१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हेलिकप्टरबाट पुष्पवृष्टि गरेर प्रदेश १ मा भ्रमण वर्षको उद्घाटन

प्रदेश सरकारले भ्रमण वर्षका लागि ठोस योजना सार्वजनिक गर्न सकेन
देवनारायण साह

मोरङ — प्रदेश सरकारले विराटनगरस्थित शहिद रंगशालामा हेलिकप्टरबाट पुष्पवृष्टि र हट बेलुन उडाएर भ्रमण वर्षको सुरुवात गरेको छ । सयौँको उपस्थितिमा भ्रमण वर्ष २०२० को उद्घाटन गरेका प्रदेश सरकारले यसका लागि कुनैपनि ठोस योजना सार्वजनिक गर्न सकेन । 

हेलिकप्टरबाट पुष्पवृष्टि गरेर प्रदेश १ मा भ्रमण वर्षको उद्घाटन

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने बताए । उनले संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी १० वर्षे गुरु योजना प्रदेश सरकारले निर्माण गरिरहेको र त्यो चाँडै सार्वजनिक गर्ने बताए ।


पर्यटन क्षेत्रको प्रदेशको कूल ग्राहृयस्थ्य उत्पादनमा हाल रहेको १ दशमलव ९५ प्रतिशतलाई अबको ५ वर्षमा ५ प्रतिशत पुर्‍याउने मुख्यमन्त्री राईको भनाइ थियो । ‘यस प्रदेशमा मुलुकलाई विश्व सामु चिनाउने सर्वोच्च सिखर सगरमाथादेखि समुद्री सतहदेखि सबभन्दा कम उचाइमा रहेको अरुण उपत्यका छ,’ उनले भने, ‘प्राकृतिक मनोरम दृश्यका साथै विभिन्न तालतलैया, सिमसार क्षेत्र, लालिगुँरासको राजधानी तिनजुरे मिल्के, केचनाकबललगायतका स्थानहरु पर्यटक लोभ्याउने यस प्रदेशमा छ ।’


उद्घाटन समारोहमा प्रदेशसभा सदस्यहरुको उपस्थिति न्यून थियो । जिल्लाका राजनीतिक दलहरुका लागि बसाई व्यवस्थापन हुन नसक्दा केही राजनीतिक दलका प्रतिनिधिहरुले कार्यक्रम बहिस्कार गरेर हिँडेका थिए ।


प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा पर्यटन पूर्वाधारका लागि १ अर्ब ५१ करोड बजेट विनियोजन गरेपनि हालसम्म कार्यान्वयन गर्न सकेको छैन । उक्त मन्त्रालयलाई ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्यटक यातायात सेवा व्यवसाय, साधारण पर्यटकस्तरीय होटल, टुर गाइड, ट्रेकिङ गाइडको दर्ता, नवीकरण, खारेजीको अधिकार भएपनि हालसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन ।


सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेका सय नयाँ गन्तव्यमा प्रदेश १ का २८ स्थान सूचीकृत भएका छन् ।

प्रकाशित : पुस १६, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?