अपराध रोक्न प्रहरीद्वारा विवरण संकलन

बिर्तामोड — इलाका प्रहरी कार्यालय बिर्तामोडले होटल मालिक र घर भाडामा दिने घरधनीहरूको विवरण संकलन थालेको छ । आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विवरण संकलन थालिएको प्रहरीले जनाएको छ ।बिर्तामोड नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलका मालिकहरूले प्रहरीको विवरण अनिवार्य भर्नुपर्ने व्यवस्था गरिएको छ ।

होटल मालिकको फोटो, नागरिकताको फोटोकपीसहित तीन पुस्ते विवरण, परिवारको विवरण, कर्मचारीको पदसहितको व्यक्तिगत विवरण, कर्मचारी नियुक्ती गर्दा र बर्खास्त गर्दा तथा होटल बन्द गर्नुपरेको खण्डमा प्रहरीलाई अनिवार्य जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

होटल सम्बन्धित निकायमा दर्ता भए/नभएको, सीसी क्यामेरा जडान गरे/नगरेको, होटलमा आउने सम्पूर्ण ग्राहकको फोटोसहितको विवरण राख्नुपर्ने व्यवस्थासहितको विवरण संकलन गरिरहेको इलाका प्रहरी प्रमुख डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।

त्यस्तै घर भाडामा दिने घरधनीको फोटो, नागरिकतासहितको तीनपुस्ते विवरण, सम्पर्क नम्बर, मतदाता प्रमाणपत्र नम्बर, सवारी साधनको विवरण, परिवारको विवरण, घरभाडामा बस्नेको विवरण, भाडामा बस्नेको नागरिकता नम्बर, मतदाता प्रमाणपत्र नम्बर, सम्पर्क नम्बर, परिवारको विवरण राख्नुपर्ने जनाइएको छ ।

यसैगरी पेसा, सवारीसाधनको विवरण, घरदेखि बाटोसम्म पुग्ने नक्सा स्पष्ट खुलाई विवरण भर्नुपर्ने डीएसपी थापाले बताए । यसका साथै घर भाडामा दिनेले थप विभिन्न ९ वटा नियम पनि पालना गर्नुपर्ने उल्लेख छ । ‘अपराध रोकथाम तथा नियन्त्रण गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्नका लागि हामीले विवरण संकलन गर्न थालेका हौं’ डीएसपी थापाले भने । आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूले घर भाडामा लिएर तथा होटललाई आश्रयस्थल बनाएकाले विवरण संकलन आवश्यक भएको उनको भनाई छ ।

होटल सम्बन्धि यथार्थ विवरण नहुदा अवैध यौनधन्दा तथा बाल श्रम शोषणा, बालिकाहरू बेश्यावृत्तिमा प्रयोग हुने गरेको, ग्राहक ठगीमा पर्नेगरेको, झैझगडा हुने, अधिकांश होटलहरू करको दायरामा नआएकोलगायतका समस्या रहेको प्रहरीको विश्लेषण छ । होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन २०२३ को दफा ५ मा स्पष्ट व्यवस्था भएपनि होटल सञ्चालकहरूले ऐन कार्यान्वयन नगरेको थापाको भनाई छ ।

ऐन कार्यान्वयनका लागि लिखित, मौखिक एवं अन्तर्क्रियात्मक कार्यक्रमगरी पटकपटक आग्रह गर्दा समेत बेवास्ता गर्ने गरेकाले विवरण संकलन थालेको उनले बताए ।बिर्तामोडमा सानाठूला गरी ४ सय बढी होटल सञ्चालित रहेको प्रहरीको अनुमान छ । नगरभित्र २३ हजार घरधुरी रहेका छन् ।

‘होटलहरूको विवरण संकलन धमाधम भइरहेको छ । घर मालिकहरूको भने तत्कालै नगरभित्रका सबै टोल विकास संस्थाहरूसंगको समन्वयमा विवरण संकलन गर्ने काम सुरु गर्नेछौं’ डीएसपी थापाले भने ।

प्रकाशित : मंसिर २३, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?