१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सुक्दै सदरमुकाम दिक्तेल

स्थानीय सरकार विकास योजनाप्रति उदासीन, व्यापार व्यवसाय चौपट, रेमिट्यान्स घट्दो, बजार आउने सर्वसाधारणमा कमी 
डम्बरसिं राई

(खोटाङ) — सदरमुकाम दिक्तेलका सर्वसाधारणले बजारको विकासमा स्थानीय सरकार उदासीन बनेको बताएका छन् । बजार व्यवस्थित गर्नुको साटो भद्रगोल पारेको उनीहरूको गुनासो छ । 

सुक्दै सदरमुकाम दिक्तेल

स्थानीय सरकार बनेको धेरै भइसक्दा पनि धुलाम्य र कच्ची सडकले स्थानीयलाई सास्ती छ । अझ, जताततै पार्किङ, यत्रतत्र निर्माण सामग्री थुपारिनुले सवारी दुर्घटना तथा बजार थप कुरूप बनेको छ ।


बजार व्यवस्थित गर्नेबारे कुनै योजना नदिएको नेपाल चेम्बर अफ कमर्स खोटाङका अध्यक्ष खुसनारायण सैंजुले बताए । ‘स्थानीय सरकार बनेको यत्तिको वर्ष भयो, तर बजार व्यवस्थित बनाउने कुनै योजना बनाइएको छैन ’ उनले भने ।


खानेपानी योजनाको काम भने भर्खरै सुरु भएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घर स्थानीयलाई प्रशोधित स्वच्छ खानेपानी उपलब्ध गराउँने गरी यो योजनाको काम सुरु गरिएको हो । योजना करिब २२ करोड ५५ लाख ५८ हजार रुपैयाँमा सम्पन्न हुने स्थानीय प्रतिनिधिले बताए । यो काम पनि सुस्त गतिमा भइरहेको स्थानीयको गुनासो छ । स्थानीय तह कार्यान्वयनमा आएपछि दिक्तेल बजार क्रमश: सुक्दै गएको बजारबासीको गुनासो छ । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईका अनुसार दिक्तेलको व्यापार चौपट बनेको बताए । उनका अनुसार समग्रमा ५० प्रतिशत व्यापार घटेको छ ।


होटल व्यवसायी संघ खोटाङका संयोजक समुद्रप्रसाद जोशीका अनुसार होटलको व्यापार ५० प्रतिशतले घटेको छ । सरकारी कार्यालयहरू पालिकामा स्थापना हुनु, सरकारी तथा गैरसरकारी कार्यक्रमहरू पालिकामै केन्द्रित हुनु, मान्छेको आवतजावत घट्नु लगायतका कारण होटलको व्यापार ५० प्रतिशत घटेको उनले सुनाए ।


अन्य साना होटलहरूको अवस्था झनै नाजुक रहेको उनले जनाए । दिक्तेलमा साना–ठूला गरी करिब एक सय ५० होटल छन् । खुद्रा तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा पनि ठूलो गिरावट आएको छ । खुद्रा तथा दैनिक उपभोग्य वस्तुका संयोजक राजन आचार्यले पनि व्यापार घटेको प्रतिक्रिया दिए । पालिकाहरूमा खुद्रा तथा होलसेल पसल सञ्चालन हुनुका साथै कामकाजका लागि दिक्तेल आउनेहरू घटेकाले पनि व्यापारमा गिरावट आएको उनले बताए ।


करको दायरा समेत बढेकाले साना व्यापारीहरूले व्यापार गर्नै नसक्ने अवस्थामा पुगेको आचार्यको भनाइ छ । ‘सानो पसल राखेर बालबच्चा पढाउने र घर चलाउने सपना चकनाचुर भयो,’ उनले भने, ‘अब ठूला होलसेल पसलेहरूले समेत विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।’


यसैगरी, कपडाको व्यापार पनि घटेको छ । दिक्तेल आउनेहरू घटेको र यातायातको सुविधाले सहरबाटै ल्याउने भएकाले लत्ताकपडाको व्यापार घटेको व्यापारीहरूको भनाइ छ । जुत्ता–चप्पलमा पनि ठूलो मात्रामा गिरावट आएको छ । यसमा ७५ प्रतिशतभन्दा बढी गिरावट आएको व्यवसायी रमेश बजिमयले बताए ।


रेमिट्यान्स पनि ह्वात्तै घटेको छ । नेपाल चेम्बर अफ कमर्सका खोटाङका अध्यक्ष खुसनारायण सैंजूका अनुसार रेमिट्यान्समा २५/३० प्रतिशत कारोबार घटेको छ । दिक्तेल आउनेहरूको संख्या घटेकाले पनि रेमिट्यान्स् कारोबार घटेको खोटाङ उद्योग वाणिज्य संघ खोटाङका पूर्व अध्यक्ष राजु लयालुले बताए । उनका अनुसार दिक्तेलमा दैनिक करिब पाँच करोडको हाराहारीमा रेमिट्यान्स कारोबार हुन्थ्यो ।


दिक्तेल बजारको व्यापार व्यवसाय बढाउनका लागि हलेसी आउने तीर्थालु दिक्तेल ल्याउने योजना बनाइए पनि खासै प्रभावकारी नभएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले बताए । पर्यटकका लागि आवश्यक होटल तथा पूर्वाधार नभएकाले पर्यटक दिक्तेल आए पनि नबसेको उनले जनाए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटकीय क्षेत्र मझुवागढी, भुलभुले, रूपाकोट लगायतका धार्मिक पर्यटकीय स्थललाई व्यवस्थित गर्दै तीर्थालुलाई दिक्तेलमा ल्याउने रणनीति अपनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।


यसैबीच, दिक्तेलका नगर प्रमुख दीपनारायण रिजालले बजार व्यवस्थित गर्न ठूलो बजेट आवश्यक भएकाले डीपीआर बनाएर सहरी विकास मन्त्रालयमा पठाइसकेको बताए । ‘विकास चुट्कीका भरमा हुँदैन । क्रमैसँग भइरहेको छ,’ उनले भने, ‘बजार क्षेत्रको डीपीआर बनाएर बजेट माग गरेका छौं ।’

प्रकाशित : मंसिर २१, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?