सूर्योदय महोत्सव : चाकाचुलीदेखि लिङ्गे पिङ

अन्तुमा आधा घण्टाको सय रूपैयाँ तिरेपछि बल्छीले माछा मार्न पाइने व्यवस्थासमेत मिलाइएको छ
विप्लव भट्टराई

(इलाम) — त्यसै पनि आन्तरिक र वाहय पर्यटकको चाप हुने सूर्योदय नगरपालिकामा यति बेला महोत्सव चलिरहेको छ । भ्रमण वर्ष सुरु हुनै लाग्दा आयोजित महोत्सलाई भिन्न वनाउदै नगरपालिकाले आगन्तुकलाई लोभ्याउन फरक कार्यक्रम प्रस्तुत गरेको छ ।

सूर्योदय महोत्सव : चाकाचुलीदेखि लिङ्गे पिङ

महँगो खर्च गरेर रमाइलोकालागि ल्याइने विद्युतीय खेलवाडको सट्टा चाकाचुली र लिङ्गे पिङजस्ता परम्परागत मनोरञ्जनका साधनमा रमाउन सकिन्छ । करफोकमा रहेको पञ्चकन्या मन्दिर परिषरमा चाकाचुली र लिङ्गे पिङको आनन्द लिन सकिन्छ । ‘मौलिकपनलाई उजागर गर्दै पर्यटनमार्फत स्थानीयलाई लाभ होस भन्ने उदेश्यले यस्ता चिचलाई प्राथमिकतामा राखेका हौं,’ आयोजक समितिका बुद्धसिंह राईले भने, ‘यस्ता वस्तुमा जिज्ञासु भएर फोटो खिच्ने र रमाउने धेरै आउने गरेका छन् ।’


त्यति मात्र हैन यहाँ यहाँ परम्परागत जीवन शैली झल्कने ढिकी जाँतोदेखि अनेकन सामग्री संकलन गरेर राखिएको छ । पछिल्लो समय मेला महोत्सवमा पर्यटन प्रवर्द्धन गर्ने नाममा विभिन्न खेल तमाशा भित्र्याएर गतिलै रकम बाहिर पठाउने परिपाटीको विकास हुँदै गएको छ । तर यहाँको महत्सवमा त्यस्ता दृष्य देख्न पाइँदैन । महोत्सवमा रैथाने संस्कृतिको संवर्द्धनमा पनि उत्तिकै महत्व दिइएको नगरपालिकाको भनाइ छ ।

हरेक साँझ कन्याममा हुने ठम्फु नाच, विभिन्न स्थानमा देखाइने लेप्चा नाचलगायत लिम्वु, नेवार, राईलगायत जातजातिका कलासंस्कृतिको प्रदर्शन रोचक देखिएको छ ।


इलाममा जन्मिएर राष्ट्रियस्तरमा ख्याती कमाएका कलाकारहरूको विभिन्न स्थानमा हुने सांस्कृतिक कार्यक्रम, साहित्यिक मन्थन पनि फरक पाटोका रूपमा लिइएको छ । कन्यामको सुन्दर घोडा प्रतियोगिता, अन्तुको वोटिङ र फिसिङ, अनि गोर्खेको रेडपाण्डा ट्रेलको आर्कषण पनि राम्रो देखिएको छ । जिल्लामा नै दोस्रो पटक अन्तुपोखरीमा फिसिङको व्यवस्था मिलाइएको हो ।


यसअघि गएको वैशाखमा भएको ढापपोखरी महोत्सवमा फिसिङ गर्ने कार्यक्रम राखिएको थियो । सञ्चालक र नगरपालिकाबीच समझदारी नहुँदा बन्द भएको अन्तुको डुङ्गा पनि महोत्सवको अवसर पारेर खुलाइएको छ । जसका कारण ठूलो संख्यामा सूर्योदय हेर्न अन्तु पुग्ने पर्यटक फिसिङ र बोटिङमा रमाएका छन् । आधा घण्टाको सय रुपैयाँ तिरपछि बल्छीले माछा मार्न पाइने व्यवस्था मिलाइएको छ । यो समयमा मारेको माछा आफै लान पाइने व्यवस्था छ । त्यहाँ रहेका ४ वटा डुङ्मा ५० रुपैयाँ टिकट काटेर घुम्न लामो पालो कुर्नु पर्ने अवस्था छ । शनिबार सुरु भएको महोत्सव बुधबार सकिँदै छ ।


चिया स्टलदेखि स्थानीय कृषि उपजले पनि उत्तिकै महत्व पाएको छ । ‘आगन्तुकलाई जतिसक्दो धेरै मनोरञ्जन दिँदै पर्यटन मैत्री नगर निर्माणका लागि फरक कार्यक्रम राखेका हौं,’ महोत्सव आयोजक समितिकी संयोजक उपमेयर दुर्गादेवी भट्टराईले भनिन् ।

प्रकाशित : मंसिर १७, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?