कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धिचरण मार्ग वर्षौंदेखि जीर्ण

ट्र्याक खुलेको ४२ वर्ष भइसक्दा पनि राजमार्ग भएर हिँड्ने यात्रु हिलो, धूवाँ, धूलो र खाल्डाखुल्डीका कारण सास्ती खेप्न बाध्य छन् । मर्मत–सम्भारमा पटक–पटक करोडौं खर्च गरे पनि ९० प्रतिशत क्षेत्रमा खडक भत्किएका छन् ।
डिल्लीराम खतिवडा

उदयपुर — ट्र्याक खुलेको ४२ वर्ष भइसक्दा पनि सिद्धिचरण राजर्माग भएर हिँड्ने सर्वसाधारणले सहज यात्रा गर्न पाएका छैनन् । राजमार्गमा यात्रुले हिलो, धूवाँ, धूलो र खाल्डाखुल्डीका कारण सास्ती खेप्नु नियमित बनेको छ । मधेसलाई विश्वको सर्वोच्च शिखर सगरमाथासंग जोडने एक मात्र छोटो दूरीको राजमार्ग जीर्ण हुँदा सर्वसाधारणले सधैंको सास्ती खोप्नुपरेको हो ।

महत्त्वपूर्ण व्यापारिक केन्द्र कटारीको ‘लाइफलाइन’ मानिने सिद्धिचरण जीर्ण हुँदा व्यवसायी ठूलो मारमा परेका छन् ।

पहिलो चरणमा ०३४ मा सिराहाको मिर्चैया–कटारी खण्डको २६ किमि ट्र्याक खुलेको थियो । त्यसपछि ०४८/४९ ताका कटारी–घुर्मी ४६ किमि ट्र्याक खोल्ने काम भयो ।


सिद्धिचरणको ७२ किमि खण्डको मिर्चैया–कटारी–घुर्मी ट्र्याक खुलेको पनि २०/२५ वर्षभन्दा बढी भइसक्यो । त्यसयता करोडौ रुपैयाँ खर्चेर लोकमार्गको मर्मत–सम्भार गरिँदै आएको छ । तर, अहिलेसम्म स्तरोन्नति हुन नसक्दा मुख्य व्यापारिक केन्द्र कटारी बजारको व्यापार प्रभावित भएको छ ।


राजमार्ग स्तरोन्नतिका लागि पटक–पटक संघीय सरकारको ध्यानाकर्षण गराइएको छ । स्थानीय तह, उद्योग वाणिज्य संघ, स्थानीय/प्रदेश/संघ सरकारका प्रतिनिधि (नगरपालिकाका पदाधिकारी/प्रदेशसभा सदस्य/प्रतिनिधिसभा सदस्य) ले स्तरउन्नति गरिदिन भन्दै संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।


तर माथिल्लो पहाडी क्षेत्र सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई कटारी बजारसँग जोडने राजमार्ग स्तरोन्नति हुन सकेको छैन । त्यसैले कटारी बजारको व्यापार खस्कँदो अवस्थामा छ । राजमार्ग जीर्ण भएकै कारण २६ किलोमिटर यात्रा तय गर्न यात्रुबाहक साधनलाई डेढ घण्टा लाग्ने गरेको छ ।


मालबाहकलाई २६ किलोमिटर सडक तय गर्न अढाई घण्टा लाग्छ । त्यसैगरी, ४६ किलोमिटर कटारी–घुर्मी खण्ड यात्रा तय गर्न करिब ६ घण्टा लाग्ने गरेको सवारी चालक बताउँछन् । कटारी –घुर्मी खण्ड पहाडी भूभाग भएर राजमार्ग गएकाले धेरै जोखिम छ ।

सिरहाको मिर्चैयादेखि ओखलढुंगाको सिमाना हर्कपुरसम्म ७२ किलोमिटर सडक जीर्ण हुँदा समस्या भएको हो । माथिल्लो पहाडी क्षेत्र र तराईसँग जोड्ने सिद्धिचरण राजर्माग बर्सेनि मर्मत हुँदा पनि समस्या उस्तै छ ।


मिर्चैया–कटारी–घुर्मी खण्डको ९० प्रतिशत क्षेत्रमा सडक भत्किएको छ । ठूलाठूला खाल्डो परेका कारण सवारी आवागमनमा समस्या छ । उदयपुरको माथिल्लो पहाडी क्षेत्रसँगै सोलु, ओखलढुंगा र खोटाङका लागि सिद्धिचरण राजमार्ग हुँदै सर्वसाधारण आवतजावत गर्नुपर्ने हुन्छ । खासगरी मुलुकको पूर्वी भाग र छिमेकी देश भारतबाट कटारी हुँदै आउने सर्वसाधारणले सिद्धिचरण भएर नै आवत–जावत गर्नुपर्ने हुन्छ ।


सडक मर्मत र पुनर्निर्माण गर्ने भनिए पनि काम नहुँदा जीर्ण बनेको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए । ‘सिद्धिचरण व्यापारी, धार्मिक, संस्कृति र पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण राजर्माग हो,’ खड्काले भने, ‘सोलु, ओखलढुंगा र खोटाङको मुख्य व्यापारिक केन्द्र कटारी र तराईका अन्य बजार भएकाले महत्त्वपूर्ण हो ।’ त्यसैगरी विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेश द्वार, पूर्वको पशुपति भनेर चिनिने हलेसी महादेव र खुम्बु क्षेत्र पर्यटक जाने राजमार्गको भएकाले पनि यो महत्त्वपूर्ण रहेको उनले बताए ।


व्यावसायिक दृष्टिकोणले महत्त्वपूर्ण भए पनि राजर्माग पुनर्निर्माण गरिनुपर्ने भन्दै उदयपुर उद्योग वाणिज्य संघले पछिल्लो समय सरोकारवाला सबैलाई राखेर स्तरउन्नतिका लागि अभियान सुरु गरेको छ । ‘विकासको मरुदण्ड सडक भएकाले पनि राजमार्ग पुनर्निर्माणमा सरकारलाई ध्यानाकर्षण गराउन अभियान थालिएको हो,’ संघका महासचिव जमानसिंह बस्नेतले भने, ‘सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ ।’


तेन्जिङ नोर्गेशेर्पा र एडमन्ड हिलारी कटारी बजार हुँदै पैदल सगरमाथा चढ्न गएकाले पनि यसको महत्त्व छ । पूर्वी नेपालसँगै भारत, भुटान, बंगलादेशलगायतका पर्यटक सगरमाथा क्षेत्र र खोटाङको हलेसी जाने सिद्धिचरण छोटो बाटो हो ।


‘साँघुरो र जीर्ण सडकमा ज्यान जोखिममा राखेर सवारी चलाउनुपर्ने बाध्यता छ,’ चालक प्रकाश बुढाथोकीले भने, ‘सडक निर्माण भएयता बर्सेनि मर्मतका नाममा करोडौ रुपैयाँ खर्चे पनि सडकको अवस्था सुध्रिएको छैन ।’ बाटो ज्यादै साँघुरो, धेरै मोड भएको र जीर्णसमेत हुँदा धेरै समस्या भएको उनले बताए ।


मिर्चैया–कटारी–घुर्मी हुँदै अहिले साना–ठूला सयभन्दा बढी यात्रुबाहक सवारी सञ्चालन हुँदै आएका छन् । दैनिक झन्डै सय जति ट्रकले ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका लागि दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् ।


राजमार्गको स्तरउन्नतिका लागि प्रयास गरिरहेको उदयपुर निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य सुरेशकुमार राईले बताए । सिद्धिचरणको स्तरउन्नतिका लागि पटकपटक प्रयास गरिँदा पनि नसकेको उनले बताए । प्रकाशित : मंसिर २३, २०७६ १२:०३

प्रतिक्रिया
पठाउनुहोस्

बाख्रापालनमा रमाउँदै मानबहादुर

कान्तिपुर संवाददाता

ओखलढुंगा — खिजिदेम्बा–७, रावादोलुका मानबहादुर खड्काले जीवन निर्वाहका लागि के मात्रै गरेनन् । काठमाडौंमा दशकौंसम्म ज्यामी कामदेखि, सुरक्षा गार्ड, व्यापार, व्यवसाय सबैथोक गरे । हाल उनी आफ्नै गाउँमा पाँच वर्षदेखि बाख्रापालन गरिरहेका छन् । ‘यशोदा एग्रो अर्गानिक कृषि फर्म’ भनेर कम्पनी दर्ता गरी वाख्रापालन थालेका हुन् ।

फार्ममा ४० वटा बोयर जातकासहित ११३ बाख्रा छन् । बीउका लागि बोयरका तीनवटा बोका छन् । त्यसमध्येको एउटा दक्षिण अफ्रिकाबाट १ लाख ७१ हजारमा मगाएका हुन् । अन्य दुईवटा हेटौंडास्थित बोयर फार्मबाट किनेर ल्याएका हुन् । अन्य बाख्रा खरी जातका छन् । सानन, जमुनापारी जातका बाख्रा १० वटा जति छन् ।

‘लगानीको हिसाबले हेर्ने हो भने आम्दानी प्राप्त भइसकेको छैन’ मानबहादुरले भने, ‘हालसम्म ३६ वटा बोका बिक्रीबाट २५ लाख हाराहारी मात्र नगद आम्दानी भएको छ ।’ पशुपालन आफैंमा लगानी गर्नेबित्तिकै आम्दानी खोज्ने पेसा नभएकाले टिक्न चुनौतीपूर्ण भएको उनले बताए । उनले फार्ममा ५ जनालाई रोजगारी दिएका छन् । घाँस खेती सुरु गरेका छन् । नेपालमा घाँसको बीउ पाउन गाह्रो भएपछि नाइजेरियादेखि मगाएर घाँस छरेका छन् ।

उनले हालसम्म सरकारी अनुदान जिल्ला पशु सेवा कार्यालयबाट १ लाख १२ हजार खोर सुदृढीकरणका लागि पाएका छन् । अन्य कुनै कार्यालयबाट सरकारी अनुदान लिएका छैनन् । पशु विकास तथा कृषि कार्यालयबाट दिइने अनुदान अधिकांश कमिसन दिनेहरूलाई मात्र वितरण हुने गरेकाले नपाएको गुनासो छ । वास्तविक किसानहरूले अनुदान नपाउने प्रवृत्तिले गर्दा पनि नेपालमा धेरै किसानले व्यावसायिक रूपमा पशुपालन तथा कृषि गर्न नसकेको बताए ।

प्रकाशित : मंसिर २३, २०७६ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×