१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पूर्वाञ्चलमा उपकुलपतिबिनै दीक्षान्त तयारी

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालले उपकुलपतिबिनै दीक्षान्त समारोह गर्ने तयारी गरेको छ । कामु उपकुलपतिको तीनमहिने कार्यकाल सकिएपछि मंसिर पहिलो सातादेखि विश्वविद्यालय उपकुलपतिविहीन छ । २७ गते मोरङको गोठगाउँमा नवौं दीक्षान्त समारोह हुने भनिएको छ ।

निवर्तमान उपकुलपति प्राडा घनश्याम लाल दासको कार्यकाल सकिएपछि भदौ पहिलो साता सरकारले व्यवस्थापन संकायका डिन प्राडा विजुकुमार थपलियालाई तीन महिनाका लागि कायममुकायम उपकुलपति नियुक्त गरेको थियो । दीक्षान्त समारोहमा विश्वविद्यालयका आंगिक र सम्बन्धन पाएका क्याम्पसबाट स्नातक र स्नातकोत्तर गर्ने झन्डै १० हजार विद्यार्थी दीक्षित हुने बताइएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दीक्षित हुने हरेक विद्यार्थीसँग स्नातकतर्फ ५ हजार र स्नातकोत्तरतर्फ ५ हजार ५ सय रुपैयाँ गाउनको धरौटी र प्रमाणपत्र शुल्कबापत लिन सुरु गरेको छ ।


विश्वविद्यालय स्रोतका अनुसार उपकुलपतिबिना दीक्षान्त समारोह हुनै सक्तैन । दीक्षान्त समारोहमा स्वागत मन्तव्य नै उपकुलपतिले गर्ने विश्वविद्यालयको प्रावधान छ । त्यसअघि प्राज्ञिक र कार्यकारी परिषद्को बैठकले दीक्षान्त समारोह गर्ने निर्णयलाई अनुमोदन गर्नुपर्ने र ती दुवैको अध्यक्षता उपकुलपतिले गर्नुपर्ने प्रावधान छ । कामु उपकुलपति थपलियाकै कार्यकालमा दीक्षान्त समारोह गर्ने निर्णय गरेर उपसमितिमार्फत तयारी गरेको रजिस्ट्रार प्रमिला थापाले बताइन् । ‘मंसिर २७ गतेसम्ममा नयाँ उपकुलपति आउने र नआए कसैले निमित्त पाउने विश्वासमा कार्यक्रमको तयारी गरिएको हो,’ उनले भनिन् ।

प्रकाशित : मंसिर १५, २०७६ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?