कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बहिरा विद्यार्थीको भत्ताले वनभोज !

विद्यालयले वितरण गरेको भत्ताको भरपाई । विद्यालयले भरपाइमा पाँच हजारको हस्ताक्षर गराएर बालबालिकाहरुलाई भने तिन हजार मात्रै वितरण गरेको छ ।
विनु तिम्सिना

विराटनगर — यहाँको एक विद्यालयले विद्यार्थीका लागि राज्यले उपलब्ध गराएको अपांगता भएको भत्ता दुरुपयोग गरेको छ । बहिरा विद्यार्थी पढाउने विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माविले यस्तो गरेको हो ।

बहिरा विद्यार्थीको भत्ताले वनभोज !

सुस्त श्रवणशक्ति भएका विद्यार्थीहरुका भत्ताबपतको रकम विद्यालयले वनभोज र कोचिङका नाममा खर्च गरेको छ ।

उक्त विद्यालयमा सुस्त श्रवणशक्ति भएका बालबालिका ३९ जना छन् । विराटनगर बाहिरबाट पढ्न आएका २८ जना विद्यालयकै छात्रावासमा बस्छन् । महानगरभित्रैका ११ जना घरबाटै धाउँछन् । महानगरपालिका कार्यालयले छात्रावासमा बस्नेका लागि मासिक ४ हजार र घरबाटै धाउनेका लागि ५ सय भत्ता विद्यालयलाई उपलब्ध गराउँछ ।

महानगरपालिका आर्थिक वर्ष २०७५/७६ को भत्ताको रकम गत मंसिरमा मात्रै निकासा गरेको थियो । मासिक ४ हजारमध्ये ५ सय उनीहरुलाई र बाँकी ३५ सय आवास खर्चका लागि विद्यालयलाई उपलब्ध गराइन्छ । सोहीअनुसार प्रत्येक विद्यार्थीहरुलाई विद्यालयले वार्षिक पाँच हजार भत्ता वितरण गर्नुपर्ने हुन्छ । तर मसिंरमा वितरण गरिएको गत आवको भत्ताको रकमले भने विद्यालयले वनभोजमा खर्च गरेको छ ।

पाँच हजार भत्ता लिएको भरपाइमा हस्ताक्षर गराएर विद्यालयले तीन हजार रुपैयाँमात्रै दिएको अभिभावकहरुले गुनासो गरे । पोखरियाका रविलाल कामतका छोरा सुशान्त कामत १० कक्षामा पढ्छन् । उनले भत्ताबापत पाँच हजार पाउनुपर्नेमा तीन हजारमात्रै पाएको बताए । ‘पाँच हजारको भरपाइमा सही गराउनुभयो, तर पैसा भने तीन हजारमात्रै दिनुभयो,’ उनले भने, ‘पिकनिक जाने, कोचिङ पढाउने र कम्प्युटर सिकाउने भनेर दुइ हजार रुपैयाँ कटाउनुभयो ।’

केही शिक्षकसहित उनीहरुलाई शुक्रबार झापाको जामुनखाडी वनभोज लगिएको थियो । तर वनभोजसमेत अव्यवस्थित भएको ४ कक्षाका पवन मण्डलले दोभाषेमार्फत गुनासो गरे । ‘पिकनिकमा खाना पनि राम्रो थिएन,’ उनले भने ।

कोचिङ पढाउने भनेर भत्ता बापतको रकम कटौती गरेको भए पनि नपढाएको अभिभावक रविलाल कामतले बताए । प्रधानाध्यापक विजय रौनियारले भने छात्रावासमा बस्नेलाई लागि विहान र बेलुका एक/एक घण्टा ट्युसन पढाइरहेको दाबी गरेका छन् । बाहिरका बालबालिकाहरु विद्यालय समयबाहेक नआउने भएकाले छात्रावासमा बस्नेलाई मात्रै ट्युसन पढाउने गरेको उनले बताए । यसका लागि अभिभावकहरुकै स्वीकृतिमा प्रतिविद्यार्थी एक हजार रुपैयाँ लिइएको उनको भनाइ छ ।

रौनियारले होस्टलमा बस्ने विद्यार्थीलाई मात्रै ट्युसनको व्यवस्था गरेको बताए पनि भत्ताबाट ट्युसन पढाउने भन्दै होस्टलमा नबस्ने विद्यार्थीसँग पनि वनभोजका लागि एक हजार र ट्युसनका लागि एक हजार रकम कटाइएको छ ।

रौनियारले भने आफुहरुले अभिभावक भेला गरेर नै प्रत्येक विद्यार्थीका अभिभावकलाई वार्षिक पाँच हजारका दरले भत्ता वितरण गरेको दाबी गरे । विद्यालयले कुनै पनि नाममा भत्ताको रकम कटौति नगरेको उनले दाबी गरे । ‘उनीहरुले पाउने पाँच हजार हो । हामीले अभिभावक बोलाएर बकैदा हस्ताक्षर गराएर पाँच हजार रुपैयाँ नै दिएका हौं,’ रौनियारले भने, ‘पिकनिक उनिहरु आफै पैसा उठाएर गएका हुन । पाउनुपर्ने रकम हामीले उपलब्ध गराएका छौं । कुनै पनि नाममा भत्ता कटौती गरिएको छैन ।’

सुस्त श्रवणशक्ति भएका विद्यार्थीको स्रोत शिक्षक शिलाराज नेपालीले भने विद्यार्थीहरुकै अनुरोधमा भत्ता बापतको रकमबाट वनभोज लगिएको बताइन् । ‘अरु विद्यार्थीहरु पैसा उठाएर पिकनिक गएपछि बहिरा बालबालिकाहरुले हामी पनि पिकनिक जाने भनेर जिद्दी गरे,’ उनले भनिन्, ‘उनिहरुकै अनुरोधमा भत्ता बापतको रकमबाट पिकनिक लगिएको हो ।’

विद्यार्थीकै अनुरोधमा वनभाेज लगिएको भने पनि अभिभावक संजिव पोखरेलले भने विद्यालयले ट्युसन र पिकनिक जाने भनेर विद्यालयले नै दुइ हजार काटेर भत्ता बापतको रकम तिन हजार उपलब्ध गराएको बताए । धनकुटा घर भएका पोखरलकी छोरी अनुसुइया पोखरेल विद्यालयकै आवासमा बसेर कक्षा १० पढ्छिन् ।

प्रकाशित : पुस ६, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?