कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

साँघुरिँदै सदरमुकाम, तराई झर्ने सडक जताततै

विप्लव भट्टराई

(इलाम) — संघीयता कार्यान्वयनसँगै जिल्लामा दसवटा स्थानीय तह क्रियाशील छन् । धेरै सरकारी काम गाउँमै हुन्छ । वडादेखि पालिकासम्म पाइने सुविधासँगै सरकारी र निजी बैंकले पनि ग्रामीण क्षेत्रमा पहुँच विस्तार गरेका छन् । सरकारी काम मात्र नभएर ग्रामीण क्षेत्रमै मनग्य आर्थिक कारोबार बढेको छ । 

साँघुरिँदै सदरमुकाम, तराई झर्ने सडक जताततै

यसले सम्बन्धित क्षेत्रका बासिन्दालाई त सहज भएको छ तर परापूर्वकालदेखि सदरमुकाममा देखिँदै आएको चहलपहल भने घट्दो छ । संघीयता कार्यान्वयनसँगै सेवा सुविधा गाउँ केन्द्रित हुनु स्वाभाविक हो तर पुरानो बजार सदरमुकामलाई गुञ्जयमान बनाउन वैकल्पिक उपाय खोज्न ढिलो भइसकेको सरोकारवालाहरू बताउँछन् ।


पूर्वी जिल्लामध्येकै पुरानो इलाम बजार सुनसान बन्दै जानुमा एउटा मात्र कारण पर्याप्त छैन । पछिल्लो समय जिल्लाका पूर्वी तथा पश्चिमी भेगबाट तराई जोड्ने छोटा सडक निर्माणले तीव्रता पाउनु पनि एउटा मुख्य कारणका रूपमा छ । कारोबार घट्दै गएको इलाम सदरमुकामका व्यवसाय गर्ने अधिकांशको भनाइ छ । अहिले साना तथा ठूला व्यवसायमा अवसर देखिन थालेको हो । जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका छन् । कामका लागि गाउँ र नगरका केन्द्रमा घुइँचो बढेपछि ती क्षेत्रका बजार भने फस्टाउँदै गएका छन् । सेवाग्राहीको बाक्लो भीड लाग्ने, तत्कालीन जिविस, जिल्ला शिक्षा कार्यालय, कृषि, पशुलगायत कार्यालयको सेवा सम्बन्धित स्थानीय तहले प्रदान गर्ने भएपछि सदरमुकामले ठूलो झट्का बेहोर्नुपरेको छ ।


सडकले काटिँदैछ इलाम बजारलाई

देउमाई नगरपालिकाको मंगलबारेबाट मेची राजमार्ग फन्को मारेर झापाको बिर्तामोड पुग्न ११३ किमि दूरी पार गर्नुपर्छ । तर अहिले छोटो बाटो भएर जाँदा ५६ किमिमा बिर्तामोड पुग्न सकिन्छ । सरकारी कामका लागि सदरमुकाम धाउनुपर्दैन । सबै मंगलबारेमै हुन्छ ।


आवश्यक कामका लागि मेची राजमार्गको लामो दूरी र अनगिन्ती गोलाई पार गर्नै पर्दैन । मंगलबारेको गाग्रभन्ज्याङबाट जितपुर, सोयाक, दानाबारी हुँदै झापाको शनिश्चरे भएर सहजरूपमा बिर्तामोड पुग्ने सडक केही वर्षदेखि सञ्चालनमा छ । अधिकांश ग्राभेल सडक भए पनि बसदेखि साना सवारीका साधन चलिरहेका छन् । यो पटक गाग्रेभन्ज्याङबाट १४ किमि दक्षिण कालोपत्रे हुने त्यस क्षेत्रका प्रदेश सभासद राम रानाले बताए । ‘यो सडक खुल्दा स्थानीयले प्रत्यक्ष राहत पाएका छन्,’ उनले भने, ‘यहाँबाट छोटो दूरीमा सिधा सदरमुकाम जोड्ने सडक पनि निर्माणाधीन भएकाले सदरमुकामलाई ठूलो असर नपर्ला ।’ तर अधिकांश सरकारी कामकाज मंगलबारेमै हुने र तराईसँगको सम्पर्कका लागि इलाम बजार पुग्नै नपर्ने भएकाले पनि जिल्लाको पश्चिमी क्षेत्रका धेरै बासिन्दाका लागि इलाम टाढा बन्दै गएको छ ।


देउमाई नगरपालिकाले मंगलबारे बजारबाट राँके जोड्ने सडकलाई धमाधम निर्माण गरिरहेको छ । जसका कारण मेची राजमार्ग भएर तराई झर्नु भन्दा यो सडकबाट धेरै छिटो बिर्तामोड पुग्न सकिन्छ । ‘बिहान सबेरै मोटरसाइकलमा बिर्तामोड झरी काम सकेर खाना खान आइपुगिन्छ,’ जितपुर नवमीका पवन कट्टेल भन्छन्, ‘आफन्त भेटघाट र विशेष काम नै पर्दा मात्रै सदरमुकाम पुगिने भइयो ।’ जिल्लाको सुदूरपश्चिमी क्षेत्रबाट अरू सडक तराईसँग जोडिएका छन् । दमक–लारुम्बा– रवि सडक कालोपत्रे हुने चरणमा छ । त्यस क्षेत्रबाट इलाम बजार आउनु भन्दा झापाको दमक झर्न धेरै छोटो हुन्छ ।

दमक–रवि सडकले माङसेबुङ र फाकफोक थुमसहित पाँचथरका थुप्रै गाउँलाई सहज भएको छ । पूर्वी क्षेत्रका बासिन्दालाई मालपोत, नापीबाहेक केही सरकारी सेवा लिन मात्र इलाम बजार आउनुपर्छ । दक्षिण माई नगरपालिकालगायतबाट झापाका बजार नजिक छन् । त्यस क्षेत्रका सडक सुदृढ बन्दै गएका छन् । माई जोगमाईको प्याङ, नयाँबजारलगायत क्षेत्रबाट फिक्कल हुँदै सिधै झापा पुग्न सकिन्छ । इलाम बजार घुमेर जानुभन्दा उताबाट छोटो पर्ने भएकाले उपभोग्य सामग्री ढुवानीदखि यात्रामा भाडा पनि कम लाग्छ ।


व्यापारिक केन्द्र प्रभावित

उपभोग्य सामग्रीबाहेक गाउँबाट बजार छिर्ने नगदेबाली खरिद खासै नहुने भएकाले सदरमुकामको बजार क्षेत्र कर्मचारी, विद्यार्थी र विभिन्न पेसामा अड्किएका र घुम्न आउेनहरूको भरमा मात्र टिकेको छ । नजिकै रहेको बिब्ल्याँटे बजारमा उत्तरी क्षेत्रमा उत्पादित नगदेबालीको कारोबार हुन्छ । पश्चिमी गाविसका बासिन्दा मंगलबारे, रवि, सप्तमी, चिसोपानी, पञ्चमीलगायत बजारमा निर्भर छन् । पूर्वमा फिक्कल, तीनघरेलगायतका बजारले उत्पादित सबै सामग्री किनिदिएका छन् । ‘इलामलाई कुनै वैकल्पिक व्यवस्था गरेर पनि चार्म घट्न दिनुहुँदैन,’ इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले भने ।


प्रकाशित : पुस २, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?