३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चिसोमा भोकभोकै सुत्केरी

उदयपुर — कठ्यांग्रिने जाडो । थाकलले छाएको सानो झुप्रो । कटारी नगरपालिका–५ भुल्केमा रहेको त्यही झुप्रेमा ८ दिनयता २८ वर्षीया सुत्केरी चमेली तामाङ भोकभोकै बसिरहेकी छन् । खाने अन्न र लगाउने न्यानो कपडा नहुँदा नवजात शिशुसहित चमेली पुसको कठ्यांग्रिएर बस्न विवश छिन् ।

चिसोमा भोकभोकै सुत्केरी

श्रीमान् मानबहादुर मगर सुस्त मनस्थितिका छन् । तैपनि दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने मगरको पुस १० गते छोरा जन्मिएको हो । दुई वर्षअघि जन्मिएकी छोरी लक्ष्मी काखमा खेल्दै गरेको समयमा कान्छो छोरो जन्मिएपछि तिनको समेत स्याहार हुन सकेको छैन ।


‘घरमा खाने अन्नपात छैन,’ चमेलीले भनिन्, ‘लगाउने न्यानो लुगा नहुँदा आगो बालेर दिन बित्छ । ओढ्ने र ओछयाउने पनि छैन ।’ सुत्केरी भएयता उनी बिरामी परेकी छन् । जेठी छोरी जन्मिँदा श्रीमान्ले ज्याला मजदुरी गरेर पनि स्याहारेका थिए । तर उनी नै बिरामी भएपछि बिजोग भएको हो ।

मानबहादुर पहिले जस्तो काम गर्न सक्दैनन् । माइतीतिरको आर्थिक अवस्था पनि दयनीय भएकाले उनीहरूलाई भरथेग हुन सकेको छैन । ‘सुत्केरी भएपछि श्रीमान्ले जसोतसो एक पाउ कुखुराको मासु ल्याएर खुवाए,’ चमेलीले भनिन्, ‘अरु बेला तातो पानीबाहेक झोल कुरा खान पाएको छैन ।’

चमेली र मानबहादुरले ४ वर्षअघि भागी विवाह गरेका थिए । ओखलढुगाको सिस्नेरी घर भएका अन्दाजी ५०/५५ वर्षका मानबहादुर कटारी बजारमा ज्याला मदजुरी गर्दा गर्दै चमेलीसँग विवाह भएको थियो ।


पहिले जंगल छेउमा झुप्रो बनाएर बसेका थिए । त्यही झुप्रो पनि आगलागीमा नष्ट भएपछि ससुरालीनजिकै अर्को झुप्रो बनाएर उनीहरू बसेका हुन् । आगलागीमा मानबहादुरको नागरिकता पनि जलेको थियो । नागरिकता नहुँदा विवाह दर्ता र छोरीको जन्म दर्ता हुन नसकी स्थानीय तहबाट पाउने सेवा सुविधाबाट समेत उनीहरू वञ्चित छन् । नगरपालिकाबाट सुत्केरीलाई विभिन्न सहयोग दिने गरे पनि चमेलीले अहिलेसम्म कुनै किसिमको सहयोग पाएकी छैनन् । ‘अब छोराको न्वारान र लालनपालन कसरी गर्ने चिन्ता लागिरहेको छ,’ उले भनिन् ।

प्रकाशित : पुस १९, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?