कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

मध्यपहाडी लोकमार्ग : पुल निर्माणमा लापरबाही

खोलामा पुल नहुँदा आठराई र फेदापका बासिन्दाको सदरमुकामसँग यातायात सम्पर्कमा समस्या आएको छ

(तेह्रथुम) र (खोटाङ) — मध्यपहाडी लोकमार्गको निर्माणाधीन म्याङलुङ–संक्रान्ति खण्डका दुई खोलामा ठेकेदारले निर्धारित समयमा पुल निर्माण सकेका छैनन् । यसले गर्दा दुई गाउँपालिकाबासीलाई सदरमुकाम आउजाउ गर्न समस्या भएको छ ।

मध्यपहाडी लोकमार्ग : पुल निर्माणमा लापरबाही

संक्रान्ति–म्याङलुङ खण्डको बीचमा पर्ने खोरुंगा र कोया खोलामा सम्झौताअनुसार पुल बेलामा नबन्दा समस्या भएको हो । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको मध्यपहाडी सडक खण्डका दुई पुल निर्माणका लागि सम्झौता गरेका व्यवसायीले लामो समयसम्म काम नथाल्दा समस्या भएको स्थानीय बमबहादुर लिम्बूले बताए ।


खोलामा पुल नहुँदा आठराई र फेदापका बासिन्दाको सदरमुकामसँग यातायात सम्पर्कमा समस्या आउने गरेको छ । पुल नहुँदा यातायात सेवा अवरुद्ध हुने गरेको म्याङलुङ बस काउन्टरका प्रमुख डिल्ली रेग्मीले बताए । सदरमुकामबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु लिएर गाउँ गएका सवारी खोरुङगा खोला वारि र उताबाट कृषि उत्पादन बोकेर आएका सवारी खोला पारि नै रोकिने गरेका छन् ।


ढुवानी हुन नपाएर खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अकासिने गरेको फेदाप गाउँपालिका केन्द्र पोक्लाबाङ बजारका होटल व्यवसायी चन्द्र श्रेष्ठले बताए ।


सकिनुपर्ने बेला सुरु नै भएन

खोरुंगा खोलामा पुल निर्माणका लागि कोसी एन्ड न्यौपाने निर्माण सेवाले ०७३ सालमै ठेक्का सम्झौता गरेको थियो । ०७४ पुस मसान्तमा काम सम्पन्न गरिसक्ने जिम्मा पाएको कम्पनीले काम सुरु नै गरेको छैन । खोलामा पिलर राख्न सामान्य खाडल खनेर त्यसै अलपत्र अवस्थामा छाडिएको छ । म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका जोड्ने खोरुङगा खोलामा पुल निर्माणका लागि आयोजनाले ५ करोड ९० लाख १ हजार रुपैयाँमा ठेक्का आह्वान गरेको थियो ।


कोसी एन्ड न्यौपाने निर्माण सेवाले ४ करोड ९६ लाख ९१ हजार ६ सय ४५ रुपैयाँमा काम गर्ने गरी सम्झौता गरेको थियो । तर कम्पनीले काम नै सुरु नगरेको मध्यपहाडी लोकमार्ग पूर्वी खण्डका इन्जिनियर सुरेश तुम्बाहाम्फेले बताए ।

यही खण्डको संक्रान्ति–देउराली खण्डमा पर्ने कोया खोलाको पुल निर्माणले पनि गति लिएको छैन । ०७२ सालमै काम सुरु गरी एक वर्षभित्रै सक्ने गरी ठेक्का सम्झौता गरेको एसबीए निर्माण सेवाले अहिलेसम्म ४० प्रतिशत पनि काम सम्पन्न गरेको छैन । ५ करोड ३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण सेवाको ०७४ जेठ ३० गते म्याद सकिएपछि पुन: म्याद थपिएको थियो । थपिएको अवधिमा कुनै पनि काम नभएको इन्जिनियर तुम्बाहाम्फेले बताए ।

जिम्मा लिएर समयमा काम सम्पन्न नगर्ने र बीचैमा अलपत्र अवस्थामा छाड्ने निर्माण कम्पनीलाई कारबाहीका लागि आयोजनाले पटकपटक पत्राचार गरेको जनाएको छ । आयोजनाले यस्ता निर्माण कम्पनीको सूची सार्वजनिक गर्दै काममा ढिलाइ हुनुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न यसअघि नै सूचित गरेको जनाएको छ । तर कारबाही भने अहिलेसम्म भएको छैन ।


समयमा काम सम्पन्न नगर्ने र काम बीचैमा छाडेर बेखबर हुनेमा तेह्रथुमसहित पाँचथर, धनकुटा, भोजपुर र रामेछापमा कार्यरत नौवटा कम्पनी रहेका इन्जिनियर तुम्बाहाम्फेले बताए ।


म्याद सकिन लाग्यो, काम अपुरै

खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको म्याद सकिन लाग्दा काम भने ४० प्रतिशत मात्र भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० करोड ८८ लाख ३२ हजार ९७ रुपैयाँको लागतमा आगामी चैत पहिलो साता सक्नुपर्ने सडकको कालोपत्रेको काम करिब ४० प्रतिशतको हाराहारीमा मात्र सकिएको हो ।


निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माण अलपत्र परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यो काम याक्तुहाङ–साप–सिरुवा जेभीले लिएको हो । आगामी चैत ७ गतेभित्र सक्ने गरी गत २०७५ असोज १ गते जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङसँग सम्झौता भएको थियो । दिक्तेलको हस्पिटल चौकदेखि खानीडाँडा आहालेसम्मको दस दशमलव ९७४ किलोमिटर सडकको गत असारमा २५ प्रतिशत पाँच करोड ४४ लाख ७६ हजार एक सय ३४ रुपैयाँ भुक्तानी भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालले बताए । निर्माण कम्पनी सम्बद्ध कल्याण दाहालले भने जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङले रकम निकासा नदिएकाले काममा ढिलाइ भएको बताएका छन् । ‘गरेको कामको मूल्याङ्कन गरेर रकम दिनुपर्ने हो,’ दाहालले भने ‘रकम नदिएपछि कामदारलाई पैसा दिन नसक्दा ढिलाई भएको हो ।’


उक्त सडक गुणस्तरहीन भएको समेत गुनासा खाएका छन् । यसबारेमा अनुगमन गर्ने जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । उक्त सडक सिलान्यास गर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बेलामा काम नसके म्याद थप नहुने र थप हर्जना तिरेर काम सक्न वाध्य हुने बताए । सार्वजनिक खरिद ऐनको पछिल्लो व्यवस्था अनुसार ठेकेदारका कारण काम नभए, नोक्सानी भए, काम हुन बाँकी रकम समेत सरकारी बक्यौतासरह असुल्नु पर्ने व्यवस्था छ । उक्त सडक पेटी ठेक्कामा दिइएकाले पनि ढिलो हुन गएको भट्टराईले बताए ।


प्रकाशित : मंसिर २७, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?