२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

हिउँमा रमाउँदै सेल्फी

हिउँ खेल्नकै लागि तेह्रथुम र धनकुटाका उच्च भेगमा तराईदेखि भारत, विहारसम्मका पर्यटक पुगेका छन् । दुई दिनमै कारोबार ह्वात्तै बढेपछि होटल व्यवसायी हौसिएका छन् ।
चन्द्र कार्की

(तेह्रथुम) — धरानबाट ३ घण्टा टाढाको वसन्तपुरमा हिउँ खेल्न शनिबार हजारौं आन्तरिक पर्यटक भेला भए । पटके डाँडादेखि मिल्के भन्ज्याङसम्मका सडक र डाँडाकाँडा भरिभराउ हुन पुगे । 

हिउँमा रमाउँदै सेल्फी

तीनजुरे क्षेत्रमा हिउँ खेल्न सुनसरीको दुहबीस्थित सिद्धार्थ बैंकमा कार्यरत समिर चेम्जोङको समूह नै आरआर गार्डेन आइपुगेको थियो । सुनसरी र मोरङका विभिन्न विद्यालयबाट २ सयभन्दा बढी विद्यार्थी शुक्रबार बेलुकीदेखि नै बसेका थिए । उनीहरू हिउँमा विभिन्न आकृति बनाएर रमाए । 'पहिलो पटक हिउँ देखेको साह्रै रमाइलो भयो,' उन्नति पोखरेलले भनिन् । उनीहरू हिउँमा सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका देखिन्थे । शनिबार अन्य दिनको तुलनामा १० गुणा बढी सवारी पूर्वी तराईबाट अाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


हिउँ परेपछि स्थानीय पर्यटन र होटल व्यवसायी निकै उत्साही छन् । हिउँ पर्यटनकै कारण व्यवसाय बढेको वसन्तपुर भ्यु होटलका सञ्चाल क प्रकाश श्रेष्ठले बताए । सडकदेखि डाँडापाखा, जंगलसम्मै पर्यटकको चहलपहल देखेर दंग छन् उनी । भ्रमण वर्षको सुरुआती दिनमै पर्यटक बढेपछि पर्यटन व्यवसायमा उत्साह थपिएको होटल याकका सञ्च्ाालक पेम्बाछिरीङ भोटियाले बताए ।


तेह्रथुमको उच्च क्षेत्रमा प्रत्येक वर्षजसो हिउँ पर्छ । यस वर्ष दोस्रोपटक परेको हो । पूर्वी तराई र भारत, विहारबाट नजिकै रहेको तीनजुरे, मिल्के, जलजले क्षेत्रमा शनिबार मात्र ५ हजारभन्दा बढी पर्यटक आएको व्यवसायी छिरिङ लामाले बताए ।


कोही जिप भाडामा लिएर, कोही मोटरसाइकल त कोही सोही रुटमा चल्ने बसमा आएका छन् । तीनजुरे डाँडामा रहेको पाथीभरा मन्दिर दर्शन गर्न, फिल्म सुटिङ र घुमफिरका लागि पनि हजारौं आउने गरेको प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । यहाँ पर्यटकका लागि पर्याप्त होटल तथा लज भने छैनन् । रोजेजस्तो होटल र खाना-नास्ता नपाएकै कारण उनीहरू खिन्न देखिन्थे । पर्यटकीय क्ष्ाेत्रमा स्तरीय र पर्याप्त होटल नहुँदा बर्षेनी पर्यटकले समस्या भोग्दै आएको अर्का पर्यटन व्यवसायी धर्मराज खड्काले बताए । यहाँ गुफापोखरी, चौकी, मिल्के, जलजले, मुडेशनिश्चरे, लसुने तीनजुरे, पटेकडाँडा, मार्गापोखरीलगायत पर्यटकीय स्थल छन् ।


तीनजुरे, पटेकडाँडा, मेन्छयायाम डाँडालगायत स्थानबाट सूर्योदय, सूर्यास्त र हिमालको सुन्दर दृश्य देखिने गरेको विराटनगरबाट घुम्न आएका सन्तोष निरौलाले बताए । यहाँबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथालगायतका हिमश्रृखला अवलोकन गर्न सकिन्छ । पर्यटकले फर्किएर जाँदा चौंरीको छुर्पी, चिज, चौंरीको घ्यु, लेकाली फलफूलको वाइन, गुराँसको जुस, ढाका र खाँडीको कपडा, खुकुरी, लोकल कुखुरा, सुकुटीलगायत कोसेली लैजान्छन् ।


संखुवासभा, तेह्रथुम र ताप्लेजुङ प्रवेश गर्ने नुनथलामा करिब २ किलोमिटर सडकमा बाक्लो हिउँ जमेपछि पूर्वी तराईबाट आएका र त्यसतर्फ हिँडेका सयौं सवारी शुक्रबार रातिदेखि नैै रोकिएका छन् । शनिबार बेलुकीसम्म पनि यातायात खुलाउने प्रयास भइरहेको धनकुटाको सिंधुवाबाट खटिएका ट्राफिक प्रहरी जवान रामचन्द्र कटुवालले बताए । हिउँमा मोटरसाईकल चिप्लिएर दर्जनौं यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।


हिउँ खेल्नेको घुइँचो

धनकुटाको लेकाली भेकमा शुक्रबार रातिदेखि हिमपात भएको छ । ती स्थानमा हिउँ खेल्न शनिवार सयौंको संख्यामा स्थानीय जम्मा भए । छथरजोरपाटी गाउँपालिकाको नुनथलादेखि धनकुटा, तेह्रथुम र संखुवासभाका सीमावर्ती लेकाली भेकमा एक फिटसम्म हिउँ जमेको छ ।


हिउँ खेल्न पूर्वका सुनसरी, झापा, मोरङलगायत छिमेकी मुलुक भारतबाट समेत पर्यटक आएका छन् । नुनथला, चित्रेलगायत स्थानमा भीड बढी छ । हिउँ जमेपछि हिले-सिधुवा-वसन्तपुर सडक खण्डमा शनिबार बिहानैदेखि मध्यान्हसम्म यातायात अवरुद्ध भयो । शुक्रबार अपरान्ह ४ बजेदेखि सुरु भएको हिमपात राति पनि नथामिएको स्थानीयले बताए । सडक खुलाउन नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेले जानकारी दिए ।


शनिबार बिदा भएकाले आसपासका स्थानमा पिकनिक खान जानेको समेत जमघट छ । पहिलो पटक हिउँ खेल्न पाएको सुनसरीको इनरुवाबाट आएकी अन्जु सुवेदीले बताइन् । झापाको दमकबाट पुगेका सन्जिव उप्रेतीले पनि हिउँमा रमाउँदा खुसी लागेको बताए ।

प्रकाशित : पुस २०, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?