कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खेत मासेर निजी वन

अर्जुन राजवंशी

(बिर्तामोड) — धान उत्पादनका लागि झापा उर्वरभूमि हो । उत्पादनको हिसाबमा झापालाई अन्नभण्डार पनि भन्ने गरिन्छ । तर, पछिल्लो समय जिल्लामा धान खेत मासेर निजी वन लगाउने क्रम बढेको छ । सरकारी वन क्षेत्र घट्दै गएको अवस्थामा जिल्लामा निजी वनको क्षेत्र भने बर्षेनी बढिरहेको छ । 

खेत मासेर निजी वन

व्यक्तिगत तथा कम्पनी स्थापना गरी निजी वन लगाउनेको संख्या बढ्दै गएको डिभिजन वन कार्यालयले जनाएको छ । कृषि उत्पादनबाट किसान भन्दा बिचौलियाले बढी फाइदा लिन थालेपछि किसान धान खेत मासेर निजी वनको क्षेत्र बर्षेनी बढाइरहेका छन् । कृषिमा आम्दानीभन्दा खर्च बढी, कामदार पाउन गाह्रो, उत्पादित वस्तुको बजारीकरणमा समस्यालगायत कारणबाट किसान कृषि पेशाबाट पलायन हुन थालेको निजी वन लगाएका किसानको भनाइ छ ।


‘धान खेती कसले गर्ने ? खेती गरेअनुसार आम्दानी छैन,’ कनकाई नगरपालिका ६ मन्सापुरका शान्तिराज प्रसाईले भने, ‘धान खेतीभन्दा कैयौं गुणा बढी आम्दानी लिन सकिने भएपछि निजी वन लगाएको हुँ ।’ मन्सापुरमा उनले अढाई बिघामा निजी वन लगाएका छन् । उनले ०७० देखि धान खेतमा वन लगाएका हुन् ।


उनको वनमा हाल ३५ सय विरुवा हुर्किरहेका छन् । उनले टिक, मसला, मलेसियन साल, अगरउड, लटर, तेजपात, रक्तचन्दन, रुद्राक्ष, खमारी, चप्रासीलगात दुई दर्जनबढी जातका विरुवा लगाएका छन् । उनले यो बर्ष थप १० कट्टा जमिनामा वन विस्तार गरिरहेका छन् ।


‘मेरा ४ छोराछोरी सबै घर र देशबाहिर छन्,’ ५७ वर्षीय प्रसाईले भने, ‘खेती कसले गर्ने ? जमिन बाँझो राख्नुभन्दा विरुवा हुर्काउदा पछिलाई फाइदा हुन्छ ।’ उनले अबको १५ बर्षपछि निजी वनबाट १० करोडभन्दा बढीको आम्दानी लिन सकिने जनाए ।


‘५ बर्ष बितिसक्यो । अब १५ बर्षपछि मेरो वनमा रहेका विरुवाहरू २० बर्षका हुन्छन् । त्यतिबेला कम्तिमा एउटा रुख ५० हजारमा बिक्री हुन्छ भन्ने मेरो अनुमान छ,’ उनले भने, ‘तर, ४ बिघामा धान लगाएर १५ बर्षमा कुनै हालतमा १० करोड कमाउन सकिदैन ।


त्यसैले धान मासेर विरुवा रोपें ।’ पाथीभरा निजी वन बाटिकाका सञ्चालक प्रसाई यस बर्षको निजी वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृतसमेत भएका छन् ।


जिल्लामा कुल १ लाख ६० हजार ७२७ हेक्टरमध्ये १८ हजार ६५ हेक्टर अर्थात ११.२४ प्रतिशत वन क्षेत्र छ । जसमा निजी वन ४ सय २२ वटा छन् । निजी वनले ४६३.९२ हेक्टर ओगटेको डिभिजन वन कार्यालयका प्रमुख बिष्णुलाल घिमिरेले जानकारी दिए । सामुदायिक वन ५९, कबुलियति वन २ र वृक्षरोपण आयोजना एउटा छ ।


निजी वनलाई सरकारले प्रोत्सहान गर्नुपर्ने निजी वन सञ्चालक झापाका अध्यक्ष दुर्गा प्रसाईको माग छ । उनले भने, ‘खेत बाँझो रहने अवस्थाको अन्त्य गरेका छौं । वातावरणीय हिसाबले पनि वनले मुलुकलाई धेरै फाइदा पुगेको छ । वन विस्तार भएकै कारण सरकारले बर्षेनी कार्बन बेचेर अरबौं रुपैयाँ प्राप्त गरिरहेको छ ।’


उनले निजी वन लगाएका किसानलाई सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने, सबै विरुवाको बीमा गर्नुपर्ने, वन क्षेत्र घेराबारा गर्न सहयोग गर्नुपर्नेलगायतका माग गरे । ‘किसान माटो परीक्षण गरेर, प्राविधिक खटाएरै विरुवा लगाइरहेका छन् । वन लगाउन किसानले गरिरहेको लगानी सुरक्षित गर्न सरकारले विशेष ध्यान दिनैपर्छ,’ उनको माग छ । उनको ३ बिघामा निजी वन छ । केही साथीसंग मिलेर कमल गाउँपालिका ७ मा १२ बिघामा निजी वन लगाएका छन् । जिल्लामा ०५५ यता निजी वनतर्फ किसानको आकर्षण बढ्दै गएको उनले बताए ।


प्रकाशित : मंसिर ३०, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?