गन्तव्यमा पुर्‍याउनै सकिएन पर्यटक

आनन्द गौतम

(ताप्लेजुङ) — ठूलो लागतमा रिसोर्ट बनाइरहँदा फुङलिङ–२ मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बूलाई पाहुना आउँछन्, बस्छन्, खान्छन् र फाइदा पक्कै हुन्छ जस्तो लाग्थ्यो । अहिले होटलमा आएका पाहुनालाई घुमाउन कहाँ लैजाने भन्ने चिन्ता थपिएको छ ।

गन्तव्यमा पुर्‍याउनै सकिएन पर्यटक

उनीकहाँ आएका ८० प्रतिशतले घुम्न जाने ठाउँ कहाँ हो भनेर सोध्ने गरेका छन् । ‘सुकेटार, सिद्धिडाँडा, भिन्तुना डाँडा देखाउँछु,’ लिम्बू भन्छन्, ‘यी तीनै ठाउँ दुई तीन घण्टामा घुमिने भएकाले अब जाने कहाँ हो भनेर सोध्छन्, देखाउने ठाउँ छैन ।’


आफैंले गाडी चलाएर पाहुनालाई घुमाएर फर्कंदा पनि उनी असन्तुष्ट छन् । ‘तीनै ठाउँमा पुग्दा आहा, भन्दै फोटो खिच्न थाल्छन्, तर भ्रमणको तिर्सनाचाहिँ पूरा हुँदैन,’ लिम्बूले थपे, ‘टाढा पठाउन सक्ने अवस्था छैन ।’

सुकेटारका ओमप्रकाश राईले सञ्चालनमा ल्याएको रिसोर्टमा पनि यस्तै छ । विमानस्थल क्षेत्रको सबैभन्दा उच्च डाँडो किनेर उनले रिसोर्ट बनाएका छन् । वरिपरि हरियालीका लागि सल्ला, लौठ सल्ला, धूपीजस्ता दर्जनौं वनस्पति हुर्काएका छन् । एकाध दिन बसिसकेपछि पाहुनाले उही प्रश्न गर्छन्– अब कहाँ जाने ?


दुवै व्यवसायीका अनुसार पर्यटकको चाहना दिनभर घुम्ने र बेलुका होटलमा आउने वा एक रात उतै बस्ने खालको हुन्छ । जिल्लामा घुम्ने थलो नभएका भने होइनन् । आउजाउ गर्न असजिलो र बास बस्ने ठाउँ छैनन् । ‘बाह्रै महिना बग्ने फुङफुङे झरनाको सम्भाव्यता अध्ययन गर्‍यौं,’ सुरेशले भने, ‘तर होमस्टेको व्यवस्थापन नगरेसम्म पर्यटक पठाउन समस्या छ ।’


उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे स्थानीयलाई सहयोग गरेर भए पनि होमस्टे चलाउने योजना रहेको बताउँछन् । ‘समुदायसँग कुरा भयो, उहाँहरू पनि तयार हुनुहुन्छ,’ उनले भने, ‘सबैका बारी बाँझो छन्, हरियोपरियो छैन, साग रोप्नेदेखि कोठा व्यवस्थापन गर्ने र तालिम दिनेसम्मको सहयोग गर्नु आवश्यक छ ।’ यसका लागि संघ, पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले सहकार्य गरेका छन् । आफूले सकेको गर्ने र थप सहयोगका लागि गाउँपालिकालाई झकझक्याउने उनी बताउँछन् ।


पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले पाथीभरा आउने तीर्थयात्रीलाई एक/दुई दिन रोक्न नसक्नु चुनौती भएको बताउँछन् । ‘झापाको बिर्तामोडबाट हिँडेको साँझ माथिल्लो फेदीमा बास बस्न पुग्छन्,’ उनले भने, ‘भोलिपल्ट बिहानै पूजा गरेर बिर्तामोड नै फर्कन्छन्, ताप्लेजुङ पाँचथर दुवै जिल्लामा बास बस्दैनन् ।’ बसेनन् भन्दा पनि पर्यटकलाई राखेर आफ्नो गाउँठाउँ चिनाउन सकिएन भन्ने चिन्ता भएको उनको भनाइ छ । फुङलिङ नजिकै शिवको गुफा भएको मानिने सिद्धिडाँडा मन्दिर छ भने नजिकै पोखरी पनि छ । भिन्तुनाडाँडामा घुन्सा हेलिकप्टर दुर्घटनामा परेका संरक्षणविद्को सालिक राखिएको छ । यहाँबाट ताप्लेजुङका अधिकांश स्थान देख्न सकिन्छ ।


फुङफुङे र इलाडाँडा झरना जाने सडकले जोडिए पर्यटकले दुई दिनसम्म थप घुम्न पाउँछन् । मोटरबाटो पुग्नै लागेको फुङफुङेमा सदरमुकामबाट दिउँसो १ बजे हिंडे बेलुका पुगिन्छ । यहाँ लोकल कुखुरा, तोङ्बा, राँगाको सुकुटी, गुन्द्रुक, मकैको भात खान पाइन्छ । बस्नका लागि ३२ वटा घर रहेको गाउँपालिका अध्यक्ष रामकुमार साँवा बताउँछन् ।


लिम्बू समुदायको मात्रै बसोबास भएकाले संस्कृति पनि अवलोकन गर्न पाइन्छ । भ्रमण वर्षअघि नै होमस्टे थालेर भारत र चीनबाट आएका पर्यटकलाई घुमाउन लैजाने उद्देश्यले योजना पनि बनेको छ । जिल्लाले फागुन ९ देखि १३ गतेसम्म गर्ने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवमा ती स्थानलाई गन्तव्यस्थल बनाउने उद्देश्य राखिएको घिमिरेले बताए ।


आकर्षक गन्तव्य भए पनि तिम्बुङ पोखरी टाढा भएकाले कसरी जोड्ने भन्ने चिन्ता व्यवसायीको छ । ‘तीन दिनसम्म हिंड्नुपर्दा बाहिरका मान्छे थाक्छन्,’ लिम्बूले भने, ‘सररर गाडीमा जाने फिर्ने चाहना राख्छन्, तर हाम्रोमा सडककै छैन ।’ सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाका अनुसार यहाँ यातायात पुग्न दुई/चार वर्षै लाग्छ । बाटै नभएकाले अहिलेको जोड पैदलमार्गमा बनाउनेमा छ । जिल्लाका पाथीभरा, फुङफुङे र तिम्बुङ पोखरीलाई नेपालका सय पर्यटकीय गन्तव्यमा समेटिएको छ । सांसद तथा पर्यटनमन्त्री योगेश भट्टराईले यी ठाउँका लागि निर्वाचन क्षेत्र कोषबाट रकम विनियोजन गरेका छन । तिम्बुङ पोखरीमा अघिल्लो वर्ष संस्कृति मन्त्रालयले ५० लाख रुपैयाँ बजेट पनि विनियोजन गरेको थियो ।

प्रकाशित : मंसिर २६, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?