१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बर्खामा टुटेको सम्बन्ध जोड्दै ‘फड्के’

आनन्द गौतम

(ताप्लेजुङ) — बर्खायाम सुरु भएपछि खोला नदीमा पानीको सतह बढ्न थाल्छ । गाउँका बासिन्दा खेती किसानीमा फर्कन्छन् । जेठ सुरु भएपछि खेतमा आली काट्ने, धानको ब्याड राख्ने, मकै गोड्ने जस्ता दैनिकी सुरु हुन्छ ।

बर्खामा टुटेको सम्बन्ध जोड्दै ‘फड्के’

लेकाली क्षेत्रमा त धान रोप्नै सुरु गरिन्छ । मकै, गहुँ, जौं थन्क्याउने र धान, कोदो, मास, मस्याम जस्ता बाली लगाउने बेला हुन्छ । मानिसहरूको हिँड्डुल पातलिन थाल्छ । जब हिउँद सुरु हुन्छ, सर्वसाधारण फर्सदिला हुँदै जान्छन । आवागमन बढ्न थाल्छ ।


अड्डा, अदालतलगायत सरकारी कार्यालयमा जाने, सहर बजार घुम्ने, आफन्तसँग भेटवार्ता गर्ने, छोराछोरीको विवाह गरिदिने, व्रतबन्ध गर्ने जस्ता गतिविधि सुरु हुन्छ । खोला नदीमा पानीको सतह घट्न थाल्छ । यतिबेला गन्तव्यको दूरी छोट्याउन अस्थायी पुल बनाउने गरिन्छ । ढुंगा, काठ र बाँसको प्रयोग गरी पुल बनाइन्छ । स्थानीय भाषामा यस्ता पुललाई ‘फड्के’ भनिन्छ । फुत्त तरिने भएकाले फड्के भनिएको स्थानीय बताउँछन् ।


सामान्यतया एकदेखि तीन दिनमा यो तयार हुन्छ । प्रत्येक वर्ष तमोर नदीमा फड्के थाप्ने फुङलिङ–३ भाटेका गोपाल बराल साना खोलामा एक र ठूला नदीमा तीन दिनसम्म लाग्ने गरेको बताउँछन । भूगोल, ठाउँअनुसार जनशक्ति र सामग्री खपत हुन्छ ।


तमोर नदीमा फड्के थापेर आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङलाई सदरमुकाम फुङलिङसँग नजिक्याउने भाटेका गोपाल बराल आफूहरूले तीन दिनमा सक्ने गरेको बताउँछन् । प्रत्येक वर्ष तमोर नदीमा फड्के थाप्ने उनीहरूको ७० जनासम्म जनशक्ति प्रयोग हुने गरेको छ । फ्ड्के थाप्न खेला वारि र पारि दुवैतिर मान्छे हुनु अनिवार्य छ । दुवै तर्फकालाई राहत हुने भएकाले यसबाट लाभ लिने खोला आसपासका बासिन्दाले ‘एक घर एक जनशक्ति’ अनिवार्य गर्ने गरेका छन । इच्छानुसार घरका अरू सदस्य र अरूले पनि श्रमदान गर्छन् ।


तीन दिन श्रम गर्दा कम्तीमा पाँच महिनासम्मका लागि दूरी छोटिने भएकाले नाइँनास्ति कसैले नगर्ने मेदिबुङका तुलसी गिरीको कथन छ । यो बेला तमोर, काबेली, मेवा, मैवा जस्ता ठूला नदीदेखि बालबालिका तार्ने स–साना खोलामा पनि काठ र बाँस लगाएर फड्के थाप्ने गरिन्छ ।


सामूहिकदेखि पारिवारिक तथा व्यक्तिगत प्रयोजनका लागि पनि फड्के थाप्ने गरिएको छ । फड्के थाप्दा सुरुमा ढुंगाको दह्रो अडान लगाउनुपर्छ । त्यसमा ठूला ढुंगाको गाह्रो मिलाइन्छ । ढुंगालाई टेवा बनाएर काटेको रूखलाई दुईतिरबाट जोडिन्छ । मोटो भाग फेदमा र टुप्पालाई बीचमा बनाइन्छ । जोडिएको रूखमाथि बाँस, रूखका हाँगा जस्ता ठाउँअनुसार त्यहाँ भेटिने सामग्री राखिन्छ । त्यसलाई बाँसको चोयाले बलियो गरी बाँधिन्छ । रूख नभएको ठाउँमा बाँस मात्रै जोडेर पनि बनाउने गरिएको छ । दह्रो र नहल्लिने भएकाले सकेसम्म रूखलाई प्रयोग गरिन्छ । रूखलाई ढुंगाले किचेर बीच भागमा चोयाले कसेपछि यो बलियो बन्छ र खोलामा वारपार गर्न सहज हुन्छ ।


धेरै खोला तथा नदीनाला र थोरै पुल भएकाले जिल्लाका अधिकांश स्थानमा यसरी फड्के थाप्ने गरेको सभासद सञ्चपाल मादेन बताउँछन् । विगतमा आफूले पनि थापेको स्मरण गरेका मादेन फड्केले बर्खामा टुटेको सम्बन्ध हिउँदमा स्थापित गरेको बताउँछन् ।


उनका अनुसार कम जनसंख्या भएको ओलाङचुङगोलादेखि पाँचथर र तेह्रथुम जोडिने निगुरादिनसम्म तमोर नदीमा समेत फड्के बनाउने गरिएको छ । उनले भने, ‘यस्तो कुनै खोला नदी हुँदैन जहाँ फड्के नभएको होस् ।’ पानी बढेपछि बगाउने र घटेपछि लगाउने फड्के बर्सेनि दोहोरिइरहने प्रक्रिया भएको स्थानीय बताउँछन् ।

प्रकाशित : मंसिर २१, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?