२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

होर्डिङ बोर्डले पाथीभरा जंगल कुरूप

आनन्द गौतम

(ताप्लेजुङ) — ‘वन्यजन्तु, चराचुरुंगी र वनस्पति देशका अमूल्य सम्पत्ति हुन्, यिनीहरूको संरक्षणमा हामी सबै जुटौं’ यो सन्देश लेखिएको होर्डिङबोर्ड पाथीभरा क्षेत्रमा टाँगिएको छ ।

यो बोर्डमा नेपाल सरकार, सामुदायिक वन उपभोक्ता समिति, रेडपान्डा नेटवर्कलगायतको लोगो छ । वनस्पति जोगाउने नारा लेखिएको बोर्ड भने रुखैमा झुन्ड्याइएको छ । त्यो पनि फलामका ठूला काँटीले ठाउँ ठाउँमा खोपेर ।


त्यसैसँग जोडेर पाथीभरा सिम्बू सामुदायिक वन उपभोक्ता समिति फावाखोलाको पनि बोर्ड झुन्ड्याइएको छ । क्षेत्रफल, जरिवानालगायत विवरण उल्लेख गरिएको बोर्ड झुन्ड्याइएको बोर्डहरू देख्ता रुखलाई नै बोझ हुने गरेको देखिन्छ । नेपाल पर्यटन बोर्डले पनि पाथीभरा क्षेत्रको काफ्लेपाटी छेउमा आयोजनाको होर्डिङ बोर्ड टाँसेको छ । १५ लाखको आयोजनाको होर्डिङबोर्डमा विनियोजित रकम, सम्झौता र सम्पन्न गर्ने मिति, साझेदार तथा सहयोगी संस्थाको नाम लेखिएको छ । यो बोर्ड पनि रुखमा काँटी हानेरै झुन्ड्याइएको छ । दह्रो बनाउनका लागि ठाउँ ठाउँमा काँटी हानिएको हो ।


यी मात्रै नभएर सुकेटार छेउको देउरालीदेखि पाथीभरा मन्दिरसम्मै यस्ता होर्डिङबोर्ड टाँगिएका छन् । हरेक बोर्ड रुखमा झुन्ड्याइएका छन् र फलामको काँटी, करुवा हानिएका छन् । ठूला रुखदेखि साना बिरुवासम्मलाई होर्डिङबोर्ड झुन्ड्याउन प्रयोग गरिएको छ ।


बोर्ड झुन्ड्याउन संरक्षणमा आबद्ध रेडपान्डा नेटवर्कदेखि स्वयं उपभोक्ता समितिसम्म सक्रिय छन् । डिभिजन वन कार्यालयका प्रमुख मोहनलाल कर्ण काँटी हानेर बोर्ड झुन्ड्याएको देख्ता आफ्नो छाती दुखेको सुनाउँछन् । रेडपान्डा नेटवर्कलगायत संस्थालाई हटाउनका भनिसकेको उनले बताए । ‘यो गलत कार्य हो, यसलाई नियन्त्रण गर्न लाग्छौं,’ उनले थपे, रुखबिरुवामा केहीको पनि असर हुनु हुँदैन ।’ सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा फलामका वस्तुले रुखबिरुवा मर्नेसम्मको सम्भावना हुने बताउँछन् । पाथीभरा जाँदा आफूले पनि जथाभाबी होर्डिङबोर्ड रुखमा झुन्ड्याएको देखेको उनले बताए । ‘हामी यो उपभोक्ता समितिमार्फत सबै हटाउँछौं । अब यसरी राख्नै नदिनका लागि समूहसँग छलफल गर्छौं,’ उनले भने, ‘कसैलाई राख्ने मन भए विकल्प प्रयोग गर्न भन्छौं ।’


पाथीभरा जाने अधिक तीर्थयात्रीको आवागमन हुने यो क्षेत्रमा सन्देश लेखेजस्तो गरेर आफ्नो व्यवसायको बिज्ञापन गर्ने खालका बोर्ड अधिक छन् । ‘सकिन्छ सरसफाइ गरौं, सकिदैन फोहोर नगरौं’ लेखिएको बोर्डको तल व्यावसायिक कम्पनीको नाम उल्लेख छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरे सयौंको संख्यामा उक्काएर फाले पनि साध्य नभएको बताउँछन् । ‘हाम्रा कर्मचारी साथीले पटक–पटक फाल्ने गरेका छन्, तैपनि ल्याएर टाँसिहाल्छन्,’ उनले भने । माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका इन्चार्ज धनराज तुम्बापो लिम्बू आइन्दा कसैलाई पनि यसरी रुखमा टाँस्न नदिने र टाँसेको पनि उप्काएर फाल्ने गरी निर्णयका लागि छलफल सुरु भएको बताउँछन् ।

प्रकाशित : मंसिर २१, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?