कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्थानीय तह सुस्त : देखावटी काममा मात्र ध्यान

सर्वसाधारण भन्छन् : टालटुले काममै बजेट सक्ने मेलो  शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र उद्यमशीलतामा ध्यान गएन
डम्बरसिं राई

खोटाङ — स्थानीय तहहरूले योजनाविना हचुवाका भरमा बजेट खर्च गर्ने गरेको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र उद्यमशीलतामा लगानी गर्न जनप्रतिनिधिहरूले कन्जुस्याइँ गरिरहेको भन्दै आलोचना हुन थालेको हो ।

स्थानीय तह सुस्त : देखावटी काममा मात्र ध्यान

‘युवा रोजगार र उद्यमशीलताविनाको समृद्धि परिकल्पना गर्न सकिन्न,’ रावाबेंसी गाउँपालिका–१ कुभिण्डेका रामबहादुर राईले भने, ‘स्थानीय तहले भने हावादारीमा पैसा सक्ने मेलो गरिरहेको छ ।’ रावाबेंसीका अध्यक्ष लीलानाथ निरौला भने विकासमा सबै वडा र सबै जनतालाई सहभागी गराइएको दाबी गर्छन् । २६ करोड रुपैयाँ बजेटमध्ये ११ करोड जति भौतिक विकासमा खर्च गर्ने योजना बनाइएको उनले बताए । यसबाहेक एक करोड ५० लाख कृषि र ५० लाख रुपैयाँ पशुमा खर्च गर्ने योजना बनाइएको निरौलाको भनाइ छ ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का युवा गोपाल आचार्य स्थानीय सरकारको कार्यसम्पादन ‘कस्मेटिक’ भएको बताउँछन् । स्थानीय सरकारले गरेका हरेक काममा कार्यकर्ता पोसिएकाले गुणस्तरहीन भएको उनको भनाइ छ । ‘गत वर्ष गरेको काम यो वर्ष चिनोबानो छैन,’ उनले भने ‘फेरि यो वर्ष पनि त्यही काममा योजना हालिन्छ ।’


अर्का युवा विशन राईको पनि धारणा यस्तै छ । नगरपालिकाबाट भएका कामहरू गुणस्तरहीन बनेको राईको तर्क छ । उनका अनुसार बुइपाको पञ्चदोबाटोमा निर्माण गरिएको हटिया ट्रस्टमा चरम अनियमितता भएको छ । ट्रस्ट तथा शौचालयमा करिब ७० लाख रुपैयाँ खर्च भएको छ । यसप्रति स्थानीयको चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको समेत स्थानीयको भनाइ छ ।


यद्यपि अख्तियारले छानबिन अघि नबढाएको स्थानीयको गुनासो छ । स्थानीय सरकारको अनियमितताबारे अभियान सञ्चालनको तयारी गरेको समेत राईले सुनाए । नगरले गरेका अन्य कामको पनि चर्को आलोचना भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित ३५ लाख विनियोजन भएको आँखा पोखरी र सोही नगरको वडा ६, १० र ११ को सिमानामा पर्ने ५९ लाख लागतको बगरेभञ्ज्याङस्थित ताल निर्माणलगायत काम आलोचित बनेको छ ।


मझुवागढीक्षेत्रको पर्यटकीय पदमार्ग १४ लाख ९५ हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित सीतादेवी मन्दिर १२ लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित धार्मिक तथा पर्यटकीय भुलभुले निर्माण ४२ लाख, साप्सुढाप २९ लाख ५० हजार, बुइपाको एलम्बरपार्क ९९ लाख लगायतका काममा खर्च गरिए पनि पारदर्शी नभएको गुनासो छ ।


मझुवागढी क्षेत्रमा सडकको बहानामा गरिएको वन विनाश लगायतका कामले नगरपालिकाले चौतर्फी आलोचना खेपिरहेको छ । यसबारेमा अख्तियारमा समेत उजुरी परेपछि छानबिनको चरणमा छ । जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएका विषयभन्दा अनुत्पादक काममा रकम खर्च गरिएको राईको धारणा छ । त्यसैगरी दिक्तेल बजारमा जडान गरिएका सीसी क्यामेरा र सडक बत्ती एक वर्ष नबित्दै बिग्रिएपछि चौतर्फी गुनासो छ ।


सीसी क्यामेरामा करिब १० लाख र सडक बत्तीमा एक करोड ८१ लाख ७२ हजार खर्च गरिएको छ । एक सय ६० सेट सडक बत्ती र १६ ठाउँ सीसी क्यामेरा नचलेपछि यसको बारेमा चौतर्फी आलोचना छ । यसको पाँच वर्षसम्म सम्बन्धित सप्लायर्सले बेहोर्न पर्ने भएकाले विराट इनर्जी प्रालिको धरौटी राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए ।


योजनाको शिलान्यास गर्न र निर्माण भएका संरचनाहरूमा शिलालेख टाँस्नमा केन्द्रित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का वडाअध्यक्ष रामचन्द्र राईले बताए । भौतिक संरचनालाई केन्द्रमा राखेर कृषि तथा पशुमा भने कम बजेट विनियोजन गरेको स्थानीयको गुनासो छ । नगरपालिका सूचना अधिकारी भट्टराईले भने कृषि तथा पशुमा ९० लाख, सात हजार बजेट छुट्याएको बताए ।


नगरप्रमुख दीपनारायण रिजालले कृषिको क्षेत्रमा उल्लेख्य काम भइरहेको दाबी गरे । उनलेदिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा कम्पोष्ट प्लान्ट उद्योग सुरु गरिएको बताए । यसका लागि एक करोड ५८ लाख बजेट विनियोजन गरिएको छ ।


हलेसी तुवाचुङ नगरपालिकामा पनि विकास निर्माणका काममा ढिलासुस्ती र गुणस्तरहीन बनेको गुनासा आएका छन् । सडक, खानेपानी लगायतका योजनाहरू गुणस्तरहीन बनेको गुनासा आएको हो । नगरपालिकामा दूधकोशीको तान्न गरिएको ९६ करोड रुपैयाँभन्दा बढीको पम्पिङ खानेपानी आयोजनाको काममा ठेकेदारको लापरबाहीले ढिलासुस्ती देखिएपछि अनुगमनमा आएका खानेपाी मन्त्रालयका सचिव माधव बेलबासेले आगामी असारसम्ममा सक्न ठेकेदारलाई निर्देशनसमेत दिएका छन् ।


आयोजनाको काममा ढिलासुस्ती भएको र काम पनि गुणस्तरहीन भएको लिखित निवेदन परेपछि योजना अनुगमन गर्न हलेसी आइपुगेका सचिव बेलबासेले दैनिक कार्यतालिका निर्माण गरेर पेस गर्न ठेकेदारलाई निर्देशन दिएका हुन् । उनले अनुगमन समिति गठन गरेर नियमित अनुगमनको व्यवस्था मिलाउन खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासलाई निर्देशन दिए ।


मुख्य लाइनको ठेक्का लिएको ठेकेदार कम्पनी दिवा–महादेव खिम्ती जेभी, वितरण लाइनतर्फको काम गरिरहेको लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको काममा चरम ढिलासुस्ती देखिएको छ । खानेपानी बाहेक सडकको काम पनि गुणस्तरहीन भएको स्थानीयको गुनासो छ ।


केपिलासगढी गाउँपालिकामा सञ्चालित योजनाहरू गुणस्तरहीन, ढिलासुस्ती र गाउँपालिका अध्यक्ष वरिपरि रहेको स्थानीयको गुनासो छ । गत वर्षदेखि उक्त गाउँपालिकाको भवन निर्माणमा बजेट विनियोजन गरे पनि भवन अपूरै छ । गाउँपालिकाले तीन करोड २२ लाख रुपैयाँको लागतमा भवन बनाउने योजना बनाएर उपभोक्ता समितिमार्फत क्रमागत रुपमा खर्च गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए । उक्त भवनका लागि गत वर्ष ९० लाख रुपैयाँ बजेट खर्च गरेको थियो । यो वर्ष पनि करिब ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष राईले सुनाए ।


गत वर्ष सञ्जय राईको अध्यक्षतामा बनेको उपभोक्ता समितिले उक्त रकम खर्च गरेको थियो । यो वर्ष पनि उनकै अध्यक्षतामा बजेट खर्च गरिने अध्यक्ष राईले सुनाए । स्थानीयले भने गाउँपालिका अध्यक्षका आफन्तले मात्र विकास निर्माणमा कब्जा जमाएको आरोप लगाएका छन् । भौतिक निर्माणका अधिकांश योजनाहरू गाउँपालिका अध्यक्षका आफन्तको पोल्टोमा रहेको केपिलासगढी गाउँपालिका वडा नं ५ सप्तेश्वरका वडाअध्यक्ष खगेन्द्र राईले बताए । ‘यो प्रवृत्तिले न गुणस्तरीय विकास हुन्छ, न बेलामा काम सकिन्छ,’ उनले भने ।


यसबाहेक ऐसेलुखर्क गाउँपालिकामा पनि गुणस्तरहीन विकास भइरहेको गुनासा आएका छन् । गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको र त्यो पनि प्राय: गुणस्तरहीन बनेको स्थानीयको गुनासो छ । ‘विकास भनेकै सडक हो भन्ने गाउँपालिका अध्यक्षको बुझाइ छ,’ स्थानीय भीम राईले भने, ‘अध्यक्षले बुझेको विकास गर्दा खेतबारी नष्ट हुनका साथै भूक्षेय समेत भएको छ ।’ गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले भने स्थानीयको मागको आधारमै सडक खनिएको दाबी गरे ।


दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि अवस्था उस्तै छ । वर्षेनी सडकमा रकम खर्च गरे पनि गुणस्तरहीन भएको स्थानीय दीपक पाण्डेले बताए । खोटेहाङ, जन्तेढुङ्गा, बराहापोखरी गायतका गाउँपालिकाहरूमा पनि गुणस्तरहीन काम, आफू वरिपरिका कार्यकर्ताहरूलाई विकासको जिम्मालगायतका कारण चौतर्फी आलोचना छ ।

प्रकाशित : पुस ९, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?