३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सात गन्तव्यमा पूर्वाधार विकास गरिँदै

तेह्रथुम — संघीय सरकारले आगामी वर्षलाई भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको बेला फेदाप गाउँपालिकाले स्थानीय स्तरका ७ नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी विकास निर्माण थालेको छ । 

सात गन्तव्यमा पूर्वाधार विकास गरिँदै

गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङबाङका अनुसार पर्यटकीय गन्तव्य पहिचानपछि आम्दानीको स्रोत वृद्धि हुने गरी पूर्वाधार निर्माण थालिएको हो । गाउँपालिकाले यसका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्याएको छ । वडा १ देखि ५ सम्मका पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधार विकास गर्दै सिङ्गो गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउनसमेत अध्ययन र अवलोकन भइरहेको गाउँपालिकाले जनाएको छ ।


फेदाप गाउँपालिकालाई जिल्लाकै नमुना पर्यटकीय गाउँपालिका बनाउन वडा स्तरबाटै पर्यटकीय स्थलको पहिचान गर्न थालिएको प्रवक्ता नवीन चोङबाङको भनाइ छ । स्थानीय तहमा आफूहरू आएलगत्तै ओझेलमा परेका पर्यटकीय स्थलको खोजी गरी संरक्षणका लागि समेत अभियान सञ्चालन गरिएको उनले बताए ।


३ सय ६५ मिटर अग्लो ह्यात्रुङ झरना यही गाउँपालिकामा छ । वडा ४ र ५ को सीमामा रहेको झरनाको पर्यटकीय विकासका लागि गाउँपालिकाले २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यही झरनालाई केन्द्र भागमा राखेर आसपास ७ स्थानका पर्यटकीय गन्तव्य समेत छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजाति र समुदायको संस्कृति, वेशभूषा, खानपान रहनसहन लगायतका विषयलाई समेत पर्यटन प्रवर्द्धनसँग जोडिएको गाउँपालिकाले जनायो । गाउँबस्तीका सुन्दरता र संस्कृतिलाई पर्यटनसँग जोड्दै घरबास कार्यक्रम विकासमा समेत गाउँपालिका लागेको अध्यक्ष चोङबाङको भनाइ छ । फेदाप गाउँपालिका धार्मिक एवं सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण स्थल मानिन्छ । पर्यटकलाई लक्षित गरी केही बस्तीमा घरबास कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गाउँपालिकाले थालेको छ । घरबासमा स्थानीय परिकारको स्वाद लिन पाइनुका साथै विभिन्न संस्कृतिको अवलोकन गर्ने व्यवस्था मिलाइने गाउँपालिको योजना छ ।


गाउँपालिकाले सबै वडामा कम्तीमा एउटा पर्यटकीय क्षेत्र पर्ने गरी नयाँ पर्यटकीय गन्तव्य स्थान छनोट गरेको छ । पहिलो स्थानमा ह्यात्रुङ झरनालाई राखेको गाउँपालिकाले अन्य ६ वटा पर्यटकीय गन्तव्य स्थानको छनोट पनि सकेको छ ।


वडा १, २ र ३ समेट्ने ओयाक्जुङ जलजले र सिम्लेको सीमामा रहेको चिचिलिङ पोखरी र भ्यागुते ढुंगा, सोही वडामा रहेको गुल्डुङ डाँडा, वडा २ ओयाक्जुङमा रहेको मझौ गुफा र भैंसे पोखरी, वडा ३ जलजलेमा रहेको माङगेनायक पदमार्ग, गाउँपालिका केन्द्र रहेको वडा १ पोक्लाबाङ बजार केही माथि रहेको भगवती डाँडा मन्दिर क्षेत्रलाई नयाँ गन्तव्य छानिएको छ ।

प्रकाशित : मंसिर २१, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?