२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

केन्द्र बनेपछि फेरियो रावाबेंसी

डम्बरसिं राई

(हरमटार, खोटाङ) — पहिले कुनै सुविधा नभएर बिजोग भएको यो गाउँ अचेल फेरिएको छ । गाउँपालिकाको केन्द्र बनेपछि यो स्थानको परिवर्तन भएको हो ।

केन्द्र बनेपछि फेरियो रावाबेंसी

‘न मैले सोचेको थिएँ, न कसैले सोचेको थियो’ रावाबेसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले भने ‘परिस्थितिले यो ठाउँलाई सुन्दर बनाई दियो ।’ लामो समयसम्मको केन्द्र विवादपछि रावाबेंसी गाउँपालिकाले आफ्नो केन्द्र हरमटार बनाएपछि खैरते पाखो गुल्जार भएको हो । स्थानीय १० जनाले साढे १४ रोपनी जग्गा निःशुल्क रूपमा उपलब्ध गराएपछि त्यस ठाउँमा केन्द्र स्थापना गरिएको हो ।


उक्त ठाउँ रावाबेंसी गाउँपालिकाको वडा–१ कुभिण्डेको हरमटारमा पर्छ । उक्त ठाउँमा १४ कोठे कार्यालय भवन निर्माण गरी कामकाज समेत सुरु गरिसकेको गाउँपालिका अध्यक्ष निरौलाले सुनाए । उनका अनुसार उक्त भवन निर्माणका लागि ५६ लाख रुपैयाँ खर्च गरिएको हो ।


यसका साथै प्रहरी चौकी, कृषि, पशु, स्वास्थ्यलगायत विषयगत कार्यसम्पादनका लागि समेत उक्त भवनबाटै काम भइरहेको अध्यक्ष निरौलाले सुनाए । १५ शैयाको अस्पतालका लागि पनि निःशुल्क रूपमा जग्गा उपब्ध भइसकेको छ र चालु आर्थिक वर्षै डिपिआर गरेर त्यसअनुसारको अस्पताल बनाउँने योजना रहेको निरौलाले जनाए ।


उक्त अस्पतालका लागि स्थानीय पाँच जनाले नौ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका हुन् । उक्त जग्गा गाउँपालिकाको केन्द्र नजिकै छ । यो ठाउँमा केन्द्र स्थापना भएपछि होटलहरू समेत खुल्न थालेका छन् । गाउँगाउँबाट कामका लागि आउने सर्वसाधारणको सेवा सुविधाका लागि गाउँपालिका आफैंले होटल सञ्चालन गर्न अनुरोध समेत गर्नु परेको गाउँपालिकाले जनाएको छ । छ वटा मात्र वडा रहेको उक्त गाउँपालिकाको जनसंख्या भने करिब १३ हजार तीन सय ६९ मात्र छ ।


कर्मचारी समायोजनका कारण आवश्यकता अनुसार कर्मचारी उपलब्ध हुन नसकेकाले सेवा प्रवाहमा समस्या छ । गाउँपालिकाभरि कृषिमा चार र पशुमा दुई जना मात्र प्राविधिक छन् ।


वडा सचिवसमेत दुई जना मात्र रहेकाले काम गर्न समस्या भएको अध्यक्ष निरौलाले सुनाए । उनका अनुसार वडा नं–२ खार्पा र वडा नं ३ लामीडाडाँका लागि टंक आचार्य र वडा नं–४ डुम्रेधारापानी, वडा नं–५ दुबेकोल र वडा नं ६ हौचुरका लागि शेरबहादुर दाहाललाई खटाइएको छ । उक्त गाउँपालिकामा सात मावि, १२ आधारभूत र १६ वटा प्राथमिक तहको विद्यालय छन् ।


मुद्दाले हैरान

उक्त गाउँपालिकाको नाम र केन्द्र परिवर्तन हुनासाथ मुद्दा खेप्दै हैरान भएका छन् गाउँपालिका अध्यक्ष निरौला । आफूले चुनाव जित्नेसाथ सफथपछि गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय नै निरौलाका लागि अभिसाफ भएको हो । उनले २०७४ असार १८ गते सफत खानसाथ गाउँकार्यपालिकाको पहिलो बैठकले लामीडाँडा गाउँपालिकाको नाम परिवर्तन गरेर रावाबेसी गाउँपालिका र खार्पा केन्द्रलाई हरमटार सार्ने निर्णय गरेका थिए ।


उक्त निर्णयकै आधारमा २०७६ पुस २४ गतेको मन्त्री परिषदको निर्णय र २५ गतेको राजपत्रमा नाम र केन्द्र परिवर्तन भएको सूचना जारी हुने साथ मुद्दा दायर भएको निरौलाको भनाइ छ । त्यसपछि मुद्दा खेप्दै हैरानी ब्यहोर्नु परेको निरौलाले सुनाए । अहिले पनि उक्त मुद्दाले किनारा पाइसकेको छैन । यद्यपि हरमटारबाटै कामकाज गर्नु पर्ने अदालतको अन्तरिम आदेश भएकाले त्यसैआधारमा हरमटारबाटै काम काज भइरहेको निरौलाले सुनाए ।


बैंकले टेरेन

रावाबेंसी गाउँपालिकाको केन्द्रमा बैंक समेत नहुँदा कामकाजमा समस्या आएको छ । उक्त गाउँपालिकाको केन्द्रमा रहेने गरी सेन्चुरी कमर्सियल बैंकले कारोबार सुरु गर्ने भनिए पनि लामीडाँडामा केन्द्रित भएकाले अपायक हुँदा सेवाग्राहीलाई मार परेको अध्यक्ष निरौलाले सुनाए । बैंकका लागि पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरिएको निरौलाको भनाई छ । केन्द्रमा बैंक नभएपछि दिक्तेल धाउनु पर्ने बाध्यता छ ।



प्रकाशित : मंसिर १७, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?