१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गुफै–गुफाको गन्तव्य

खोटाङ — धेरैलाई प्रसिद्ध हलेसी क्षेत्र गुफैगुफा भएको गन्तव्य हो भन्ने थाहा नहुन सक्छ । तर यो क्षेत्रमा रहेका आधा दर्जन गुफाले आकर्षण गरेका छन् । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीहरूको त्रिधामको रुपमा चिनिने हलेसीबाट पूर्व करिव एक घण्टा पैदल यात्रा गरेपछि अर्खौले ७ डुक्सिलीस्थित गुप्तेश्वर गुफा पुगिन्छ ।

किम्बदन्ती अनुसार शिवजी सत्रुबाट बच्न गुप्तेश्वर गुफामा बस्ने गरेको भनाइछ । यहाँ पूजाआराधना गरे चिताएको पूरा हुने विश्वास गरिन्छ । यहाँबाट करिब १ घण्टाको पैदल उक्लिएपछिपछि किरात सभ्यताको ऐतिहासिक थलो मानिने हलेसीमहादेवस्थान १ स्थित तुवाचुङ–जायजुममा हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । यहाँ किरात सभ्यताका गतिविधि ढुंगाहरूमा देख्न सकिने हलेसी विकास समितिका निर्देशक समर भुजेलले बताए ।


भुजेलका अनुसार हलेसीबाट पश्चिम दुई घण्टा पैदल यात्रा गरेपछि मंगलटारको घुर्चुस्थित सत्तेश्वर गुफा पुगिन्छ । त्यसैको नजिकमा शीतलेश्वर गुफा पनि भेटिन्छ । त्यहाँबाट करिब ४५ मिनेटको बाटो छिचोलेपछि मंगलटार र दुर्छिमको सिमानामा पर्ने ताराखसेस्थान र ताराखसे गुफाको दर्शन गर्न पाइन्छ । यी गुफाहरूमा पनि शिवजीले आश्रय लिएको किम्बदन्ती रहेको हलेसी मन्दिर समिति पूर्वअध्यक्ष गजुरमान राईले बताए ।


राईका अनुसार केही माथितिर दुर्छिमको रमणीय कोटडाडाँ (भ्यु पोइन्ट) बाट दृष्यावलोकन गरी होलेसुङपार्क हुदै फेरि हलेसी महादेवस्थानस्थित ककनीथानको दर्शन गर्न सकिन्छ । यहाँ खासगरी बौद्धमार्गीले पूजाआराधना गर्ने गरेका छन् ।


ककनीथानबाट करिब आधा घण्टाको पैदल यात्रपछि पञ्चवती पुगिन्छ । पञ्चवतीको दर्शन गरी त्यत्तिनै बाटो छिचोलेपछि फेरि मन्जुश्री हुँदै अर्को गर्न्धुम गुफा पुगिन्छ । त्यहाँ पूजा आराधना गरिसकेपछि करिब २० मिनेटको बाटो हिडेपछि हलेसी पुगिन्छ ।


त्यसपछि हलेसीको दक्षिणपट्टीको कालिका भगवती, हलेसी मन्दिरको पश्चिमको पञ्चकन्यास्थल, हलेसी मन्दिरको उत्तरतर्फको गैरीगुठस्थित कालिकाथानलगायत धार्मिक पर्यटकीय गन्तव्य पनि कम्ति रमाइलो छैन ।



प्रकाशित : मंसिर ३०, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?