२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पर्यटकीयस्थल विकासमा अवरोध

‘अतिक्रमित जमिन फिर्ता गर्न १० वर्षअघि मालपोत कार्यालयले गरेको फैसला अझै कार्यान्वयन हुन सकेको छैन’

खोटाङ — धार्मिक तथा पर्यटकीय बराहातालमा पूर्वाधार विकास गर्न अवरोध गरिएको छ । स्थानीयले जग्गा कब्जा गरेर बसेपछि पूर्वाधार विकासको गुरुयोजना कार्यान्वयनमा समस्या बनेको हो । बराहापोखरी गाउँपालिका उपाध्यक्ष गोमा मगरका अनुसार बृहत गुरुयोजनामा मन्दिर, विभिन्न जातजातिको संग्रहालय, बसपार्क, गेट, वृद्धाश्रम, कुटी, जाग्रामस्थल, मन्दिर लगायतका विभिन्न भौतिक संरचना निर्माणमा समस्या आएको हो ।

पर्यटकीयस्थल विकासमा अवरोध

बराहातालको बृहत्तर विकासका लागि विभिन्न योजना बनाइएको र त्यसका लागि जग्गा कब्जा गरेर बस्ने स्थानीय बाधक बनेकाले हटाउन समेत अनुरोध गरिएको मगरले बताइन् । यो ताल सरकारको एक सय गन्तव्यमध्ये पनि पर्ने भएकाले यसको विकासमा समस्या आएको उपाध्यक्ष मगरले सुनाइन् ।


संघीय सरकारले यो वर्ष ५० लाख बजेट दिएको र यसले विभिन्न काम गर्ने तयारी समेत गरिएको मगरले सुनाइन् । मगरका अनुसार यो बजेटले पोखरी वरिपरि पैदल मार्ग बनाउने, तालमा जमेको बालुवा निकाल्ने, विभिन्न मन्दिरहरू बनाउँने लगायतको काम गर्ने योजना बनाइएको छ ।


स्थानीयले बराहाताल वरिपरि शंखेश्वरी गुठी तथा सार्वजनिक जग्गा मिचेर घर–टहरा बनाएकाले खाली पटक–पटक अनुरोध गर्दा समेत अटेर गरेको मगरले सुनाइन् । बराहाताल वरिपरि बसेका २४ वटा घर–टहरा हटाउँन सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गरेको मगरले बताइन् ।


उनका अुनसार ६ महिने, तीन महिने, एक महिने, १५ दिने र सात दिने सूचना जारी गरिसक्दा समेत स्थानीयले अटेर गरेका छन् । जग्गा गरेर बस्ने स्थानीयलाई हट्न अनुरोध गर्दा हरिबोधनी एकादशी मेलासम्म बस्ने र त्यसपछि आफैले घर–टहरा हटाउँने सहमति समेत भएको थियो । ‘त्यसको समेत अबज्ञा भएपछि गाउँपालिकाले हटाउनुपर्ने अवस्था आएको छ ।’ मगरले भनिन्, ‘बराहतालको विकास, सबैको विकास भएकाले सहयोग गर्नु पर्नेमा अवरोध गर्नु राम्रो विषय होइन ।’


गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका काममा बाधक बनेका र मापदण्ड विपरित बनाइएका घर तथा टहरा हटाउँन प्रचलित कानुन अनुसार प्रक्रिया बढाइएको बताए । स्थानीयले कब्जा गरेको बराहतालस्थित शंखेश्वरी महादेव गुठीको जग्गा आफैं फिर्ता गरेका छैनन् ।


मालपोतले दश वर्षअघि अतिक्रमित जग्गा फिर्ता गर्ने फैसला गरी आदेश दिए पनि अझै फिर्ता नगरेका हुन् । गुठीको नाममा भएको बराहाटार, चालिसे, सावाटारी, बाह्रमुरेलगायतका जग्गा स्थानीय व्यक्तिहरूले कब्जामा लिएका हुन् ।


स्थानीय देवी रेग्मीका अनुसार बराहाटारस्थित गुठीको जग्गा स्थानीय ढकबहादुर कार्की, शिवकुमार श्रेष्ठ, जुक्तिराम राई, कर्म श्रेष्ठ, भुवन श्रेष्ठ, भरत तामाङ, हर्कबहादुर तामाङ, हङ्कङ् मगरलगायतले कब्जा गरेर घर बनाएका छन् । उनीहरूलगायत थुप्रैले खम्बा गाडेर जग्गा ओगटेका छन् । शंखेश्वरी महादेव गुठीको नाममा रहेको जग्गा बिक्री नै भइसकेका छन् ।


महन्त गिरीका अनुसार करिब ५५ रोपनी गुठीको जग्गा बिक्री भइसकेका छन् । उनका अनुसार स्थानीय बमबहादुर कार्की, तिलक विष्ट, छविलाल पुरी, तिलकबहादुर कटवाल, जीतबहादुर विष्ट, कृष्णबहादुर खत्री, शेरबहादुर खड्का, चन्द्रबहादुर खत्री, हीरामाया कार्की, धनमायाँ थापा, डम्बरबहादुर मगर, बुद्धिमान मगर र खोटेहाङ गाउँपालिका लिच्कीराम्चेका नरबहादुर अधिकारीले आफ्नो नाममा पास लिएका छन् ।


यी जग्गा गुठीयारले बिक्री गरेका हुन् । गुठीको अरु जग्गा कुन अवस्थामा छ भन्नेबारे आफूलाई थाहा नभएको गिरीले बताए । मालपोत कार्यालयका अनुसार गुठीको जग्गा व्यक्तिले रजिस्ट्रेसन गराएपछि २०४३ सालमा मुद्दा परेको थियो । मालपोतले मुद्दाको फैसला २०४७ सालमा गरेको थियो । फैसलापछि मालपोतले जग्गा फिर्ता गराउने आदेश दिएको थियो । यसबारे जिल्ला प्रशासनमा पटकपटक उजुरी आए पनि कारबाही हुन नसकेको महन्त गिरीले बताए ।

प्रकाशित : मंसिर २४, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?