कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सिंगो बस्ती मुढा बनाउँदै

पर्वत पाेर्तेल

कालिझोडा, झापा — मेचीनगर १२ कालिझोडाकी ७० वर्षीया स्वामीमाया राना मगर बिहान ४ बज्दा उठिसक्छिन् । नित्यकर्म सकेर मुढामा बुट्टा बनाउन थाल्छिन् । राति १० बजेसम्म उनको यो काम नियमित हो ।

सिंगो बस्ती मुढा बनाउँदै

बिरामी हुँदा होस् या अरु काममा उनी खर्चका लागि छोराछोरीको मुख ताक्दिनन् । ‘एक्लो ज्यानलाई पाल्न आफै कमाउँछु’, उनी भन्छिन् । नयाँ वस्तीकी ४५ वर्षीया दुर्गा शिवाकोटीको दैनिकी पनि उस्तै छ । सानो पसल पनि चलाएकी उनी मुढा पनि बुन्छिन् । दैनिक ७ वटासम्म मुढा बनाउँछन् । प्रतिगोटा सय रुपैयाँ कमाउँछिन् ।


मेचीनगर १२ का यी दुई गाउँमा करिव तीन सय घर छन् । घरैपिच्छे मुढा बुनिरहेको भेटिने गरेकाले ‘मुढा गाउँ’ पनि भन्ने गरिन्छ । शनि राजवंशी करिब २५ वर्षदेखि मुढा बुन्दै आएका छन् । ‘बुढाबुढीका लागि यसैले पुगिहाल्छ जस्तो लाग्यो’, उनले भने, ‘धेरै कमाउनेतिर लागिनँ ।’


शनिका अनुसार मुढा बुन्न प्रयोग हुने कच्चा पदार्थको दाम वर्षेनी वढेको वढदै छ । मुढाको भाउ भने बढेको छैन । प्लाष्टिकको डोरीको भाउ प्रतिकिलो २ सय ८० पुगेको छ । मुढाको बिटका रूपमा प्रयोग हुने साइकलका पुराना टायर एउटाको २० रुपैयाँ पुगिसकेको उनले बताए । स्थानीय बिस्कुट राजवंशीको ५ जनाको परिवारै मुढा बुन्नमा सक्रिय छ ।


बिस्कुटकी श्रीमती गीताले सुनाइन्,‘मुढाले परिवार मज्जाले पालिएको छ ।’ उनीहरूको घर सानो तिनो कारखाना जस्तै छ । दैनिक ७ दर्जन जति मुढा बुन्छन् । व्यापारी घरमै किन्न आउँछन् । १२ वर्षअघि बिस्कुट राजवंशी दुर्घटनामा परेर थलिएका थिए । घरधनी थलिएपछि घरको गर्जो टार्न गीतालाई हम्मे परेको थियो । त्यही बेला उनले यो व्यवसाय रोजेकी थिइन् ।


‘मुढा बुन्न सिकेर यो काम सुरु गर्‍यौ’, उनले सुनाइन्, ‘बाध्यताले यता लागियो, अहिले आम्दानी राम्रै छ ।’ मुढा काठमाडौ, पोखरासम्म पुग्छ । प्लाष्टिकको डोरीको बुट्टावाला मुढा १ हजार ७ सय प्रतिदर्जन विक्छ । भेल्वेट कपडाको डोरीले बुट्टा बनाएको मुढा अलि महँगो छ । दर्जनको २ हजार २ सयसम्ममा बिक्ने स्थानीय चन्द्रकुमारी पुरकोटी (सार्की) ले बताइन् ।


साढे तीन दशकदेखि


३५ वर्षअघि स्थानीय खड्ग सार्कीले मुढा बुन्न सुरु गरेका थिए । अहिले जति यो काममा छन् ती सबै उनैले सिकाएका हुन् । सार्की भने अचेल काठमाडौ बस्छन् । यो परिवार २०२७ सालतिर तेह्रथुमबाट आएर बसेको थियो । उनीहरू आउँदा जंगलमात्रै थियो । फाँडेर बस्ती बसाए । जीविकोपार्जनका लागि मुढा बुन्न सुरु गरे ।


सार्की परिवारमा पहिला त राँगा भैंसीका छाला प्रयोग गरेर मुढा बुन्थे । तर, एक पटक बाँसबारी छाला जुत्ता कारखानाले खड्ग सार्कीलाई मुद्दा हालेछ, झापामा उत्पादित छाला किनेर मुढा बुनेको भन्दै । यो मुद्दामा उनी करिब तीन महिला चन्द्रगढी जेल परेछन् ।


जेलमै मुढा बुन्न सिकेछन् । त्यही सीप गाउँलेलाई सिकाए । ‘सबैलाई सीप सिकाइयो, अहिले आफै छाडियो’, खड्गका सालो लेखवीर सार्कीले सुनाए । लेखवीर अहिले मुढा बुन्न छाडेर मुढामा प्रयोग हुने बाँसको रिङ मात्रै बनाउँछन् ।

प्रकाशित : पुस ५, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?