२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उद्योगले रोकियो बिदेसिन

विनोद भण्डारी

(विराटनगर) — चार वर्ष साउदी अरबमा बसेर फर्केका बुढीगंगा ४ हात्तिमुढाका दिनेश माझी फेरि विदेश गएनन् । घर छेउकै कार्टुन उद्योगमा काम गरी जीविकोपार्जन गर्दैछन् । दैनिक आठ घण्टा काममा व्यस्त उनी अब विदेश नजाने बताए ।

‘विदेशमा पनि आठ घण्टा मजदुरी नगरी पैसा पाइँदैन,’ उनले भने, ‘घरैछेउ खुलेको उद्योगमा काम गर्न पाएपछि परिवार छाडेर बाहिर जाने रहर जागेन ।’ त्यहीका दिनेश चौधरी पनि विदेशबाट फिरेर जुट उद्योगमा मजदुरी गर्छन् । हात्तीमुढाकै समिर खाँ आफ्ना दुई छोरालाई बैदेशिक रोजगारीमा पठाउन मन लागेन । उनका दुवै उद्योगमा काम गर्छन् ।


गाउँभरि उद्योग रहेकाले हात्तीमुढाका धेरै युवाले रोजगारी पाएका छन् । स्थानीय महिला पनि उद्योगमा दिउँसो मजदुरी गर्छन् । ‘गाउँभरी उद्योग छन्,’ ज्ञानचन चौधरीले भने, ‘उद्योगका कारण यहाँका प्राय: सबै युवायुवती विदेश जानबाट रोकिएका हुन् ।’


स्थानीय स्वस्तीक तेल उद्योगमा डेढ दशकदेखि कार्यरत सुखाराम राजवंशीले पनि आफना दुई छोरालाई बैदेशिक रोजगारीमा जान दिएनन् । घर छेउकै उद्योगमा मजदुरी गर्दा दुईजनाले महिनाको ३५ हजार रुपैयाँसम्म कमाउँदै आएका छन् । प्रिमियर वायरमा १७ वर्षदेखि काम गर्दै आएका भोखनराम माझीले कमाउन कतार पुगेका आफना दुई छोरा सूर्यनारायण र गुलाफचनलाई पनि ६ महिनाअघि बोलाए । ‘विदेशमा १८ घण्टा खट्दा पनि एकजनाले महिनाको २० हजार रुपैयाँ बचाउन सकेन’, उनले भने, ‘त्योभन्दा त गाउँकै उद्योगमा काम गर्न सजिलो र घरको भात खाएर यहीका उद्योगमा मजदुरी गर्न पाएपछि किन जानु विदेश ?’


यहाँका उद्योगले छिमेकी गाउँकालाई पनि मजदुरीका लागि विदेश जानवाट रोकेको बुढीगंगा ५ पोठियाका ख्यामरा माझीको बुझाइ छ । तर पछिल्लो समय उद्योगमा पनि राजनीति हाबी हुँदा जो कोहीले मजदुरी पाउनै समस्या भएको स्थानीयको गुनासो छ ।


बुढीगंगाको टंकीसिनवरीदेखि कोहलपुर सम्मको क्षेत्रमा बाक्लै उद्योग छन् । निमुवादेखि कोहलपुरसम्मको ६ किलोमिटर क्षेत्रमा पछिल्लो समय नयाँ उद्योग पनि खुलेका छन् । स्थानीय अगुवा सत्यनारायण चौधरीका अनुसार गाउँमा खुलेका उद्योगले युवायुवतीलाई बैदेशिक रोजगारीमा जाने रोकेको मात्र छैन, गाउँकै गर्जो समेट टार्दै आएका छन् । स्थानीय उद्योगमा बुढीगंगाका १० हजारभन्दा बढीले रोजगारी पाएको उनको भनाइ छ ।


बुढीगंगा गाउँपालिकाभित्र दुई सयभन्दा बढी उद्योग सञ्चालनमा रहेको पालिकाको तथ्यांक छ । त्यसमध्ये आठवट ठूला, सयभन्दा बढी मध्यम र त्यति नै सख्यामा साना उद्योग सञ्चालनमा रहेको गाउँपालिकाका कार्यकारी अधिकृत विनोद न्यौपानेले बताए । ती उद्योगबाट गाउँपालिकाले चालु वर्षमा चार करोड राजस्व असुली गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाले ठूला उद्योगलाई वार्षिक ५ लाख मध्यमलाई १ लाख ६० हजार र साना उद्योगलाई वार्षिक ५० हजार व्यावसायिक कर तोकेको न्यौपानेले बताए ।


बुढीगंगामा प्रशस्त उद्योग खुलेपछि ५ हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन घटेको स्थानीयको गुनासो छ ।

प्रकाशित : मंसिर २८, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?