२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अव्यवस्थित भागुडुब्बा बजार

अर्जुन राजवंशी

(बिर्तामोड) — सानो क्षेत्रफल । दशकौं पुराना रूखहरू । झुरुप्प टहरा । आफूखुसी टहरा निर्माण । जसको जति शक्ति उसको त्यति नै ठूलो टहरा । झापाको दक्षिणी ग्रामीण बजार भागुडुब्बाको चित्र हो यो ।

अव्यवस्थित भागुडुब्बा बजार

बाह्रदशी गाउँपालिका १ स्थित भागुडुब्बा बजार जिल्लाको पुरानोमध्येको एक हो । समय बिते तर, बजारको अवस्था फेरिएन । खुद्रा पसलहरू ठूला बन्न सकेका छैनन् । टहराहरू व्यवस्थित छैनन् । बढ्दो चापले बजारको क्षेत्रफल दिनप्रति दिन साँघुरिंदो छ । ढल, स्वच्छ खानेपानी र शौचालय मात्र होइन बजार प्रवेश गर्ने र निस्किने बाटोसमेत व्यवस्थित छैन । भागुडुब्बा बाह्रदशी १ नम्बर वडाको प्रमुख र एक मात्र बजार हो । वडाका करीब ५ हजार जनसंख्या उक्त बजारमा आश्रित छन् । तर, बजारको अवस्था परिवर्तन नहुँदा स्थानीय वर्षौंदेखि राजगढ, बिर्तामोडलगायतका बजार धाउन बाध्य छन् ।


बजारको आसपास ठूलो संख्यामा राजवंशी, सन्थाल, मुस्लिम समुदायको बसोबास छ ।

‘म जन्मिएदेखि हुर्किएर यो अवस्थासम्म आइपुग्दा पनि बजारको अवस्था जस्ताको त्यस्तै छ,’ बाह्रदशी १ का वडाध्यक्ष शम्भु राजवंशीले भने, ‘ बजार व्यवस्थित र स्तरोन्नति गर्न कसैले चासो देखाएनन् । अब हामी लाग्नुपर्ने भएको छ ।’ भागुडुब्बा बजारलाई व्यवस्थित र आधुनिक बनाउन पहल सुरु गरिसकेको राजवंशीले बताए । उनकाअनुसार करिब एक बिघा क्षेत्रफलमा फैलिएको बजारलाई व्यवस्थित बनाउने कार्यमा इलामस्थित सहरी विकास तथा भवन कार्यालयले चासो देखाएको छ । कार्यालयले एक महिनाअघि बजारको सर्भे सम्पन्न गरेको उनले बताए ।


‘मास्टर प्लान बनाएर बजारको विकास गर्ने कार्यमा जुटेका छौं,’ वडाध्यक्ष राजवंशीले भने । व्यवस्थित हटरा निर्माण, ढल व्यवस्थापन, सार्वजनिक शौचालय, स्वच्छ खानेपानीको प्रबन्ध, खुला पार्किङ क्षेत्र, सोलार बत्ती जडान र बाटो निर्माण गर्नेगरी मास्टर प्लान बनाउने काम भइरहेको उनले बताए । ‘म ०२९ देखि यो ठाउँमा छु । यो बजारको अवस्था त्यतिबेला र अहिलेमा कुनै परिवर्तन छैन,’ सोभितमान तामाङले भने, ‘जथाभावी बढ्दै गएका पसल टहराले बजार साँघुरो भएको छ । चाडो व्यवस्थित गर्नुको विकल्प छैन ।’ ग्रामीण क्षेत्रको बजार भएकाले स्तरोन्नतिमा सरकारी पक्षले ध्यान नदिएको उनको आरोप छ ।


उक्त बजारको विकल्पमा ५ किलोमिटर टाढा राजगढ बजार छ । ‘यो बजारले हामीलाई धेरै सहज भएको छ । होइन भने सामान्य सामान किनबेच गर्न पनि ५ किलोमिटर टाढाको राजगढ जानुको विकल्प हुँदैन,’ उनले भने । भागुडुब्बामा हप्ताको तीन दिन बजार लाग्छ । ‘पहिला हप्तामा दुई दिन शुक्रबार र मंगलबार मात्र बजार लाग्थ्यो । अहिले स्थानीयको मागअनुसार आइतबारसमेत गरी सातामा तीन दिन बजार लाग्न थालेको छ,’ प्रवीण राजवंशीले भने, ‘अब जनप्रतिनिधि र सरकारी संयन्त्र लागेर बजारको विकास गर्नुको विकल्प छैन ।’


बजारमा किराना, चिया नास्ता, कपडा, मिठाई, माछा मासु, सागसब्जी, साइकल ग्यारेजसहित ५० बढी पसल छन् । सहरी विकास तथा भवन कार्यालयका प्रमुख सुमन मिश्रले बजारको सर्भे गरिसकेको जानकारी दिए । ‘यो बर्ष हामी बजारलाई आधुनिक र व्यवस्थित बनाउनेगरी मास्टर प्लान निर्माण गर्दैछौं’ उनले भने,‘मास्टर प्लानअनुसार अर्को बर्षदेखि बजेटको व्यवस्था गरेर निर्माण कार्य अघि बढाउनेछौं ।’

प्रकाशित : मंसिर १८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?