१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दमकल थान्को लागेको लाग्यै

सुम्निमा चाम्लिङ

(इटहरी) — इटहरी उपमहनगरपालिकामा रहेका दुइटा दमकलमध्ये एकमात्र प्रयोगमा छ । आठ महिनाअघि एउटा बिग्रिएर थान्काले लागेको छ । मर्मतमा कसैको चासो गएको छैन ।

दमकल थान्को लागेको लाग्यै

प्रदेश १ का विभिन्न सहरको बीच भागतिर इटहरी पर्ने भएकाले अन्य गाउँसहरमा आगलागी भए सहयोग गर्छ । ४५ सय लिटर पानी क्षमता भएको दमकल थान्का लागेकाले एकमात्र दमकलको भर छ । ०७१ मा किनिएको चालु अवस्थाको दमकलको पनि पाइप फुटको कर्मचारीले बताए । ज्यानको जोखिम मोलेर आगो नियन्त्रण गर्ने काम गर्नुपर्ने भए पनि उपमहानगरले खासै चासो नदिएको बारुणयन्त्र नियन्त्रकहरूको गुनासो छ । बारुणयन्त्र नियन्त्रक इन्चार्ज जेबी राईले नियन्त्रकहरूका लागि सुरक्षा पर्याप्त नभएको बताए ।


‘जोखिमको काम भए पनि सुरक्षा छैन,’ उनले भने, ‘सुरक्षागार्डले लगाउने बर्दी फायरमेनले लगाउनुपरेको छ, यो पर्याप्त हुँदैन ।’ अग्नि नियन्त्रकका लागि सामान्य सुरक्षाअन्तर्गत पर्ने साधन समेत नभएको उनले बताए । अग्लो घरमा आगलागी भएमा सिँढी आवश्यक पर्छ तर उपलब्ध छैन । उपमहानगरमा भएको दमकलले चार तलासम्म मात्र पानी छ्याप्न सक्छ । एउटा दमकलका लागि एक ड्राइभर, एक कमान्डर र ७ जना फायरमेन गरी ९ जनशक्ति आवश्यक हुन्छ ।


शाखामा दुईजना चालकसहित १२ कर्मचारी छन् । दमकल राख्ने छुटै कोठा चाहिने भए पनि नहुँदा उपमहानगरको प्रांगणमा राखिएका छन् । नगरमा चालु अवस्थामा रहेको दमकलको क्षमता ४५ सय लिटरको छ । बिग्रिएको दमकलको मर्मत सम्भार, आवश्यक दमकल साथै कर्मचारी व्यवस्थापनमा ध्यान दिन सके आगो निभाउने कार्य थप प्रभावकारी हुने इन्चार्ज राईले बताए । अग्निनियन्त्रक भग्लु मलिकले सुरक्षा नहुँदा काम गर्न चुनौती भएको बताए । ‘ठुलो आगलागी हुँदा मर्न पनि सकिन्छ,’ उनले भने, ‘सामान्य खालको ज्याकेट भएकाले पोल्छ नि !’


इटहरीमा समयमा दमकल पुग्न नसकेको भन्दै आलोचना हुने गरेको छ । दमकल भएको स्थान र कर्मचारीको आवास केही टाढा भएको कारण ढिला हुने गरेको तर्क कर्मचारीको छ । ‘ड्रेस लगाएर दमकलसम्म आईपुग्दा मानिसको आधा घर जलिसक्छ,’ मलिकले भने, ‘हावा भरेर गाडी स्टार्ट गर्दा केही समय लाग्ने गर्छ ।’


आगो निभाउन जाँदा प्रयोग गर्ने फायर प्रुफ ज्याकेट, जुत्ता, पन्जा र अन्य साधनहरू नहुँदा ज्यानको जोखिम मोलेर काम गर्न बाध्य भएको कर्मचारीको भनाइ छ । बढ्दो जनघनत्व र साँघुरा सडकका कारण आगलागीको जाखिम बढ्दै गएको छ । ०७५ मा नगरमा दुईवटा ठूला आगलागी हुँदा करोडौं बराबरको क्षति भएको थियो । यस्तै, गत शनिबार सुर्य कम्प्लेक्समा रहेको बिगबार रेस्टुरेन्टमा आगालागी हँदा करिब ४ करोडको क्षति भएको थियो । इटहरी उपहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले तालिमप्राप्त जनशक्तिले दमकलले प्रभावकारी रूपमा काम गरेको दाबी गरिन् । कर्मचारीले ज्यानको जोखिम मोलेर काम गर्दै आएको स्विकारिन् । कर्मचारी घाइते भएमा उपमहानगरले उपचारका साथै थप सुविधा रहेको बताउँदै सुरक्षाको मामलमा भने केही बताउन चाहिनन् । थन्किएको दमकल पुरानो भएको र मर्मतमा बढी खर्च हुने भएकाले लिलाम गरेर नयाँ किन्ने योजना रहेको उनले बताइन् ।

प्रकाशित : मंसिर २८, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?