कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

न्याय चाहिए ‘मम्झिहडाम’

विराटनगर — मोरङको जहदा गाउँपालिका २ का ३५ वर्षिय रामजी हस्दा छोटकी बैरियाका ‘मम्झिहडाम’ हुन् । मन्जिहडाम रहेका आफ्ना पिता बितेपछि उनले २० वर्षकै उमेरमा यो पद पाएका हुन् । छोटकी बैरियामा लगभग ४० घर सन्थालको बसोबास छ । ती सबैको अगुवा ‘मम्झिहडाम’ उनै हुन् ।

८ कक्षा पास गरेका उनी गाउँमा आइपरेका समस्या, आपसी असमझदारी, झैंझगडा आफैंले मिलाउने गरेको बताउँछन् । ‘बुबा बितेकाले अहिले यहाँको मम्झिहडाम मै हुँ । मैले भनेको गाउँका सबैले मान्छन्,’ उनले भने, ‘हामी मेलमिलापमा बढी विश्वास गर्छौं । दण्ड जरिवाना गर्ने हाम्रो चलन छैन । त्यसैले हाम्रो समुदायमा मेलमिलाप धेरै छ ।’ जस्तोसुकै विवाद, समस्या या झगडा भए पनि मन्झिहडामले फैसला गर्ने गरेको उनले बताए । फैसला सधैं मेलमिलाप नै हुने गरेको उनी बताउँछन् ।


निर्वाचनपश्चात् बनेको नयाँ संरचनाअनुसार प्रत्येक स्थानीय तहमा निर्माण गरिएको न्यायिक समितिलाई स्थानीयस्तरमा हुने विवादहरू खासगरी देवानी प्रकृतिका मुद्दाहरू अंशबन्डा, घरेलु हिंसा, बहुविवाह, सम्बन्ध विच्छेद, घरझगडा, सिमाना र बाटोको समस्याहरू घरेलु झैं–झगडा निरूपण गर्ने संवैधानिक व्यवस्था छ । तर सन्थाल जातिहरू न त आफ्ना समस्या लिएर न्यायिक समिति जान्छन् न त प्रहरी या प्रशासनमै पुग्छन् ।


सन्थाल समुदायमा न्याय निरुपरण गर्ने आफ्नै न्याय(प्रणाली छ । कानुन बनाउने र कार्यान्वयन तथा व्याख्या गर्ने काम समाजमार्फत मझीहडामहरूले गर्छन् । समाजलाई निर्देशन दिने, नेतृत्व गर्ने लगायत हरेक काम मन्झी प्रणलीबाटै गरिन्छ । प्रदेश एक त्यसमा पनि झापा, मोरङ र सुनसरीमा मात्रै रहेका सन्थाल समुदायमा अझै पनि विवाद समाधान गर्ने र झगडा मिलाउने जिम्मेवारी गाउँका मूली मानिने मन्झिहडामले नै गर्ने परम्परागत चलन छ । अन्य जाति समुदायजस्तो छरिएर नबस्ने सन्थालहरू झुन्डमा बस्न रुचाउँछन् । प्रत्येक झुन्डमा एकजना मन्झिहडाम हुन्छन् ।


मन्झिहडामको पद पुस्ता–पुस्तामा हस्तान्तरण हुँदै आउँछ । गाउँका मन्झिहडामको मृत्युपछि उनका जेठा छोरा उक्त झुन्डको मन्झिहडाम चुनिन्छन् । तर छोरा छैनन् भने समुदायले अर्को व्यक्तिलाई मन्झिहडामलाई चुन्ने परम्परा छ । गाउँका समस्या, झै–झगडा कुनै पनि विषय उनीहरू गाउँभन्दा बाहिर लैजानु हुँदैन भन्ने कुरामा विश्वास गर्छन् । त्यसैले अझै पनि उनीहरू सबैखालका विवाद गाउँमै टुंगो लगाउँछन् ।


पुस्तौंदेखि चलिआएको आफूहरूको यो परम्परामै बढी विश्वास लाग्ने र गाउँको कुरा बाहिर लानु हुँदैन भन्ने विश्वासका कारण आफूहरू प्रहरी र न्यायिक समितिमा भन्दा मन्झिहडामसँग न्याय माग्न जाने गरेको जहदा गाउँपालिका २ का मुन्सी टुडुले बताए । ४५ वर्ष पुगेका उनी अहिलेसम्म कुनै पनि विषय लिएर प्रहरी या अन्य कुनै निकायमा नगएको बताउँछन् । ‘हामी गाउँलाई घर परिवार मान्छौं,’ उनले भने, ‘परिवारभित्रको कुनै पनि विषय बाहिर लैजान हामीलाई मन्जुर छैन ।’ विवादको समाधान गर्दा मन्झीथान वा सबैलाई पायक पर्ने वाटो नजिक तथा सार्वजनिक स्थानमा गरिने गरिन्छ । यो प्रणलीमा विषेश गरी मंझीबाबा, मंझीगग, पराणीकबाबा गग र गुडतको विशेष महत्त्व रहेको हुन्छ । समाजमा झै–झगडा, विवाद भएमा पीडितले मन्झीहडामलाई सोझै मौखिक दर्खास्त दिने गरिन्छ, वा गुडितले मंझीहडामलाई उक्त विषयमा सूचना दिने गर्छ । यसरी सूचना प्राप्त गरेपछि वा दरखास्त परेपछि मन्झीहडामले गुणितमार्फत दुवै पक्षलाई झिकाउने र समाजलाई सूचना गर्ने गरिन्छ । गुणितले दुवै पक्षलाई तीनपटक सम्म बोलाउँछ र वोलाउँदा नआउने पक्षलाई पक्राउ गरी ल्याउने गरीन्छ । त्यसैले समाजमा गुणितलाई गाउँ प्रहरी भन्ने गरिन्छ ।


दुवै पक्ष र समाज भेला भएपछि आतु (आफ्नो) बैसी (सभा) मा दुवै पक्षलाई आ–आफ्नो कुरा राख्न लगाइन्छ र समाजले समेत आ–आफ्नो भनाइ राखेपछि अन्तमा मंझीहडामले निर्णय सुनाउने गरिन्छ । सो निर्णय उपर चित्त बुझेनबुझेको सहमत भऐ नभएको कुरा दुवै पक्षलाई सोधिन्छ चित्त बुझे फैसला कार्यान्वयन गरिन्छ चित्त नबुझे वा निर्णय सुनाउन नसके, पुनः छिमेक टोलका मंझीहरू समेत भएको सभाबाट पुन विवादको छिनोफानो गरिन्छ । जसलाई मोडे मंझी बैसी तथा कुलही मुचोत बैसी भनिन्छ । यसमा छिनोफानो हुन नसके डिगौर तथा परगाणा बैसीमा लगीन्छ । तोकिएको ठाउँमा तोकिएको मितिमा सभा बसी मंझीहडामहरूले संयुक्त निर्णय सुनाउने गर्दछ । यो सभाले समेत निर्णय सुनाउन नसके वा चित्त नबुझाएमा लविर गर्ने गरिन्छ । लविर भनेको सन्थालहरूको फैसला गर्ने सर्वोच्च निकाय हो । यो सभामा भएभरका मंझीहडाम, तथा समाजका मानिसहरू रहने गर्दछ । निणर्य गर्न बसेको यो सबै सभा कुनै न कुनै निर्णयमा नपुगी नउठ्ने मन्झिहडाम रामजी हस्दा बताउँछन् । यो प्रणलीमा महिलाको पुरुष सरह समान भूमिका रहने भएतापनि निणर्य सुनाउने र वादविवाद मिलाउने सभाहरूमा भने महिलाको उपस्थिति र भूमिका रहदैन । निणर्य गर्ने तथा निणर्य सुनाउने अन्तिम प्रक्रियामा पक्ष विपक्ष समाजले कुरा राख्नेदेखी आवेश र आक्रोस पोख्ने, गालीगलौज गर्ने हुँदा महिलाहरूको उपस्थिति बर्जित गरिएको रामजी

हस्दा बताउँछन् ।


जहदा २ छोटकी बैरियाकी ६० वर्षीया चानमुनी मिस्त्री अहिलेसम्म आँफु कुनैपनि गुनासो लिएर प्रहरी या प्रशासन नगएको बताउँछिन् । ‘गाउँको राजा नै मन्झिहडाम हो,’ उनी भन्छीन्, ‘अहिलेसम्म न्याय माग्न कतै जानु परेको छैन् । मन्झिहडामबाट अन्याय भएको जस्तोपनि लागेको छैन् ।’


७ वटा वडामा ४१ हजार ८ सय १५ कुल जनसंख्या रहेको जहदा गाउँपालिकामा सन्थालहरूको संख्या भने ६ हजार २ सय २४ छ । गाउँपालिकामा यतिका संख्यामा सन्थाल समुदायको बसोबास भएपनि हालसम्म कुनैपनि प्रकार गुनासो या समस्या लिएर उनीहरू गाउँपालिकामा नआएको जहदा गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सालो साहले बताइन् । न्यायिक समिति गठनपछि हालसम्मको अवधिमा करिब ८० वटा मुद्दाहरू छिनोफानो गरेको बताउँदै उनले सन्थालहरूको कुनैपनि गुनासो नआएको बताइन् । ३९ हजार ७ सय ७५ कुल जनसंख्या रहेको मोरङको कटहरी गाउँपालिकामा समेत सन्थालहरूको संख्या ७ सय २६ जना छ । २ सय भन्दाबढी उजुरीहरू परेको कटहरी गाउँपालिको न्यायिक समितिमा पनि हालसम्म सन्थाल समुदायबाट कोहिपनि गुनासो या उजुरी लिएर नआएको उपध्यक्ष मन्जीताकुमारी सरदार बताउँछिन् ।

प्रकाशित : मंसिर २०, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?