वृद्धको मृत्यु ‘शंकास्पद’
विराटनगर — ग्यास लिक भएर आगलागी हुँदा मृत्यु भएको भनिएका विराटनगर महानगरपालिका शनिहाटका ७४ वर्षीय जयप्रसाद दाहालको मृत्यु शंकास्पद देखिएको छ । शनिबार साँझ घरमा एक्लै बसेका दाहाल आइतबार बिहान आफ्नै घरमा आधा जलेको अवस्थामा मृत भेटिएका थिए ।
उनको घाटीमा गहिरो चोट देखिएका कारण घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । परिवारसहित काठमाडौंमा बस्दै आएका उनी शनिबार दिउँसो विराटनगर आएका थिए ।
उनी कटहरीमा रहेको खेती र विराटनगरको घर बिक्रीका लागि आएको बताइएको छ ।
दाहालको शव भेटिएको घर राधेश्याम दराकले भाडामा प्रयोग गर्दै आएका थिए । राधेश्यामले दाहालले घर बिक्री गर्ने बताएपछि केही दिनअघि मात्र घर खाली गराएका थिए । दाहाल काठमाडौंबाट आएकै दिन साँझ राधेश्यामको घरमा खाना खाएर शनिहाटस्थित आफ्नो घरमा आएर सुतेका थिए ।
राधेश्यामले मोरङ प्रहरीसमक्ष शनिबार घरमा खाना खाएर फर्किएका उनलाई आइतबार बिहान भेट्न आउँदा ढोका नखोलेपछि छिमेकीलाई बोलाएर ढोका खोल्दा मृत भेटिएकाको आफन्तले बयान दिएका छन् ।
आधा जलेको शरीरमा चोटपटक भएका कारण दुर्घटना नभई हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ । घटनास्थल नजिकै चक्कु भेटिएको छ । भान्सा कोठा नजिकै रहेको कोठामा सुतेका दाहालको ओछ्यान नजिकै ग्यासको सिलिन्डर जलेको अवस्थामा भेटिनुले पनि घटना शंकास्पद देखिएको अधिकारीले बताए ।
प्रकाशित : मंसिर २३, २०७६ ११:४१