कृषि केन्द्रको भएन भर

पर्याप्त जमिन भए पनि केन्द्रले बीउ उत्पादनको क्षेत्र अपेक्षित रुपमा बढाउन सकेको छैन 
विप्लव भट्टराई

(इलाम) — आलुसहित विभिन्न बालीको खेती प्रवर्द्धन गर्ने उदेश्यले गाउँमै कृषि केन्द्र सञ्चालनमा आए पनि कृषकले पर्याप्त बिजन पाउन सकेका छैनन् । इलामको जौबारीमा रहेको आलु विकास केन्द्र ३० वर्षपछि सञ्चालनमा आएर कृषि केन्द्रको रूपमा बिजन उत्पादनमा लागेको छ । तर, यस क्षेत्रका कृषकले व्यावसायिक रूपमा आलु खेती गर्दै आए पनि आवश्यकताअनुसार बीउ नपाएको गुनासो गरेका छन् । 

कृषि केन्द्रको भएन भर

केन्द्रले मुख्य आलु खेतीकै प्रवर्द्धनका लागि बीउ उत्पादन गर्दै आएको छ । बागवानी र नार्कले छुट्टाछुट्टै रूपमा अध्ययन अनुसन्धान गर्दै आलुसहित बालीका बीउ उत्पादन गर्ने गरेका हुन् । भारतको दार्जिलिङ सीमावर्ती क्षेत्रको करिब ८ हजार रोपनी क्षेत्रफलको खाली जमिनलाई सदुपयोग गर्दै कृषिको गतिविधि बढाउने उदेश्यले केन्द्र स्थापना भएको हो ।


करिब २९ मिटरको उचाइमा रहेको यो क्षेत्रमा तयार भएको बीउ रोप्दा त्यस तलका क्षेत्रमा अधिक उत्पादन हुने भएकाले कृषकको माग धेरै छ । ‘यो केन्द्र सञ्चालनमा आएपछि कम्तीमा उपयुक्त प्रजातिको आलुको बीउ सबै कृषकले प्राप्त गर्ने अपेक्षा गरेका थियौं,’ सन्दकपुर ५ जमुनास्थित कृषि सहकारीका अध्यक्ष ठाकुर गुरुङले भने, ‘तर आवश्यकता र मागभन्दा न्यून मात्र बीउ पाएका छौं ।’ पर्याप्त जमिन भए पनि केन्द्रले बीउ उत्पादनको क्षेत्र अपेक्षित रूपमा बढाउन सकेको छैन । यो वर्ष ८ सय मन बीउको माग भए पनि केन्द्रले २ सय मन जति मात्र कृषकलाई उपलब्ध गराउन सक्यो । अहिले बागवानीले मात्र बीउ वितरण गरेको हो । बागवानीले आगामी वर्षका लागि बिरुवा उत्पादन गर्न डेढ सय मन आफै राखेको छ ।


‘हिमपात हुने भएकाले ढडुवा रोगको प्रकोप पनि उत्तिकै छ,’ प्राविधिक बालमुकुन्द पैकाराले भने, ‘तर पनि भएको बीउलाई समानुपातिकरुपमा वितरण गर्ने गरिएको छ ।’ यो वर्ष नार्कको उत्पादन कम भएको भन्दै कृषकलाई वितरण गरेन । त्यस कारण पनि बागवानी एक्लैले माग थेग्न नसकेको पैकाराको भनाइ छ ।


बागवानीअन्तर्गत २ हेक्टर जमिनमा अहिले आलु खेती हुने गरेको छ । यहाँ उत्पादित आलुको जिल्लाभर बीउका लागि माग हुने गरेको छ । केन्द्र सञ्चालन भएपछि कृषकले रैथाने पाराले उत्पादन गर्दै आएको आलुको बीउ पनि अहिले पाउन छाडेको छ । केन्द्रमा उत्पादित बीउ ‘ए’ ग्रेडको प्रति किलो ७० र ‘बी’ ग्रेडको ६५ रुपैयाँ मूल्य तोकिएको छ । यहाँको बीउ रोप्दा कृषकले प्रतिमनको १२ मनसम्म फलाएका छन् ।


बागवानीमा कार्डिनल, जनकदेव, डेजिरे, खुमल सेतो, खुमल उपहारलगायत जातका बीउ उत्पादन हुने गरेको छ । किसानलाई उन्नत आलुको बीउ वितरण गर्ने र प्राविधिक सेवा प्रदान गर्ने उदेश्यले साविक जमुना, जोगमाई र प्याङ गाविसमा रहेको आठ हजार चार सय रोपनी जमिन र भौतिक संरचना २०४२ सालदेखि उपयोगविहीन थियो ।


यहि क्षेत्रलाई उपयोग गर्दै आलुसहित विभिन्न जातको बाली र सागसब्जीको विजन उत्पादन गर्ने र अनुसन्धान गर्ने उदेश्यले बागवानी र राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क)ले केहि वर्षदेखि काम थालेका हुन् ।


स्थानीयवासीको पटक/पटकको मागपछि यो केन्द्र सञ्चालनमा आएको हो । २९ सय मिटर आसपास रहेको यो क्षेत्रमा उत्पादन हुने आलुको विउ जुनसुकै हावापानी र भूगोलमा पनि खेती गर्न सकिने विज्ञको भनाइ छ । वन जंगल पनि नहुर्किएको अवस्थामा यो जमिनमा कृषि अनुसन्धान केन्द्र वनाउनु पर्ने या जडिबुटी खेती र अनुसन्धान केन्द्र स्थापना गरिनुपर्ने सरोकारवालाको भनाइ थियो ।

प्रकाशित : मंसिर २८, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?