कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फोहोर टिप्नमा रमाउँदै पूर्वलडाकु

(काँकडभिट्टा) — गलामा सुनको सिक्री । दुवै कानमा सुनकै कुन्डल । झ्याप्प पालेको कपाल । शरीरमा भने मैलो कपडा । काँधमा थोत्रो बोरा । झापा अर्जुनधारा ११ का ४५ वर्षीय गणेश ढुंगाना यस्तै रूपमा देखिन्छन् । खासमा उनको बिहानीको समय सहर वजारमा असरल्ल प्लाष्टिकजन्य फोहोर बटुलेर बित्छ । 

फोहोर टिप्नमा रमाउँदै पूर्वलडाकु

‘सहरमा जहातही फोहोर देखेर मन खिन्न भयो’, माओवादीका पूर्वलडाकु ढुंगानाले सुनाए, ‘मर्निङ वाकको समय फोहोर टिप्न खर्च गर्न थालें ।’ दसैंताका उनी प्रात: भ्रमण गर्दै बिर्तामोड नगरपालिका ६ को बुट्टाबारी चिया बगान क्षेत्रसम्म पुगेका थिए । असरल्ल छरिएको फोहोर देखेर लागेछ, ‘मर्निङ वाकको साटो बरु बजारको फोहोर टिप्छु ।’


सुरुका दिनमा फोहोर टिप्दै गरेको देख्नेले उनलाई बहुलाएछ भनेछन् । ढुंगाना पत्नी सविताले सुनाइन्, ‘बजारमा फोहोर टिप्दै गरेको देखेका आफन्तले फोन गरेर दाइ त पागल हुनुभयो कि के हो भने ।’ यो सुनेर सविता पनि छक्क परिन् । साँच्चै श्रीमान् त पागल भएछन कि के हो जस्तो लागेछ । तर, जब सवितालाई उनले आफ्नो कामको उद्देश्य सुनाए त्यसपछि मात्रै उनी आश्वस्त भइन् । ढुंगानाले बजारमा संकलन गरेर ल्याएका प्लाष्टिकजन्य वस्तु घर अगाडि थुपारेका छन् । यो फोहोर बेचेर अनाथ आश्रम बनाउने उनको योजना छ । ‘अहिलेसम्म करिब सय किलो जति फोहोर संकलन गरिसकें’, उनले सुनाए, ‘अझै धेरै फोहोर जम्मा गरेर बिक्री गर्छु र अनाथ आश्रम वनाउँछु ।’ स्थानीय समाजसेवी रामकुमार कन्दङ्वाले ढुंगानाको अनाथ आश्रम बनाउने नि:स्वार्थ अभियानलाई सबैले सघाउनुपर्ने जनाए ।


एक पटक फोहोर टिप्दै बिर्तामोड नगरपालिका कार्यालय परिसर पुगेका उनलाई मेयर ध्रुव शिवाकोटीले मज्जाले झाँटेका थिए । तर, पछि उनले आफ्नो उद्देश्य सुनाएपछि शिवाकोटीले समेत फोहोर संकलनमा सघाउने जनाएका थिए । ‘मेरो काम देखेर मेयर पनि छक्क पर्नुभयो’, उनले थपे, ‘अनाथ आश्रम बनाउने कुरामा सघाउने जनाउनु भएको छ ।’ अहिले बिर्तामोड र अर्जुनधारा नगरबाट मात्रै दैनिक सयौं टन फोहोर उत्पादन भइरहेको छ । ती सबै फोहोर संकलन गरी फोहोरलाई मोहरमा परिणत गर्ने ढुंगानाको लक्ष्य छ ।


पेसाले मिस्त्री उनी ०५७ बाट माओवादीमा आवद्ध भएका थिए । चुलाचुलीमा रहेको तत्कालीन जनमुक्ति सेना नेपालको प्रथम डिभिजनको एफ कम्पनीमा लडाकु उनले शान्ति प्रक्रियाअनुसार सेना समायोजन क्रममा २०६४ असारमा लडाकुबाट स्वैच्छिक अवकाश लिएका थिए । उनले आफूले पाउने करिब ७ लाख नगद समेत पार्टीको सहिद कोषमा जम्मा गर्न दिएका थिए ।

प्रकाशित : मंसिर २८, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?