खानी उत्खनन रोक्दै स्थानीय तह

(उदयपुर) — टोड्के गाउँ पहिरोको जोखिममा परेको भन्दै चौदण्डीगढी नगरपालिका–८ बेसारामा रहेको चुनढुंगा खानी सञ्चालनमा रोक लगाइने भएको छ । स्थानीय र जनप्रतिनिधिबीचको बैठकले खानी बन्द गर्ने निर्णय गरेको हो ।

तलबाट उत्खनन गरी चुनढुंगा निकाल्दा माथिल्लो क्षेत्रमा रहेको टोड्के गाउँ जोखिममा परेको छ । गाउँका २२ परिवार विस्थापित हुने अवस्था आएकोवडाध्यक्ष श्यामकुमार मगरले बताए । दुई दिनअघि वडा समिति र सरोकारवालाबीच बैठकमा खानी उत्खननबाट विभिन्न १४ खाले समस्या आउने विश्लेषण गरिएको थियो । पहिरोको जोखिम, पानीको मुहान सुक्ने खतरा र जैविक विविधतामा असर पुगेको स्थानीयको भनाइ छ ।


बेसारा क्षेत्रबाट केके लाइम इन्डस्ट्रिजले दुई वर्षयता चुनढुंगा उत्खनन गरिरहेको छ । कम्पनीले त्रियुगा नगरपालिका–७ मोहनपुरमा रहेको उद्योगमा चुनढुंगा लगेर कृषि चुन, रंगरोगन गर्ने चुन र पशुका दानामा आवश्यक पर्ने कच्चापदार्थ लगायत वस्तु उत्पादन गर्दै आएको छ ।


उत्खननका लागि कम्पनीले बेसारा क्षेत्रमा ४ दशमलव ९३ हेक्टर वन क्षेत्र भोगाधिकारमा लिएको छ । त्यसमध्ये शून्य दशमलव ५ हेक्टर मानव आवादी क्षेत्र हो । खानी तथा भूगर्भ विभागले कम्पनीलाई २०७५ वैशाख २६ गते उत्खननका लागि अनुमति दिएको हो । २०७५ जेठ १४ गते घरेलुमा दर्ता भएको कम्पनीलाई राष्ट्रिय योजना आयोगले २०७५ साउन २२ गते राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिएको छ ।


कम्पनीले खानी उत्खनन गर्दा मापदण्ड पूरा गरेको छैन । विभागले चुनढुंगा उत्खननका लागि अनुमति पत्र दिने क्रममा २२ वटा शर्त राखेको छ । शर्त स्वीकार गर्दै कम्पनीका सञ्चालक केशवकुमार बुढाथोकीले हस्ताक्षर गरेका छन् । शर्त नम्बर २ मा ‘दैनिक १ सय २० टनमा सीमित रही पहाडको माथिबाट तलतर्फ उत्खनन गर्दै जानुपर्ने, सोभन्दा बढी उत्खनन गर्नु परे विभागबाट स्वीकृत लिनुपर्ने’ उल्लेख छ । तर कम्पनीले ठीक उल्टो तल (सुनकोशी तर्फबाट) बाट माथितर्फ उत्खनन गरेको टोड्केका स्थानीय तथा सरोकार समितिका संयोजक होमबहादुर राईले बताए ।


त्यसैगरी सुनकोशी नदीको केही माथि उत्खनन कार्य हुने भएकोले ‘चेक ड्याम’ निर्माण गर्नुपर्ने शर्त पनि पालना भएको छैन । कम्पनीले वन तथा भूसंरक्षण विभागसँग गरेको सम्झौतासमेत उल्लंघन गरेको छ । विभागसँगको सम्झौतामा ‘वनस्पति विकासमा अवरोध पुर्‍याउने, जीवजन्तुको वासस्थानमा हानिनोक्सानी पुर्‍याउने, प्राकृतिक वा भौतिक स्वरुप बिगार्ने वा सिमसार क्षेत्रको पर्यावरणीय स्थिति प्रतिकूल असर पुर्‍याउने’ कार्य नगर्ने भनिएको छ । यी कुनै पनि शर्त कम्पनीले पालना नगरेकाले पर्यावरणीय असर पुगेको स्थानीय टोड्के टोल विकास संस्थाका अध्यक्ष भविन्द्र राईले बताए ।

प्रकाशित : पुस ११, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?