लोकसेवा आयोग विराटनगरमा रहने

कान्तिपुर संवाददाता

मोरङ — प्रदेशको मन्त्रिपरिषदले प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा राख्ने मंगलबार निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उक्त निर्णयसंगै प्रक्रिया अघि बढेकाले अब चाँडै अन्य प्रक्रिया अघि बढाउने बताए ।

ZenTravel

उनले प्रदेश सहकारी रजिस्टार र यायात निर्देशनालयको कार्यालय इटहरीमा राख्ने निर्णय भएको बताए । मन्त्रिपरिषद्ले सार्वजनिक निजी सहकारी साझेदारी लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक छनोटका लागि प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलको संयोजकत्वमा तीन सदस्यीय समिति चयन गरेको छ । समितिमा प्रमुख सचिव सुरेश अधिकारी र एक जना सचिव रहेन निर्णय भएको मन्त्री कार्कीले बताए ।

Meroghar

खोटाङ जिल्लास्थित भूमि व्यवस्था कार्यालयको निर्माणाधीन भवन खोटाङ नगरपालिकालाई उपभोगका लागि दिने निर्णय भएको उनले बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, विभिन्न अनुदान तथा सहयोगसम्बन्धी बजेटको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरिएको कार्कीले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि व्यवसाय अनुदान कार्यविधि २०७६ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरियो ।

धरान नगरपालिका पूर्वमेयर ध्यानबहादुर राई क्यान्सर रोगबाट पीडित भई भारतको दिल्लीमा उपचार गराइरहेकाले प्रदेश सरकारले यथोचित आर्थिक सहयोग प्रदान गर्ने नीतिगत निर्णय गरिएको उनले बताए ।

प्रकाशित : मंसिर २५, २०७६ १०:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गाउँको दूध झिसमिसेमा सहरका घरघरै

प्रदीप मेन्याङ्बो

(सुनसरी) — बराहक्षेत्र नगरपालिका रामझोडाका नवीन कोइराला बिहान ४ बजे उठेर ड्रम र ट्यामी राखिएको मोटरसाइकल स्टार्ट गर्छन् । करिब दुई घण्टामा २० घर घुमेर धरान जाने जंगलको मुखको बाटोमा पुग्दा मोटरसाइकलमा रहेको ड्रम र ट्यामी भैंसी र गाईका दूधले भरिन्छन् ।

उनले बाह्रै महिना सयदेखि सवा सय लिटर दूध मोटरसाइकलमा बोकेर धरानका ८० घरमा दैनिक वितरण गर्न थालेको ६ बर्ष भयो । ‘गाउँमा उत्पादित दूध संकलन गरेर धरानका घरघर पुर्‍याउनेहरू मजस्ता धेरै छन्,’ उनले भने ।

कोइरालाका अनुसार बराहक्षेत्रको कालाबन्जर, रामझोडा, सिमरवन, विशाल चोक, धनपुरी, पिडारी, सालबनी, चक्रघट्टी, राजाबास, प्रकाशपुर, मधुवनका धेरै कृषकले गाई–भैंसीको दूध उत्पादन गरी सहर पठाउने गरेका छन् । गाउँमा उत्पादित ताजा दूध सहरी उपभोक्ताका चुलासम्म पुग्न थालेपछि स्थानीय कृषकले मूल्य पाएका छन् । यस्ता दूध पास्चराइज (प्रशोधन) गरी क्रिम निकालिएको हुँदैन । क्रिम ननिकालेको दूध ताजा मात्र नभएर बाक्लो, स्वादिलो र घ्यूसरीको हुने कोइराला बताउँछन् । ‘अचेल उपभोक्ताहरू यस्तै दूध सेवन गर्न चाहन्छन्,’ उनले भने, ‘बालबालिका, बिरामी र अस्पतालमा यस्ता दूधको माग बढेको छ । तर, अझै माग पूरा गर्न सकिएको छैन ।’

बराहक्षेत्रको दर्जन गाउँबाट धरानमा मात्र दैनिक सय जना बढीले ५० लिटरभन्दा बढी दूध ल्याउँछन् । भरौलको खोरियाका ३० वर्षीय विनोद दाहालले धरानमा दैनिक सय लिटर दूध ल्याउँछन् । ‘गाउँमा बिहान ४ बजेदेखि दूध संकलन गरेर धरानमा वितरण गरी फर्कंदा दिनको १२ बज्छ,’ उनले भने, ‘त्यतिन्जेलमा म दैनिक ४५ किलोमिटरको यात्रा गर्दोरहेछु ।’

काठमाडौंमा एउटा सानो मोबाइल पसल चलाएर बसे पनि चित्त नबुझेर उनी दूध व्यवसायी बनेका हुन् । कक्षा ४ सम्म अध्ययन गरेका दाहालले अर्का एक जनाले छाडेका ग्राहकका लागि ५० हजार रुपैयाँमा किनेर डेढ वर्षदेखि यो पेसा अपनाएको बताए ।

स्थानीय कृषकहरूले उत्पादन गरेका ताजा दूध सबैभन्दा बढी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक, नर्स र कर्मचारी आवासमा खपत हुने गरेको छ । प्रतिष्ठानको एउटै आवास क्षेत्रमा १० हजारभन्दा बढी जनसंख्या छ । अधिकांश चिकित्सक, नर्स र कर्मचारीहरूले स्वास्थ्यका कारण आफ्ना बालबालिकालाई ताजा दूध दिन मन पराउने गरेका छन् ।

भरौल कालाबन्जरका दुग्ध व्यवसायी तथा कृषक भविन्द्र कार्की, पदक कट्वाल, श्रीकुमार पाण्डे, अनुज बस्नेत र योगेन्द्र बस्नेतका अनुसार गाउँमा संकलन गरेर ल्याउने अधिकांश दूध व्यवसायी नियमित ग्राहक रिसाउलान् भनेर ताजा दूधमा पानी थप्ने आँट गर्दैनन् ।

अनुज बस्नेत आफैंले गाउँमा तीन भैंसी र दुई गाई पालेका छन् । उनले १२ वर्षदेखि धरानका ७० घरमा दैनिक नियमित दूध पुर्‍याउँदै आएका छन् । उनले भने, ‘भाडामा बस्ने उपभोक्तामध्ये कोही–कोहीले मासिक रकम नदिई भाग्नेहरूबाट जोगिन सकिएको छैन । कोठा छाड्नेले दूधवालालाई खबर गरेर जाँदैन । नोक्सान हुने भनेको यही हो ।’

बजारमा प्रशोधन गरेको डेरीको दूध प्रतिलिटर ८० रुपैयाँ छ । तर गाउँबाट मोटरसाइकल, साइकलमा सीधै सहरमा ल्याएको ताजा दूध भने सरदर ८५ देखि ९० रुपैयाँ प्रतिलिटरका दरले बेच्ने गरेका छन् । व्यवसायीका अनुसार स्थानीय कृषकहरूबाट गाइको ५५ रुपैयाँ प्रतिलिटर र भैंसीको ६५ रुपैयाँ प्रतिलिटरले किनेर संकलन गर्ने गरेका छन् ।

धरानका आधा दर्जन होटलमा समेत भैंसीको दूध आपूर्ति गर्दै आएका नवीन कोइरालाले भने, ‘दूध बेचेर धनी नबने पनि परिवार भने आरामले पालिएको छ । दैनिक दुई/चार सयको खाँचो हुन्न ।’

पछिल्लो समय उपभोक्ताहरूले पाउडर दूध प्रयोग गर्न छाडेसँगै डेरीको भन्दा ताजा दूध नै सेवन गर्न मन पराउन थालेका छन् । ‘पहिले डेरीको दूध लिने गरेका थियौं’ धरान १८ बुद्धचोककी जयन्ती राईले भनिन्, ‘अचेल गाउँको दूध सीधै आइपुग्छ ।’

बराहक्षेत्रका गाउँहरूमा करिब ३ हजार कृषकहरूले गाई भैंसीको दूध उत्पादन गर्दै आएका छन् । दुग्ध व्यवसायीका अनुसार ती किसानले दैनिक करिब २० हजार लिटर दूध उत्पादन गर्ने गरेका छन् । उनीहरूले उत्पादन गरेकामध्ये १५ प्रतिशत आफैं खपत गर्छन् । बाँकी रहेको दूधमध्ये ४० प्रतिशत इटहरी र तरहराका डेरीले संकलन गर्ने गरेको छ । अरू धरान, इटहरी र झुम्का उपभोक्ताको घरघरमा पुग्ने गरेको छ ।

प्रकाशित : मंसिर २५, २०७६ १०:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×