१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विद्यार्थी बेगरका ५ शिक्षक

विनोद भण्डारी

(विराटनगर) — यहाँको स्नातकोत्तर क्याम्पसमा इतिहास विषय पढ्न सात वर्षयता एकैजना विद्यार्थी छैनन् । पढाउन भने प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकसहित पाँच जना छन् । पढाउनै नपरी उनीहरू मासिक तलब र भत्ता थाप्दै आएका छन् । पढाउनु पर्दैन, हाजिर भए पुग्छ ।

प्राध्यापकको मासिक तलब स्केल ६० हजार, सहप्राध्यापकको ४७ हजार, उपप्राध्यापकको ४० हजार र सहायक प्राध्यापकको ३५ हजार तलब हुन्छ । यो तलब स्केल ग्रेडबाहेकको हो । यसबाहेक मासिक दुई हजार महँगी भत्ता र हजार रुपैयाँ विश्वविद्यालय भत्ता पनि उनीहरूले पाउँछन् । यो सुविधा लिँदै आउनेमा प्राडा अनिलकुमार पोखरेल, सहप्राध्यापकहरू मेदेनीप्रसाद सेढाईं, रमेशकुमार श्रेष्ठ, गुणनाथ गौतम र उपप्राध्यापक गोपालप्रसाद पोखरेल छन् ।


‘कामै नगरी तलब खानु आफैंलाई अप्ठयारो लाग्छ,’ इतिहास विभाग प्रमुख प्राडा पोखरेलले भने, ‘विद्यार्थी नै नआएपछि शिक्षकले के गर्ने ?’ चार शिक्षक विद्यावारिधि गरेका छन् । अरू विषय पनि पढाउन सक्ने भए पनि विश्वविद्यालय र क्याम्पस प्रशासनले नदिएको उनले बताए । संस्कृति विषयको पहिलो सेमेस्टरमा एक जना पनि विद्यार्थी छैनन् । तेस्रो सेमेस्टरमा दुई जना विद्यार्थी छन् । तिनका लागि चार शिक्षक छन् । पढाउन प्राडा सोमप्रसाद खतिवडा, सहप्राडाहरू सनतकुमार बराल, अपारकुमार लम्साल र उपप्राध्यापक रामचन्द्र रायमाझी तैनाथ छन् । पढाउनुपरेकै छैन ।


मानवशास्त्रको पहिलो सेमेस्टरमा दुई विद्यार्थी भए पनि अरू सेमेस्टरमा विद्यार्थी छैनन् । तर पढाउन सहप्राध्यापक डिल्ली प्रसाईं र उपप्राध्यापक लगन राई छन् । गणितको पहिलो सेमेस्टरका चार र तेस्रो सेमेस्टरका दुई जना गरी ६ विद्यार्थीका लागि सात शिक्षक छन् । पढाउन प्राध्यापक राजुराम थापा, सहप्राध्यापकहरू सुमुनकुमार झा, श्यामकुमार झा, शितांसुशेखर चौधरी, तिलकराम सरदार र मनोजकुमार राउत र उपप्राध्यापक सूर्यकुमार यादव छन् । नेपालीको पहिलो सेमेस्टरमा १० र तेस्रो सेमेस्टरका तीन जना विद्यार्थीका लागि प्राध्यापक टुनराज भट्टराई र सहप्राध्यापक भरतराज शर्मा छन् ।


क्याम्पसमा विभिन्न १३ विषयमा स्नातकोत्तरको पढाइ हुन्छ । केहीमा विद्यार्थी नै छैनन् । ती विषयका दर्जन शिक्षकले कामै नगरी सुविधा लिँदै आएका छन् । विद्यार्थी भएका विषयमा शिक्षक जनशक्ति कम छ । प्राध्यापक संघका सभापति प्राडा टुनराज भट्टराई भन्छन्, ‘विद्यार्थी नै नभएका विषयका शिक्षकलाई विश्वविद्यालय र क्याम्पस प्रशासनले विद्यार्थी भएका स्थानमा सिफ्ट गरेर काममा लगाउनुपर्ने हो, तर त्यसो नगर्दा हाजिर मात्र गरेर तलब खान बाध्य छन् ।’


अर्थशास्त्रको पहिलो सेमेस्टरमा ३३ र तेस्रो सेमेस्टरका तीन विद्यार्थीका लागि चार शिक्षक छन् । व्यवस्थापनको पहिलो सेमेस्टरका ५३ र तेस्रो सेमेस्टरका १४ विद्यार्थीका लागि चार जना, समाजशास्त्रको पहिलो सेमेस्टरका ५० र तेस्रो सेमेस्टरका ११ का लागि तीन, अंग्रेजीका २३ विद्यार्थीका लागि दुई जना शिक्षक छन् । ग्रामीण विकासमा ५९ विद्यार्थी छन्, पढाउन केदारनाथ निरौलामात्रै छन् । ‘विद्यार्थी भएका विषयमा थप शिक्षक ल्याउन र नभएकाको सार्न क्याम्पसले सक्ने कुरै भएन,’ क्याम्पस प्रमुख महेश क्षेत्रीले भने, ‘इतिहास र संस्कृतिमा विद्यार्थी नै छैनन् ।’ ती विषयका नौ शिक्षक रहेका क्षेत्रीले बताए । १३ विषयमा पहिलो र तेस्रो सेमेस्टरमा गरेर ३ सय ५३ विद्यार्थी छन् ।

प्रकाशित : मंसिर ३०, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?