हिंसाका उजुरी आउँदैनन् न्यायिक समितिमा

सुनसरी — महिलामाथि हुने घरेलु हिंसाका घटना धेरै हुने गरे पनि परिवारको डरले उजुरी दिन पीडितहरू डराउने गरेको पाइएको छ । हिंसा भोगेका कतिपयले गोप्य रूपमा फोनमा जानकारी दिने गरेका छन् । सुनसरीको बर्जु गाउँपालिकाको न्यायिक समितिमा आउने यस्ता उजुरीपछि घर पुगेर विवाद मिलाउने अनि न्याय दिन पहल गर्ने गरिएको छ ।

न्यायिक समिति संयोजक संगीताकुमारी रायका अनुसार गाउँपालिकाका अधिकांश सम्पन्न परिवारमा महिला हिंसाका घटना अत्याधिक हुने गरेको छ । ‘तर पीडित उजुरी दिन आउँदैन्, लुकेर फोन मात्र गर्छन्,’ उनले भनिन्, ‘फोनकै भरमा हामी घरमा पुगेर सकेसम्म न्याय दिएर फर्कने गरेका छौं ।’ चालु आवमा यस्ता झण्डै ३० घटनामा घरै पुगेर न्याय दिलाएको उनले बताइन् । बर्जुमा चौधरी, मण्डल, राय र मुस्लिम समुदायको बसोवास छ । मुस्लिम समुदायमा परेको महिला हिंसाबारेमा न्यायिक समितिमा एउटा पनि उजुरी आउदैन । छिटफुट रुपमा प्रहरीमा उनीहरूको उजुरी पर्ने गरेको पाइएको छ ।


श्रीमानले श्रीमतीलाई घरमा अन्याय गरेर घटना वाहिर ल्याए सम्बन्ध विच्छेद गर्ने र अर्की श्रीमती ल्याउने धम्की दिने गरेका कारण मुस्लिम समुदायका पीडित महिला घटना लुकाएर गुपचुप बस्ने गरेको रायको अनुभव छ । बर्जु गाउँपालिकामा चालु आवमा महिला हिंसाका ७५ उजुरी न्यायिक समितिमा दर्ता भएका छन् । तीमध्ये अधिकांशको सुनवाइ भइसकेको छ ।


मुस्लिम समुदायमा बाल विवाहको चलनसमेत रहेकाले गाउँपालिकाले स्वास्थ्य र प्रजननसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । न्यायिक समिति सदस्य अम्बिका चौधरीका अनुसार सार्वजनिक कार्यक्रम आयोजना गरेर उनीहरूकै मुखबाट पीडा सुनेर समाधानको बाटो खोज्ने गरिएको छ ।


प्रकाशित : मंसिर २७, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?