चौदण्डीगढी घुम्न पर्यटकलाई निम्तो

(उदयपुर) — नेपाल भ्रमण वर्ष २०२० सन्दर्भमा चौदण्डीगढी नगरपालिकाले ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्र घुम्न पर्यटकलाई निम्ता दिएको छ । दरबार क्षेत्रमै विशेष कार्यक्रम आयोजना गरी यसरी निम्तो गरिएको हो । दरबार क्षेत्र पुग्न यातायात, होटल, विद्युत् र सञ्चारलगायत पूर्वाधार तयार भएको नगरपालिकाले जनाएको छ । चौदण्डीगढी जिल्लाकै प्रमुख ऐतिहासिक र पर्यटकीय गन्तव्य मानिन्छ । 

चौदण्डीगढी घुम्न पर्यटकलाई निम्तो

उत्तरमा दूधकोशी नदी र दक्षिणमा चुरे पहाड रहेको तत्कालीन सेन वंशीय राज्यको राजधानी चौदण्डीगढी नेपालकै एक ऐतिहासिक र पुरातात्विक स्थल हो । इतिहासमा उल्लेख भएअनुसार विसं. १७९० देखि जगत सेन, विक्रम सेन, हरि सेनलगायतका चार पुस्तालेचौदण्डीगढी दरबारमा रहेर राज्य चलाएका थिए ।


गोर्खालीहरूको विजय अभियानसम्म पनि पूर्वको महत्वपूर्ण राज्यको राजधानीका रुपमा रहेको यो ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थानमा हाल भग्नावशेष मात्र बाँकी छ ।


‘नगरपालिकाको नामसँग जोडिएको चौदण्डीगढीमा पुरातात्विक महत्व बोकेका देवीदेवताका मूर्ति, ढुंगाका सामग्री छन्,’ नगरप्रमुख खगेन्द्र राईले भने । ‘चौदण्डीगढीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिँदै छ’ १ नम्बर वडाध्यक्ष रोहित तामाङले भने, ‘भम्रण वर्षको शुभारम्भसँगै दरबार क्षेत्रबाटै पर्यटक (आन्तरिक/बाह्य) लाई निम्ता गरिएको छ ।’ पर्यटकको सुविधाका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले भ्रमण वर्षको अवसरमा देश विदेशबाट पर्यटक चौदण्डीगढी घुम्न आउने विश्वास गरिएको उनले बताए ।


भ्रमण वर्षको शुभारम्भ गरेकै दिन बुधबार करिब ७ हजार आन्तरिक पर्यटक चौदण्डीगढी दरबार क्षेत्रमा आएको नगरपालिकाले जनाएको छ । दरबार क्षेत्रमा आउने पर्यटकका लागि वर्षैभरि स्थानीय उत्पादन कोदो, मकै, भटमास, गुन्द्रुक, सिस्नो, स्थानीय कुखुरा, खसीबोका र सुँगुरको मासुका परिकारले स्वागत गरिनेछ । त्यसैगरी विभिन्न जातजातिका साँस्कृतिक पहिचान झल्किने कार्यक्रम (लोक नृत्य) समेत प्रस्तुत गरिने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस १८, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?