२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अपांगता भएकाको गला रित्तै

ताप्लेजुङ — फुङलिङ नगरपालिकाले मंगलबार २८ औं अन्तर्राष्ट्रिय अपांग भएकाको दिवस मनाउन अतिथिलाई निमन्त्रणा गर्‍यो । निमन्त्रणापत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालकुमार सेन्दाङले हस्ताक्षर गरेका थिए ।

अपांगता भएकाको गला रित्तै

त्यसमा लेखिएको थियो ‘खाना तथा नास्ताको ब्यवस्था छ’ । अपांग बाल आवासगृहमा आयोजना गरिएको कार्यक्रम पत्राचार गरिएअनुसार नै भयो । सहभागीले नास्ताको रूपमा चिया बिस्कुट र मासु–भात खाएर फर्किए । कार्यक्रममा हरेक अतिथिले गलामा सयपत्री फूलको माला लगाए । तर, जसका लागि दिवस मनाइँदै थियो उनीहरूको गला भने रित्तै भयो । अतिथिले लगाएका माला अपांगता भएकाहरूका लागि खोलिएको बाल आवासगृहमा नै तयार पारिएको थियो । आफू माला लगाएर कुर्सीमा बसेका अतिथिले अपांगता भएका बालबालिकाका लागि भने खादासम्म लगाएर सम्मान गर्ने तयारी थिएन ।


२० हजार रुपैयाँ खर्च छुट्याइएको कार्यक्रममा अपांगता भएका बालबालिकाका लागि तातो आलु र म्युजिकल चियर प्रतियोगिता राखिएको थियो । मादलको तालमा नृत्य प्रतियोगिता बालबालिका आफैंले देखाएका थिए । कार्यक्रममा सहभागी नेकपा जिल्ला कमिटी कार्यालय टिमका सदस्य सुरज ओझाले आफूहरू माला लगाएर बसिरहँदा बालबालिकाको गला रित्तो हुनु राम्रो नभएको बताए । ‘सीडीओ साबले यो मालाचाहिं बच्चाहरूलाई लगाइदिऊँ भन्नुभयो तर लगाउनेहरू हजुरहरूका लागि बनाएको भन्दै लिएर आए,’ ओझाले थपे, ‘वास्तवमा उनीहरूको मनोबल बढाउन बालबालिकालाई लगाइदिएर उनीहरूको दिवस भन्ने सन्देशचाहिँ दिनुपर्थ्यो ।’ यो कमजोरी आयोजकको भएको ओझा बताउँछन् ।


आयोजक नगरपालिकाका निमित्त प्रमुख सेन्दाङ ठूला अपांगता भएकाहरूलाइ माला लगाएरै सम्मान गरिएको बताउँछन् । ‘बाहिरवाट ७/१० जना अपांगता भएकाहरू आउनुभएको थियो,’ उनले भने, ‘सानो कार्यक्रम भएकाले बालबालिकालाई खेलकुद गरायौं ।’


प्रकाशित : मंसिर १८, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?