाग्थ्यो । 

भारतपट्टिको सडक पर्खंदै चिवाभञ्ज्याङ

उनीजस्तै धेरैले पत्याएका थिएनन् । ०६४ सालमा स्काभेटर लगाएर सडक निर्माण सुरु भयो । त्यसबेला पनि उनलाई कोट्याउँछन् र छाड्छन् जस्तै लाग्यो । जब सडक मेची राजमार्गको गणेश चोकमा जोडियो अनि उनको धारणा फेरियो । ‘त्यसपछि भने जंगलछेउ बस्नेका पनि दिन फिर्दोरहेछ भन्ने लाग्यो,’ उनले भने । डढाल्नामा ढाकर बोकेर पसिना चुहाउँदै धरानबाट नुन, तेलको भारी खेपेका उनी गाडीमा यात्रा गर्दा मख्खै परे । तक्माले अड्याउँदै ढाकर बोकेको गोरेटो बाटो छाडेर मोटरमा गुडिरहँदा सुरुमा सपना पो हो कि जस्तो लागेको उनले सुनाए । ‘अब त बानी परिसकेँ,’ उनले भने ।


पाँचथरको च्याङ्थापूदेखि बैतडीसम्म निर्माण गर्ने योजनाका साथ सुरु गरिएको मध्यपहाडी लोकमार्ग दुबै जिल्लाका सिमानासम्मै विस्तार भए । पाँचथर र बैतडी भारतसँग सिमाना जोडिएका जिल्ला हुन् । पाँचथरको चिवाभञ्ज्याङ र बैतडीको झुलाघाट भारतसँग जोडिएका सिमावर्ती नाका हुन् । नेपालले सिमानासम्म सडक पुर्‍याएपछि स्थानीय उत्साहित छन् । तर, नेपालले सिमानासम्म पुर्‍याएको वर्षौं भइसक्दा पनि भारततर्फको सडक जोडिने अत्तोपत्तो छैन । चिवाभञ्ज्याङमा भारतबाट सडक जोडिन बाँकी छ भने झुलाघाटमा पुल बनाउन । उमेरले ७४ पुगेका खनाललाई अब गाडीमै चढेर सिक्किम पुग्ने चाहना चाहिँ पूरा नहोला कि जस्तो लाग्छ । चिवाभञ्ज्याङ जाने जो कोहीलाई उनले एउटै प्रश्न सोध्छन्, ‘सिक्किमको सडक कहाँ आइपुग्यो ?’ तर, हरेकको जवाफ एकै हुन्छ, ‘जहाँको त्यहीँ छ ।’


स्थानीयले भौतिक योजना तथा निर्माण मन्त्रालयका अधिकारीदेखि मन्त्रीसम्मलाई भारतसँग पहल गरेर सडक चाँडो जोडिदिन आग्रह गर्दै आएका छन् । अहिले त आफ्नै जिल्लाको भएकाले भौतिक मन्त्री वसन्तकुमार नेम्वाङलाई बधाई दिँदादेखि नै यो आग्रह गर्न थालेका छन् । मध्यपहाडी लोकमार्गको परिकल्पनाकार आफू र पत्नी हिसिला यमी भएको भन्दै गत वर्ष माघमा चिवाभञ्ज्याङ आएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि उनीहरुले यही आग्रह गरेका थिए ।


भारततर्फको सडक जोडिए द्विदेशीय व्यापारको सुरुआत हुने र पर्यटकको संख्यामा वृद्धि हुने बुझाइ स्थानीयको छ । गाडीमै चढेर सिक्किमको राजधानी गान्तोक पुग्ने रहर भएकाहरू भारतीय पर्यटक आउने र आफ्नो जिल्लामा पनि व्यापार, व्यवसाय फस्टाउनेमा आशावादी छन् । तर, सडक जोडिनमा भएको ढिलाइप्रति उनीहरू जानकार छैनन् ।


भारतको सिक्किम राज्यका मुख्यमन्त्री पिएस गोलेका प्रेस सल्लाहकार चन्द्रप्रकाश भट्टराई (सीपी शर्मा) सडक जोडिने तर मिति यकिन गर्न नसकिने बताउँछन् । उनका अनुसार राष्ट्रिय निकुञ्ज, वन क्षेत्र भएकाले केही समय लाग्नसक्छ ।


भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्की मध्यपहाडी लोकमार्ग भारतसँग जोड्ने भन्दा पनि नेपालकै पूर्वपश्चिम जोड्ने उद्देश्यले निर्माण गरिएको बताउँछन् । ‘पहिला च्याङ्थापुदेखि बैतडीसम्म निर्माण गर्ने भनिएको थियो, पछि सिमानासम्म पुर्याउँ भनेर लम्ब्याइएको हो,’ कार्कीले थपे, ‘यो हाम्रो क्षेत्राधिकारमा नपर्ने भएकाले वाणिज्य विभागले भारतसँग पनि समन्वय त गरिरहेको छ ।’ यसको उपयोगिता, सुरक्षा लगायतको विषयमा ध्यान दिएको हुनसक्ने सडकका अधिकारीहरू बताउँछन् ।


विश्वकै दुर्लभ रेडपाण्डा, पोखरी र रमणीय क्षेत्र भएकाले सडक बनेसँगै यसकै आधारमा यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने आशा सीमा क्षेत्रका नेपालीलाई छ । ताप्लेजुङको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीको तथ्यांकअनुसार झापा, मोरङ, सुनसरीपछि भारतको सिक्किमबाट ताप्लेजुङको पाथीभरामा धेरै तिर्थयात्री आउँछन् ।


यो नाका खुले भारतीय पर्यटक यही मार्ग भएर आउने भएकाले व्यापार र व्यवसाय बढ्छ भन्ने आशा पनि उनीहरुमा छ । चिवाभञ्ज्याङ नेपाल र भारतको पुरानो सिमाना भएकाले यस्को सम्मानका लागि पनि नाका चल्नुपर्ने स्थानीयको माग छ । गत वर्ष एक महिने जनसंवादमा निस्किएका भट्टराईले पनि राजधानी पुगेर भारतसँग जोड्ने विषयमा पहल गर्ने बताएका थिए । उनले व्यक्तिगत रुपमा पनि सिक्किम र भारत सरकारसँग कुरा गर्ने जनाएका थिए । तर, यसको अनुभूति गर्न नपाएको गुनासो स्थानीयको छ ।


सिक्किमको उत्तरे बजार छेउसम्म सडक पुगेको छ । चिवाभञ्ज्याङदेखि जुलाघाटसम्म १ हजार ७ सय ७६ किलोमिटर सडक छ । राजमार्ग भएर पश्चिम जानुभन्दा छिमेकी सिक्किमसँग व्यापारिक लाभ हुने भएकाले स्थानीयको जोड सिक्किमतर्फको सडकमा बढी छ । चिवाभञ्ज्याङदेखि मेची राजमार्गको गणेश चोकसम्म अढाईदेखि तीन घण्टामा एकोहोरो यात्रा गर्न सकिन्छ । गणेशचोकदेखि च्याङथापुको बस्तीसम्म ‘टु–हिृवलर’ गाडी नै चल्छ । यहाँदेखि चिवाभञ्ज्याङ भने ‘फोर हिृवलर’ गाडीमा यात्रा गर्नुपर्छ । चिवाभज्याङमा भारतीय सीमा सुरक्षा बल र सिक्किम प्रहरी चौकी छ । यो सिमानादेखि नजिकै छ ।


नेपालतर्फ च्याङथापु बजारमा मात्रै प्रहरी चौकी छ । एकबाट अर्को देशमा आउजाउ गर्नका लागि प्रहरी चौकीको सिफारिस अनिवार्य हुन्छ । नेपालीहरू च्याङथापु आएर प्रहरीको सिफारिस लिएर जान्छन् । सीमा प्रहरी चौकीको तथ्यांकअनुसार नेपालबाट जाने धेरै हुन्छन् तर भारतबाट आउने अत्यन्तै न्यून ।


चीनतर्फ ७ किलोमिटर बाँकी

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट चीनसँगको नाका जोडिन अब ७ किलोमिटर मात्रै ट्रयाक खुल्न बाँकी छ । काठमाडौंको एसडी एलाईट निर्माण कम्पनीले गत वर्षदेखि सडकको ट्रयाक खोल्ने काम गरिरहेको छ ।


सदरमुकामबाट फक्तालुङ गाउँपालिका–६, लेलेपको इलालडाँडा झरनाको छेउमा पुर्‍याएको छ भने ओलाङचुङगोला तर्फबाट पार्टी भन्ने स्थानसम्म ट्र्याक खोलिसकिएको छ । फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले चीनको सीमासम्म पुग्न अब ७ किलोमिटर मात्रै बाँकी रहेको बताए । यही गतिमा काम भए अबको दुई/तीन महिनामानै सडकको ट्रयाक खुल्छ ।


तर, इलालडाँडातर्फ चट्टान भएकाले त्यहाँ केही समय लाग्ने ठेकदार कम्पनीका राजिव लामिछाने बताउँछन् । सदरमुकामबाट इलालडाँडा झरनासम्मको सडकमा भने साना सवारी साधन सहजै पुग्ने उनले बताए । ओलाङचुङगोला तर्फबाट जोङ्गिनसम्म यातायातका साधन आउन सक्छन् । यहाँदेखि पार्टीसम्म ट्र्याक खोल्ने काम भइरहेको छ । ठेकदारले चीनसँग सम्झौता गरेर उतैको मेसिन र जनशत्ति ल्याएर काम गराइरहेको छ ।


सडकको नियमनकारी निकाय उत्तर दक्षिण दोभान–ओलाङचुङगोला लोकमार्ग आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार यसै आर्थिक वर्षमा सडकले सिमाना जोड्ने उद्देश्य छ । एकातिरबाट मात्रै खन्दा ट्रयाक जोड्न ढिलाइ हुने भएकाले दुवैतिरबाट सडक निर्माण गरिएको हो ।


नेपालको मेसिन घुमाएर लैजान सकिने भएपनि तेल ल्याउन असहज हुने भएकाले चिनियाँ ठेकदारसँग साझेदारी गरेको निर्माण कम्पनीले बताएको छ । सम्झौताअनुसार चिनियाँ मेसिनले सिसेवासम्म १५ किलोमिटर ट्रयाक खोल्नेछ । यहाँसम्मको सिमाना तमोर नदीले छुट्याउँछ । सरकारले यो आयोजनालाइ बहुवर्षीय ठेक्कामा राखेको छ । तापेथोक र लेलेप जोड्ने तमोर नदीको रानी पुल भन्ने स्थानमा अस्थायी पुल बनेपछि गाडीमा लेलेपसम्म पुग्न सकिने प्रवक्ता छेतेन बताउँछन् ।


प्रकाशित : पुस २५, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?