१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भ्रमण वर्षको पहिलो दिन : एक रुपैयाँमै खाना र बास

प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको हिस्सा १ दशमलव ९५ प्रतिशत छ । ५ वर्षभित्र ५ प्रतिशत पुर्‍याउँछौं : मुख्यमन्त्री राई
प्रदेश १ ब्युरो

विराटनगर — नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार प्रदेश १ का विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको छ । प्रदेश राजधानी विराटनगरमा भ्रमण वर्ष शुभारम्भ कार्यक्रम गरिएको थियो ।

भ्रमण वर्षको पहिलो दिन : एक रुपैयाँमै खाना र बास

इलाम र ताप्लेजुङलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको सम्मान र पहिलोपटक आइपुग्नेलाई एक रुपैयाँमा खाना र बासको सुविधा जस्ता विशेष कार्यक्रम पनि गरिएको छ ।


ताप्लेजुङ पुगेका विदेशी पर्यटकलाई सम्मान गरियो । हिमालयन गाइड्स एक्सपिडिसनबाट आएका दुई जना र मेवाखोला हिल रिसोर्ट तथा ताप्लेजुङ गेष्ट हाउसमा बसेका पाँच जनालाई सम्मान गरिएको हो । सुकेटार विमानस्थलमा आएका पाहुनालाई पनि फूलमाला र खादा लगाएर सम्मान गरिएको छ । स्वागतका लागि जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला लगायतको टोली खटेको थियो ।


निरौलाका अनुसार साँझ सदरमुकाम फुङलिङमा उद्योग वाणिज्य संघको आह्वानमा दीपावली लगायतको कार्यक्रम गरिएको छ । भ्रमण वर्षको अघिल्लो दिन सदरमुकाम फुङलिङको वीरेन्द्रचोकमा भ्रमण वर्षको लोगो बनाएर दीपावली गरिएको थियो । हेलिकप्टरबाट आएका भारतीय नागरिक सहितलाई पाथीभरा मन्दिरमा स्वागत गरिएको छ । पुरुषलाई नेपाली टोपी र महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका इञ्चार्ज धनराज तुम्वापोले बताए । वार्षिक ३ लाख तीर्थयात्री आउने पाथीभरामा यो वर्ष अधिक भारतीय नागरिक भित्र्याउन यहाँका समिति क्रियाशील छन् । यसका लागि सिक्किम, मनिपुर, दार्जिलिङ, सिलगुडी र कोलकातासम्म प्रचार गरिएको छ । प्रहरीको तथ्यांकअनुसार पाथीभरामा सिक्किमबाट धेरै नागरिक आउने गरेका छन् ।


इलाममा भ्रमण वर्ष सुरु भएको दिन विभिन्न ठाउँमा फरक कार्यक्रम आयोजना गरियो । रोङ गाउँपालिकाको कोल्वुङबाट भ्रमण वर्षको औपचारिक सुरुवात भएको थियो । सदरमुकाममा भने पहिलो पटक इलाम भित्रने ५ जना पर्यटकलाई १ रुपैयाँमा खानबस्नको व्यवस्था गरिएको छ । उनीहरुमा जापानका १ र बाँकी नेपाली पर्यटक थिए । सदरमुकाममा रहेका ग्रीन भ्यु, चियाबारी कटेज, हाम्रो पोखरेली, समिट होटल र ग्रीन सिटी गेस्ट हाउसले यस्तो अफर ल्याएको हो ।


इलाम नगरपालिका होटल एसोसिएसन र पर्यटन प्रवर्द्धन सरोकार समितिले पर्यटकलाई आकर्षित गर्न विभिन्न उपाय खोजेका हुन् । उनीहरूलाई इलामको पर्यटन सद्भाव दूतको रुपमा प्रमाणपत्र प्रदानसमेत गरियो । यस्तै इलामबाट काठमाडौंसम्म र काठमाडौंबाट इलामसम्म आउने एकजना पर्यटकलाई शुभेच्छा ट्राभल्सले निःशुल्क टिकटको व्यवस्था गरेको छ । पुस १६ गतेदेखि एक सातासम्म यो सुविधा उपलब्ध छ ।


उत्कृष्ट गन्तव्य बन्नेछ’

विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने बताए । त्यसका लागि १० वर्षे गुरुयोजना प्रदेश सरकारले निर्माण गरिरहेको उनले जनाए । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको हिस्सा हाल रहेको १ दशमलव ९५ प्रतिशतलाई अबको ५ वर्षमा ५ प्रतिशत पुर्‍याउने उनको भनाइ थियो । ‘यस प्रदेशमा मुलुकलाई विश्वसामु चिनाउने सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतहबाट सबभन्दा कम उचाइमा रहेको अरुण उपत्यका छ,’ उनले भने, ‘विभिन्न तालतलैया, सिमसार क्षेत्र, लालीगुँरासको राजधानी तीनजुरे मिल्के र केचनाकवल लगायतका स्थानहरू छन् ।’


पर्यटकीय क्षेत्रको विकासका लागि केचनाकवल–सगरमाथा फास्ट ट्र्याकलगायतका योजनाहरू कार्यान्वयन भइरहेको मुख्यमन्त्री राईले बताए । कार्यक्रममा प्रदेशका आदिवासी जनजातिको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । सगरमाथाको २४ पटक सफल आरोहण गरेका सोलुखुम्बुको खुम्बु–पसाङलहामु गाउँपालिका–५ का कामिरिता शेर्पा, धरानकी मिस एसिया यूनिभर्स २०१७ की पिंकी राजगरियालाई प्रदेशको पर्यटन सद्भावना दूतमा नियुक्त गरिएको छ । यस्तै, मिङ्मा शेर्पा, सानु शेर्पा र छाङदावा शेर्पा, मिङमा ग्याबु शेर्पा, दीपाश्री निरौला, मीरा राई र राजन अधिकारीलाई सद्भावना दूतमा प्रदेश सरकारले नियुक्त गरेको घोषणा गरेको छ ।


मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश १ ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बुधबार बिहान खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गरेको थियो । भ्रमण वर्षको अवसरमा विराटनगर नाकाबाट बुधबार बिहान नेपाल प्रवेश गरेका पर्यटकहरूलाई नेपाल–भारत मैत्री युवा संघले फूलमाला लगाएर स्वागत गरे ।

कार्यक्रममा प्रदेश सरकारले भ्रमण वर्षका लागि कुनै पनि ठोस योजना सार्वजनिक गर्न सकेन । जानकारी नगराएकाले भ्रमण वर्ष उद्घाटन समारोहमा प्रदेशसभा सदस्यहरूको उपस्थिति न्यून थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दलहरूका लागि बसाइ व्यवस्थापन गर्न नसकेकोले केही राजनीतिक दलका प्रतिनिधिहरूले कार्यक्रम बहिस्कार गरेर हिँडेका थिए ।

प्रकाशित : पुस १७, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?