२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गाउँका किशोरीलाई फुटबल सिकाउँदै

सुम्निमा चाम्लिङ

(इटहरी) — कुनै समय टोलका अगुवा खेलाडीहरूको जर्सी लगाउँदै फुटबल खेल्न थालेकी धरानकी भगवती रानामगरको दिनचर्या फेरिएको छ । अचेल उनी सुनसरीका ग्रामीण किशोरीलाई प्रशिक्षण दिन व्यस्त छिन् । 

गाउँका किशोरीलाई फुटबल सिकाउँदै

दुई दशक लामो फुटबल अनुभव बाँड्न उनी छिमेकी उदयपुर तथा मोरङका विकट गाउँसम्म पनि पुग्छिन् । १३ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी उनी अहिले त्यही उमेरका किशोरीहरूलाई प्रशिक्षण दिन पाउँदा दंग छिन् ।


सन् २०१७ मा उनलाई अखिल नेपाल फुटबल संघले फुटबल प्रशिक्षकका रूपमा जिम्मेवारी दियो । उनले फुटबल सिकाउने काम भने ०६१ सालदेखि नै थालिसकेकी थिइन् । सन् २०१० मा एन्फाबाट प्रशिक्षकको लाइसेन्स पाएकी हुन् । उनले त्यस बेला खेल्न थालेकी थिइन् जति बेला महिला फुटबल खेलाडीको अभाव थियो । त्यही बेलै उनलाई खेलाडी उत्पादन गर्नुपर्छ भन्ने लागेको थियो ।

रानामगरले सन् २०१४ मा यू–१४ महिला राष्ट्रिय फुटबल टिमको सहप्रशिक्षक बन्ने अवसर पाइन् । त्यति बेला श्रीलंकामा भएको प्रतियोगितामा नेपाल विजेता बन्यो । सन् २०१८ मा पनि उनी नेपाली महिला राष्ट्रिय टिमको सहप्रशिक्षक थिइन् ।


कुनै समय नेपाली महिला राष्ट्रिय टिमको नेतृत्व गर्छु भन्ने आफूले नसोचेको उनी बताउँछिन् । उनी खेलाडी छँदा हरि खड्काको फ्यान थिइन् । त्यति बेला खड्का महिला राष्ट्रिय टिमका प्रशिक्षक थिए । खड्कासँग टिमको नेतृत्व गर्न पाउँदा आफुलाई निकै गर्व लागेको रानामगर बताउँछिन् । सन् २०१८ मा हिमाली जिल्ला मुगुका किशोरीहरूले युरोपको स्पेनमा डोनास्टी कप प्रतियोगितामा सहभागिता जनाएका थिए । उक्त टोलीको मुख्य प्रशिक्षक उनै थिइन् । राराका किशोरीलाई अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराउन पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छिन् ।


अढाई दशकसम्म किशोरीहरूलाई निःशुल्क प्रशिक्षण गराएकी उनले शिक्षण पेशाबाट खर्च टार्ने गरेको सुनाइन् ।


हाल उनैले तयार पारेका सुनसरीका सात खेलाडी जुनियर महिला फुटबल राष्ट्रिय टिममा परेका छन् । यो उपलब्धिप्रति उनी निकै खुसी छिन् ।


स्थानीय सरकारले महिला फुटबललाई त्यति चासो देखाएको छैन । उनी भने आफ्नो पारिश्रमिक र साथीहरूबाट सहयोग जुटाएर प्रतियोगिता नै चलाउँछिन् । ‘महिलाहरूले फुटबल खेल्न पाउनुपर्छ । त्यसैले सक्दो कोसिस गर्दै आएकी छु,’ उनले भनिन् । ग्रासवुडमा खेल्ने खेलाडीहरूसँग जुत्ता र जर्सीसमेत नहुने गरेको उनको अनुभव छ ।


‘खेलाडीहरू जब पहिलोपल्ट जुता लुगाउछन्, निकै खुशी हुन्छन् । त्यो दृश्य मलाई प्रिय लाग्छ,’ उनले भनिन् ।

महिलाहरूलाई मैदानसम्म आइपुग्न निकै कठिन हुने रानामगरको भोगाइ छ । भन्छिन्, ‘फुटबल एउटा माध्यम मात्र हो । महिलाहरू घरमा सीमित नभई आफ्नो प्रतिभा बाहिर ल्याउनुपर्छ ।’ खेलाडी छँदा उनी जिल्ला, क्षेत्र तथा राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन्थिन् । ‘त्यस बेला खेलाडीलाई गाईड गर्ने कोही हुन्थेन, अबको पुस्ताले पनि त्यस्तो अप्ठ्यारो भोग्न नपरोस्,’ उनी भन्छिन् ।

प्रकाशित : मंसिर १५, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?