ओलाङचुङगोला, एउटा छुट्टै संसार

स्थानीयले तीन करोड जुटाएर गाउँलाई चिनियाँ नाका जोड्न बाटो बनाएका छन् । यता सदरमुकाम वा मुलुककै अन्य जिल्लाबाट यहाँसम्म पुग्न बाटो बनेकै छैन । 
आनन्द गौतम

(ओलाङचुङगोला, ताप्लेजुङ) — कात्तिक अन्तिम साता । पछाडिपट्टि भिर्ने झोला बोकेका दोर्जे भोटे दाहिने हातले पर्यटकले टेक्ने लौरो टेक्दै ओलाङचुङगोलाको बस्तीबाट अगाडि बढ्दै थिए । होचो कदका उनले पाइन्टको पेटिघरमा सानो क्यासेट झुन्ड्याएका थिए । त्यो क्यासेटमा नेपाली भाकाको गीत घन्किरहेको थियो ।

ओलाङचुङगोला, एउटा छुट्टै संसार

बस्तीबीच एकजना महिला घाम तापेर बसेकी थिइन् । दोर्जेले उनलाई सलाम गरे, हात मिलाए र आफ्नै भाषामा कुरा गर्दै अघि बढे । केही पर पुग्दा युवाहरूको अर्को समूह थियो । त्यहाँ पनि सबैसित हात मिलाए, एकैछिन भलाकुसारी गरे र फेरि अघि बढे । करिब ११ बजेतिर बस्तीको छेउमा ठूलै जमात घाम तापेर बसेको थियो । त्यहाँ पनि दोर्जेले सबैलाई एकमुष्ट सलाम गरे ।


सबै जना गलल हाँसे र उनीसित कुराकानी गर्न थाले । त्यसपछि दोर्जे आफैंले घन्काएको क्यासेटको गीतको भाकामा करिब तीन मिनेट नाचे । बररर ताली पाएका उनी त्यसपछि भने सबैसित बिदाइको हात हल्लाउँदै मुस्कानसहित आफ्नो गन्तव्यतर्फ लागे ।


दोर्जे तिनै हुन्, जसले संघीय संरचनाअघि यहाँको निर्वाचित वडाध्यक्ष भएर जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेका छन् । अहिले भने कहिले ओलाङचुङगोला, कहिले मौवाटार त कहिले टिप्ताला भन्ज्याङमा चौंरीसँगै गोठमा समय बिताउँछन् । त्यो दिन पनि उनी झन्डै एक दिनको पैदलमा रहेको मौवाटारको गोठमा हिँडेका थिए । घर आएका दोर्जे गाउँलेहरूसँग बिदा हुँदै आफ्ना चौंरी, याक स्याहार्न फर्कंदै थिए ।


ताप्लेजुङको उत्तरी दिशामा रहेको ओलाङचुङगोला आफ्नै विशेषतामा रमेको बस्ती हो । सदरमुकाम फुङलिङबाट गाडी र पैदल गरेर पूरै दुई दिनको यात्रामा पुगिने यो बस्तीमा हिउँदमा सबै बासिन्दालाई देख्न बिहान १० देखि १२ बजेको समयमा मात्रै सम्भव हुन्छ । किनभने त्यसबेला घाम ताप्न घर बाहिर निस्कन्छन् । ३२ सय मिटर उचाइको चिसो बस्तीमा हिउँदको घाम सबैलाई प्यारो हुने नै भयो ।


अरूबेला पुरुषहरू चौंरीगोठ र घाँसदाउरामा लाग्छन् भने महिला घरधन्दा गर्दै गलैंचा बुन्छन् । खेतीपाती नभएको यहाँको मुख्य आम्दानीको स्रोत पनि यही नै हो । चौंरीको दूधबाट छुर्पी बन्छ भने यसको चम्मर पनि बिक्छ । यसलाई भारी बोकाएर पनि आम्दानी लिइन्छ । बुढो हुँदै गएपछि बिक्री हुने एउटा चौंरीको बजार मूल्य अहिले ८० हजारदेखि एक लाख रुपैयाँसम्म छ । यो चीनको तिब्बतमा बिक्री हुन्छ । गोठबाट बिक्री केन्द्रसम्म हिँडाएरै लैजानुपर्छ ।


ओलाङचुङगोलामा बुनिने गलैंचा पनि चीनमै बिक्री हुन्छ । प्रतिगोटा १६ हजारसम्ममा बिक्री हुने गलैंचाका लागि बजारको कुनै समस्या छैन । यिनैको आम्दानीबाट यहाँका बासिन्दाले खाद्यान्नलगायतका वस्तु खरिद गरेर दैनिकी चलाउँछन् । चीन नजिकमा भएकाले खाद्यान्नलगायतका धेरै वस्तु उतैबाट ल्याइन्छ । यो बस्ती ताप्लेजुङ सदरमुकामबाट २८ कोसको दूरीमा पर्छ । भोटे, शेर्पा र वालुङ जातिको मात्रै ६६ घरमा ५६ परिवार बसोबास छ । यो सीमावर्ती नेपाली बस्ती हो । नेपाली बजार टाढा भएकाले कारोबार पारि नै बढी हुने वडाध्यक्ष छेतेन शेर्पा भोटे बताउँछन् । जनगणना २०६८ अनुसार यहाँको जनसंख्या २ सय ७६ हो । पुरुषको तुलनामा महिला चार जना बढी थिए गणनाताका । १ सय ४० महिला र १ सय ३६ पुरुष रहेको तथ्यांक छ ।


संघीय संरचनाअनुसार फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने यहाँ दुइटा मात्रै बस्ती छन् । दिकिछ्योलिङ गुम्बासँगै रहेको ओलाङचुङगोला र यहाँबाट एक दिनको पैदलमा रहेको याङमा अर्को बस्ती हो । याङमामा १७ घर छन्, ११ परिवारको बसोबास छ । याङमा गोलाभन्दा एक हजार मिटर बढी अर्थात ४२ सय मिटर उचाइमा छ । यसअघि जोङिगनमा पनि तीन परिवारको बसोबास थियो । यो गोलाभन्दा तलको बस्ती हो । तर पटक–पटकको चोरीपछि त्यहाँका सबै परिवार ओलाङचुङगोलामा बसाइँ सरेको स्थानीय बताउँछन् ।


आफ्नै विशेषताको यो बस्तीमा झगडा भएको निवेदन अहिलेसम्म प्रहरीकहाँ परेको छैन । जात्रा, पर्वमा पनि शान्तिसुरक्षा खलबलिएला भनेर प्रहरीले चिन्ता गर्नुपर्दैन । त्यसैले २५ जनाको दरबन्दी रहेको प्रहरी चौकीमा हमेसा पाँच/सात जना भन्दा बढी हुँदैनन् । हरेक परिवार घरको दोस्रो तलामा बस्छन् । पहिलो तलामा घाँस, दाउरा राख्ने, पशुचौपाया बाँध्ने गरिन्छ । व्यापारीहरूले पहिलो तलामा बेचबिखनका सामान पनि राखेका छन् । पाहुनालाई पनि दोस्रो तलामै सुताइन्छ । यहाँका कुनै पनि घरमा तेस्रो तला छैन । अहिले दुइटा छुट्टै पाहुनाघर पनि बनाइएको छ । पकाउने, खाने, सुत्ने दोस्रो तलामा हुन्छ ।


यहाँका ९५ प्रतिशत घर काठका छन् । सबै जना आआफ्नै काममा व्यस्त हुने र विवाद गर्नुपर्ने विषय नभएकाले पनि झगडा नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्तासमेत रहेका गोलावासी छेतेन वालुङ बताउँछन् । ओलाङचुङगोलामा बस्ती कहिलेदेखि सुरु भयो भन्ने स्थानीय बताउन सक्तैनन् । इतिहासका खोजकर्ता ग्युर्मे नुर्बो (बिचारी) का अप्रकाशित टिपनका अनुसार ओलाङचुङगोलाको प्राचीन इतिहास ईसाको आठौं शताब्दीको मध्यबाट सुरु हुन्छ । ईसाको नवौं शताब्दीको मध्यमा यो ठाउँमा प्राचीन किराँतीहरूको बसोबास थियो ।


पछि उत्तर भोटबाट तिब्बती मूलका भोटे जातिका मानिस आई बसोबास गर्न थालेपछि किराँती देश नेपाल र तिब्बतबीच व्यापारिक कारोबार सुरु भएको इतिहासको खोज गर्ने गोपीकृष्ण अधिकारीको लेखमा उल्लेख छ । तिब्बती मूलका मानिसहरू यहाँ आएर बस्न थालेपछि नेपाल र तिब्बतबीच व्यापारिक कारोबार सुरु भएको पाइन्छ । ग्युर्मेका अनुसार भोटबाट ओलाङचुङगोला आएका भोटेहरूले नेपालबाट चामल, मकै र कोदोलगायत अन्न लैजान्थे । गलैंचाका रङ बनाउने खयर, मजिठो र रूखका बोक्रा पनि भोट लैजान्थे ।


भोटबाट गलैंचा, पाखी, चुटुक, कपडाको कम्बल, घोडा र च्याङग्रा जस्ता वस्तु ल्याउँथे । भोटको घोडा भारतका विभिन्न सहरमा लगेर गोलाकै व्यापारीले बिक्री पनि गर्ने गरेको उल्लेख छ । पुरातन कालमा गोला नेपाल र भोटबीच व्यापार गर्ने ठूलै व्यापारिक केन्द्र थियो ।


ओलाङचुङगोलाको नाम ओलुङ भन्ने शब्दबाट अपभ्रंश भएको इतिहाससम्बन्धी लेख पाइन्छ । तिब्बतबाट तीर्थयात्रीहरू नेपाल आउने क्रममा बाटो भुलेर अलपत्र परे । त्यहीबेला न्याउरी मुसा जस्तो जनावरले अघि अघि हिँडेर बाटो देखाएकाले यसको नाम ओलुङ राखिएको ग्युर्मेको टिपोटमा उल्लेख भएको अधिकारीले आफ्नो लेखमा उल्लेख गरेका छन् । यही अपभ्रंश भएर ओलाङचुङगोला भएको हो ।


पहिला यहाँ मगर थरका राजाले पनि राज्य गरेको भन्ने पनि कतिपय पुस्तकमा उल्लेख छ । नेपाल सरकारले भने नेपाल एकीकरणपश्चातमात्रै वालुङको अस्तित्वबारे थाहा पाएको हो । वि.सं. १८९८ मा तत्कालीन राजा राजेन्द्रविक्रम शाहले सोनाम भोटियालाई गाउँको मुख्य मानिसको जिम्मेवारी दिएका थिए । उनलाई ‘गोवा’ को उपाधि दिइएको सन् १८४८ मा गोला पुगेका बेलायती वनस्पतिविद् डा. हुकरले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।


हुकरले लामो समयसम्म यहाँ बसेर अध्ययन गरेका थिए । गोबांगी प्रथा यो क्षेत्रका पाँच गाउँमा सञ्चालन भएको चीनका लागि नेपालको पूर्ववाणिज्यदूत ताम्ला उक्याव बताउँछन् । उनका अनुसार वलाङचुङ, याङमा, ग्याब्ला, घुन्सा र लेलेपमा गोबांगी प्रथा थियो । आफ्नो क्षेत्रका जनताका लागि दण्डकुण्ड, सजाय, मुद्दामामिला मिलाउने जिम्मेवारी गोवालाई थियो । परेका बेला सरकारलाई सहयोग गर्नुपर्ने, तिरो उठाई सरकारलाई बुझाउनुपर्ने, सरकारको प्रतिनिधि भई काम गर्नुपर्ने जस्ता जिम्मेवारी गोवालाई थियो । गोवाले काजी, बिचारी, कारबारी, नाइके र मझियामार्फत शासन गरेका थिए ।


मुख्य नाका टिप्ताला भन्ज्याङ

टिप्ताला भन्ज्याङ नेपाल र चीनको तिब्बत जोड्ने मुख्य नाका हो । थिपथलाबाट अपभ्रंश भई टिप्ताला भएको हो । स्थानीय भाषामा थिप भनेको ओझेल र थला भनेको ठाउँ हो । घामको ओझेलमा पर्ने भएकाले स्थानीयले थिपथला नाम राखेको पाइन्छ ।


५३ सय मिटर उचाइमा रहेको यो भन्ज्याङले नेपाल र चीनलाई जोडेको छ । यहाँबाट सुरु भएर ओलाङचुङगोलाको बस्ती हुँदै बहने तमोर नदी सप्तकोसीमा मिसिन्छ । तमोर नदीको पूर्वपट्टि रहेको बस्ती ओलाङचुङगोला हो भने यसको मुख्य नाका टिप्ताला भन्ज्याङ । यहाँ पैदल हिँडेर एक दिनमा नाका पुगिन्छ । अहिले भने नाकादेखि बस्तीसम्म मोटरबाटो पुगेको छ । यसको दूरी २४ किलोमिटर छ ।


चिनियाँ अपरेटर स्वोलुङ र स्वफेले चलाएको एक्स्काभेटरले ट्र्याक खोलेर बस्तीसम्म सडक पुर्‍याइएको हो । उनीहरूले तीन महिनाको प्रयासमा यो सडक खोलेका थिए । चीनको राजधानी बेइजिङ नजिकको सान्दाङ नजिकबाट ल्हासा, डिङजे र रिउ हुँदै आएका उनीहरूले २ सय ४० सीसी क्षमताको मेसिन चलाएर सडक खोलेका हुन् । तीनवटा मेसिन लगाएर खोलेको सडकको डोजर भने तिब्बतका चोन्दे भोटेले चलाएका थिए । उनीहरूलाई काम लगाउने, निगरानी गर्ने काम चिनियाँ ठेकेदार कम्पनीका नेनेले गरेका हुन् ।


चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न र ओलाङचुङगोला नाकालाई सडक सञ्जालले जोड्न यहाँका बासिन्दा स्वयंले सडकमा लगानी जुटाएका हुन् । ओलाङचुङगोलामा जन्मेर अमेरिका, बेलायत, काठमाडौंलगायत स्थानमा गएर बसेकाहरूको संस्था वालुङ समाजले संकलन गरेको करिब तीन करोड रुपैयाँ सडक निर्माणमा खर्च गरिएको हो । तत्कालीन ओलाङचुङगोला गाविसले ४२ लाख र सांसद विकास कोषको १० लाख पनि सडक निर्माणमा लगाएको थियो । फक्ताङलुङ गाउँपालिकाले पनि स्तरोन्नतिमा लगानी गर्‍यो ।


सडक निर्माणका लागि नेपाल सरकारले चीनसँग मेसिन भाडामा मागिदिएको थियो । भौतिक योजना तथा निर्माण मन्त्रालयले परराष्ट्र, परराष्ट्रले चिनियाँ दूतावासलाई मेसिनका लागि अनुरोध गरेको थियो । त्यही अनुरोधपछि चीनले भाडामा मेसिन र जनशक्ति दिएको हो । सडक निर्माणपछि चीनको गाडी भने गोलाको बस्तीसम्म आएर फर्कने गरेको छ । तर गोलाका बासिन्दाले भने आफ्नो गाडी नकिनेका कारण नेपाली यातायात छैन ।

सदरमुकाम फुङलिङबाट विस्तार भएको सडक लेलेपको लुङथुङमा पुगेको छ । गोलाबाट पनि जोगिनतर्फ विस्तार भइरहेको छ । उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुख राम गुरुङका अनुसार अब १४ किमि ट्र्याक खुल्न बाँकी छ । सडक निर्माण सुरु भएको आठ वर्ष भएको छ ।


काठमाडौंको एलाइट निर्माण कम्पनीले सडक विस्तारको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई यो सरकारको प्राथमिकताको सडक भएको बताउँछन् । यसका लागि बजेटको समस्या नहुने उनको दाबी छ ।


यो सडक निर्माण सम्पन्न हुँदा तमोर करिडोरको पनि ट्र्याक खोल्ने काम सकिनेछ । तमोर करिडोर निर्माण पूरा हुँदा टिप्ताला भन्ज्याङदेखि विराटनगरको रानी भन्सारसम्मको दूरी २ सय ७० किमिमात्रै हुने उत्तर–दक्षिण लोकमार्ग आयोजनाका पूर्वप्रमुख कुबेर नेपाली बताउँछन् । दुई वर्षसम्म ताप्लेजुङमा बसेर काम गरेका उनले तमोर करिडोर र लोकमार्ग दुवैको योजना बनाएका थिए ।


नेपालीका अनुसार यो सडक निर्माण भएर सञ्चालनमा आएपछि नेपाल–भारत र चीनको त्रिदेशीय नाका जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हुनेछ । विराटनगरदेखि जोगबनीको दूरी लामो नभएकाले त्रिदेशीय छोटो बाटो हुने उनको बुझाइ छ । हाल निर्माणाधीन सुकेटार–काँकडभिट्टा सडकको दूरी पनि २ सय ४० किलोमिटर मात्रै छ । अझ आगामी आर्थिक वर्षका लागि मेची राजमार्गको यो सडक व्यवस्थित गराउन सरकारले ९२ करोड बजेट छुट्ट्याएको छ । सडक सञ्चालनमा आएपछि नुनदेखि सुनसम्म तिब्बतबाट ल्याउन सकिने र नेपालका जडीबुटीदेखि तरकारीलगायतका वस्तु निर्यात गर्न सकिने उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे बताउँछन् ।


काँकडभिट्टाबाट फूलबारी बन्दरगाहको बाटो भएर जोडिने भएकाले बंगलादेशसँगको कारोबार पनि नजिकैबाट हुनेछ । अझ भारतको सिक्किम जोडिन लागेको मध्यपहाडी लोकमार्गको चिवाभन्ज्याङ खण्ड नजिकबाट जोडिन्छ ।


गैससले बढाए गतिविधि

आगन्तुकको खासै आउजाउ नहुने यहाँ नेदरल्यान्ड विकास नियोग (एसएनभी) र कञ्चनजंघा संरक्षण क्षेत्र (केक्याप) को कार्यक्रम सुरु भएपछि बाहिरबाट पुग्ने बढ्न थालेको स्थानीय बताउँछन् । डोङगा शेर्पाका अनुसार एसएनभीले विद्यालय भवन, पुल र बाटो बनाउने काममा सघायो । केक्यापले संरक्षणसम्बन्धी तालिम र गोष्ठी गर्‍यो ।


संरक्षण क्षेत्रले यहाँका बासिन्दालाई बाहिर घुम्न लैजाने, बाहिरबाट यहाँ घुम्न ल्याउनेजस्ता गतिविधि गरेपछि गोलाका बासिन्दालाई हामी पनि नेपाली हौं भन्ने आभास भएको डोङगा बताउँछिन् । प्रजातन्त्र प्राप्तिपछि किपा शेर्पाले गाविस अध्यक्ष जितेर महिलाले नेतृत्व गर्नसक्ने पुष्टि गरेकी थिइन । अहिले भने उनी काठमाडौं बस्छिन् । यहाँको पीडा भनेको एउटाबाट अर्को बस्तीमा पुग्न पूरै एक दिन लाग्छ । नजिकको बस्ती भेट्न याङमा, लेलेपको इलाडाँडा या चीनको रिउ पुग्नुपर्छ ।


प्रकाशित : मंसिर १८, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?