पर्यटन प्रवर्द्धनमा सघाउँदै चलचित्र : इलाममा 'म यस्ताे गीत गाउँछु-२' काे सुटिङ

विप्लव भट्टराई

इलाम — सुन्दरताले भरिएको क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने धेरै माध्यम छन् । यसमध्ये पछिल्लो समय प्रभावकारी देखिएको हो, फिल्म क्षेत्र । एकपछि अर्को चलचित्रको छायांकन इलाममा हुँदा यहाँको पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको छ ।

पर्यटन प्रवर्द्धनमा सघाउँदै चलचित्र : इलाममा 'म यस्ताे गीत गाउँछु-२' काे सुटिङ

योगेश घिमिरेको निर्देशनमा रहेको ‘नोटबुक’ चलचित्रले पूर्वी अन्तु र कन्याम क्षेत्रको प्रवर्द्धनमा गतिलै साथ दियो । नोटबुकको ‘गाला रातै’ गीतको दृश्यले धेरैलाई इलाम घुम्न लालायित बनायो ।


गाला रात्तैमा जीवन लुइँटेल र नीता ढुंगानाले अन्तुको चियाबारीमा लुकामारी खेलेको दृश्यलाई धेरैले रुचाए । यो गीतमा प्रस्तुत लेप्चा जातिको पहिरनले पनि राम्रै चर्चा बटुलेको थियो ।


घिमिरेकै निर्देशनमा बनेको ‘प्रेम दिवस’ ले इलामको सन्दकपुर, ढापपोखरी, अन्तु र कन्यामलगायतको क्षेत्रलाई राम्रै गरी समेट्यो । सन्दकपुर क्षेत्रमा सुटिङ भएको ‘आप्पा’ ले पनि त्यहाँबाट देखिने हिमालसहित त्यहाँको सौन्दर्यलाई पर्दामार्फत देशविदेश पुर्‍यायो । दयाहाङ राईसहितको टिमले त्यस क्षेत्रको जैविक विविधतादेखि कला संस्कृति सम्मलाई चलचित्रमा देखाएको थियो ।


‘इलामबाट हरियालीको पृष्ठभूमिमा खिचिएको हिमालको दृश्य नै गज्जब हुने,’ प्रेम दिवसका निर्माता सञ्जय न्यौपानेले भने, ‘हामीले फरक क्षेत्रको फरक स्वादलाई चलचित्रमा पस्केर पर्यटनमा पनि सघाउन खोजेका छौं ।’ अघिल्लो वर्ष नै रिलिज भएको ‘क्याप्टेन’ ले पनि इलामको सुन्दरतासँगै फुटवल क्रेजलाई उठाउने जमर्को गरेको थियो ।


पछिल्लो समय ‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युवमार्फत सार्वजनिक भएको छ । इलामका विभिन्न पर्यटकीय स्थलसहित पाँचथरको साधुटार, चाररातेलगायत क्षेत्रलाई समेटिएर सुटिङ गरिएको ‘तिम्रो घरको वरिपरी’ बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको हो ।


यो गीतमा इलामको पानीटार, इलाम चियावगान, माइपोखरी, गुफाथुम्की, टारी, पाँचथरको साधुटार र चारराते लगायतका ठाउँहरू समेटिएका छन् । यो गीतमा पल शाह र पूजा शर्माको अभिनय छ ।


पानीटारको सुन्दर चियाबारीको दृश्य, गुफापातलको पोखरीमाथि कलाकारको अभिनय र कञ्चनजंघा र कुम्भकर्णको काखमा रहेको चाररातेको नृत्य समेटिएको दृश्य मनमोहक छन् । टारीको धानबारीले दर्शकलाई छुट्टै आनन्द दिन्छ भने साधुटारको पोखरीमा परेको हिमालको छायाको स्वाद अझ विछट्टको छ ।


गीत रिलिज भएको २ दिन नपुग्दै १५ लाख ‘भ्यूज’ पाइसकेको छ । यसले गीतको आनन्दसँगै इलामको सौन्दर्य बुझ्न सघाउने फिल्म युनिटको भनाइ छ ।


यो क्षेत्रलाई प्राकृतिक स्टुडियोको रूपमा विकास गर्दै चलचित्र, टेलिसिरियल, म्यूजिक भिडियोलगायको सुटिङ गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले फिल्ममा ७० प्रतिशत दृश्य इलामका राखिएको निर्माणमा संलग्न मन्जरी कला केन्द्रका केवल तामाङले बताए ।


‘फिल्ममार्फत पर्यटन गतिविधि बढेका थुप्रै उदाहरण छन्,’ उनले भने, ‘यो गीत र फिल्मले पनि इलाममा ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रचार गर्न भरपुर सघाउनेमा आशावादी छौं ।’ गएको भदौ असोजमा छायांकन हुँदा मौसमको प्रतिकूलताले सताए पनि उद्देश्य बमोजिमका दृश्य यस क्षेत्रमा नै खिचिएको हो ।


फागुन २३ मा रिलिज हुने यो फिल्ममा दिनेश डिसी, सोनिका रोकाया, हरिहर शर्मालगायतको पनि अभिनय छ । चलचित्रको निर्देशन सुर्दशन थापाले गरेका हुन् ।

इलामका रमणीय क्षेत्रमा पछिल्लो समय फिल्म र म्युजिक भिडियो सुटिङ गर्ने क्रम बाक्लिएको हो । यी क्षेत्र घुम्न आएका धेरैले चलचित्र र गीतमा देखिएको सुन्दरताका कारण नै गन्तव्यमा परेको प्रतिक्रिया दिने गरेका छन् ।

प्रकाशित : पुस ३, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?