आफ्नै छोरी चिन्दिनन् आमा

विनु तिम्सिना

(विराटनगर) — आमाभन्दा प्यारो सम्बन्ध अरू कोसँग होला ? अझ नवजात शिशु र बालबालिकाहरू त आमाबाहेक खासै अरूको काखमा जान समेत मान्दैनन् तर विराटनगरस्थित मानव सेवा आश्रममा उद्धार गरेर ल्याइएकी १० महिने शिशु सुम्निमालाई भोजपुर घर भएकी ३० वर्षीया शिवकुमारी राई चिन्दिनन् । 

आश्रममा दुवै आमाछोरी बस्दै आएका छन् । न त आमा छोरीप्रति स्नेह देखाउँछिन् न त छोरी नै आमाको काख खोज्छिन् । बरु सुम्निमा आश्रममै बस्दै आएकी मिलनरानो दाससँग खेल्ने रमाउने गर्छिन् । ‘छोरी भनेर न त आमा काखमा लिन्छिन् न त छोरी नै उनीसँग मान्छिन्,’ आश्रमका स्वयंसेवक नवराज केसीले भने, ‘आफ्नी आमासँग भन्दा आश्रममै बस्दै आएकी मिलन रानोसँग बढी नजिक छिन् नानी ।’


मिलन रानो पनि मानसिक रोगी नै हुन् तर पनि उनी सुम्निमालाई निकै माया गर्छिन् । ‘आफ्नै छोरीलाई जस्तै माया गर्नुहुन्छ दास दिदीले,’ केसीले भने, ‘एकैछिन छाड्न मान्नुहुन्न । दिउँसो त हामी पनि उहाँलाई नै दिन्छौं सुम्निमा तर राति भने मानसिक बिरामीको जिम्मामा दिँदा केही होला कि भन्ने डरले हामी आफैं राख्छौं नानीलाई ।’


भोजपुरको आमतेककी राई लामो समयदेखि मानसिक रोगबाट ग्रसित थिइन् । परिवारमा समेत अपांग दाजुबाहेक अरू कोही नभएपछि उनी भौतारिएर हिंड्ने गर्थिन् । धनकुटामा सामूहिक बलात्कारमा परेपछि उनी झन् अर्धचेत नै बनिन् । बलात्कारपछि जसोतसो भोजपुर पुगेकी उनले अर्धचेत अवस्थामा घरैमा छोरी जन्माएकी हुन् ।


बलात्कारबाट जन्मेकी छोरीसहित मानव सेवा आश्रमले भदौमा उनलाई उद्धार गरेर विराटनगर ल्याएको हो । सुम्निमाले नामसमेत मानव सेवा आश्रममै आएर पाइन् । ‘सुम्निमालाई कोकलेको बच्चो भन्नुहुन्छ शिवकुमारी दिदी,’ केसी भन्छन् ।


शिवकुमारी सबओभरसियरकी विद्यार्थी हुन् । पढ्दापढ्दै मानसिक अन्तुलन गुमाएकी उनको उद्धारका लागि छिमेकीहरूले २०७० सालमै पहल गरेको मानव सेवा आश्रमले बताए । त्यसबेला मानव सेवा आश्रम हेटौंडामा मात्रै सीमित भएकाले उद्धार गर्न भोजपुर जान सक्ने अवस्था नरहेकाले आफूहरूले आश्रमसम्म ल्याइदिन आग्रह गरेको उनले बताए ।


उनको उद्धारको पहल भइरहेकै बेला उनी घर छाडेर बेपत्ता बनिन् । ‘उनी घर छाडेर हिँडेकाले उद्धार गर्दिनुस् भन्ने उनका छिमेकीहरू पनि सम्पर्कमा आएनन्,’ केसीले भने, ‘हेटौंडादेखि उद्धार गर्न भोजपुर जान हाम्रो पनि स्रोतसाधनले भ्याएन, त्यसैले त्यो बेला उनको उद्धार गर्न सकिएन ।’


मानसिक अवस्था ठीक नभएपछि उनी धेरै ठाउँ भौंतारिएर हिंडिन् । धनकुटामा सामूहिक बलात्कारमा पनि परिन् । बलात्कारपछि जन्मिएकी छोरीलाई कहिले जंगलमा छाड्ने, कहिले भोकै राख्ने गरेको देखेर स्थानीयहरूले मानव सेवा आश्रममा सम्पर्क गरेपछि आफूहरूले उद्धार गरेर ल्याएको बताए । आश्रममा ल्याएपछि पनि उनले आफ्नी छोरीलाई चिन्न सकेकी छैनन् ।


एक महिनाअघि सामाजिक विकास मन्त्रालयले उद्धार गरेर मानव सेवा आश्रमको जिम्मा लगाएको मोरङ रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाका ४६ वर्षीय दिनेश तिम्सिनामा सुधार आइरहेको छ । विगत ३० वर्षदेखि मानसिक सन्तुलन गुमाएका उनी उपचार अभावमा डोरीले बाँधिएर जीवन बिताइरहेका थिए । सानैमा बुबा बितेको र आमा सुस्त श्रवणशक्ति भएका कारण उनको समयमा उपचार हुन नसक्दा उनले बन्दी जीवन जिउनुपरेको थियो ।


तिम्सिना सुरुका दिनमा पढाइमा निक्कै अब्बल थिए । झापाको जुरोपानीमा रहेका मावलीमा बसेर पढ्ने उनी एसएलसीमा फेल भएपछि भने मानसिक रूपमा विक्षिप्त बनेका थिए । समयमै उपचार नपाउँदा उनी लामो समयदेखि साङ्लामा बाँधिएर बस्न बाध्य थिए । बसेकै ठाउँमा दिसापिसाब गर्ने उनी मानव सेवा आश्रममा नियमित उपचार र औषधि सेवनबाट शौचालय जान सक्ने भएको बताए ।


उनीहरूसहित हाल आश्रम विराटनगरमा १६ जना मानसिक रोगी बस्दै आएका छन् । मानसिक रोग विशेषज्ञ डा. निमेष राजभण्डारीले उनीहरूको नियमित जाँच गरिरहेका छन् । कोही पनि सडकमा बस्नु नपरोस्, खासगरी मानसिक सन्तुलन गुमाएर परिवार र समाजबाट अपहेलित भई सडकमा जीवन गुजारा गर्नु नपरोस् भन्ने उद्देश्यले हेटौंडाबाट सुरु भएको मानव सेवा आश्रम हाल सात वटा प्रदेशको १३ वटा जिल्लामा विस्तार गरिएको छ ।


आश्रमले हालसम्म ६ सय ५० जना मानसिक रोगीलाई उपचारपछि परिवारमा पुनर्मिलन गराएको केसीले बताए । आश्रमले विभिन्न जिल्लामा हाल ८ सय जनालाई सेवा दिइरहेको उनले बताए साथै एक सय ५० जनालाई आश्रममा अल्पकालिक सेवा दिइरहेको उनले जनाए । प्रकाशित : मंसिर २६, २०७६ १२:२५

प्रतिक्रिया
पठाउनुहोस्

धानको भाउ बढ्दा किसान खुसी

भवानी भट्ट

(कञ्चनपुर) — भीमदत्त नगरपालिका २, उल्टाखाममा विश्वेश्वरप्रसाद भट्टले झन्डै दशकपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिकको खाद्य संस्थान) मा धान बिक्री गरे । यसअघि ढिलो गरि काँटा लाग्ने र बजारको भन्दा कम मूल्य पाइने गर्दा उनले बजारमै बिक्री गर्दै आएका थिए । यसपटक बजारको भन्दा राम्रो मूल्य पाएपछि उनले लिमिटेडमै धान बिक्री गरेका हुन् ।

‘यसपालि धानको भाउ राम्रो तोकिएको छ, विगतको भन्दा चांडो काँटा लागेको थियो,’ धान बिक्रीका लागि आएका भट्टले भने, ‘तर धेरै कृषकले भने सस्तोमै व्यापारीलाई नै धान बेचे ।’ उनले १२ क्विन्टल धान बिक्री गरेका हुन् । उनका अनुसार गत वर्ष मंसिर मध्यतिर मात्रै धान खरिद सुरु भएको थियो ।

भीमदत्त नगरपालिका १९, बाग्फाँटाका वीरबहादुर पालले पनि ७/८ वर्षपछि व्यापारीलाई बेच्दै आएको धान यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा बिक्री गरे । व्यापारीको भन्दा प्रतिक्विन्टल २/३ सय बढी पाएपछि उनले यहांँ बिक्री गरेका हुन् । ‘सुरुमै बेच्नेले क्विन्टलको १८ सय २ हजार मात्रै पाए,’ पालले भने, ‘यहाँ (लिमिटेडमा) काँटा लागेपछि व्यापारीले पनि भाउ बढाएका हुन् ।’ उनका अनुसार अहिले पनि व्यापारीले प्रतिक्विन्टल २२/२३ सयमा खरिद गरिरहेका छन् । लिमिटेडले प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँमा खरिद गरिरहेको छ ।

लिमिटेडले यस वर्ष महेन्द्रनगरमा मंसिर १ देखि धान खरिद सुरु गरेको हो । महेन्द्रनगरमा मात्रै खरिद केन्द्र राखिएकाले आसपासका किसान मात्रै धान बिक्री गर्न आएका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्बास क्षेत्रका कृषकले भने व्यापारीलाई नै सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ । केही वर्षअघि सम्म धान खरिदका लागि लिमिटेडले जिल्लाका विभिन्न ठाउँमा खरिद केन्द्र स्थापना गर्दै आएको थियो । जसका कारण किसानहरूले सहजै बिक्री गर्न पाउँथे ।

यस वर्ष ७ हजार क्विन्टल धान खरिदको कोटा पाएकामा हालसम्म ५ हजार २ सय क्विन्टल धान खरिद भइसकेको लिमिटेका महेन्द्रनगर शाखा प्रमुख जयराज जोशीले बताए । उनका अनुसार धान आउने क्रम जारी रहेकाले मंसिरभित्रै कोटाअनुसारको धान खरिद भइसक्ने देखिन्छ ।

प्रकाशित : मंसिर २६, २०७६ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×